
१६ जेठ, सुर्खेत । भारतबाट फर्किनेको संख्या बढिरहेको बेला कर्णाली प्रदेशमा कोरोना संक्रमण परीक्षण गर्ने किट अभाव भएको छ ।
तत्काल किट खरिद नगरे परीक्षण नै प्रभावित हुने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
अहिले सुर्खेतको प्रयोगशालामा थ्रोट स्वाबको नमूना संकलन गर्ने भाइरस ट्रान्सपोर्ट मिडियम (भीटीएम) र प्रोसेसिङ गर्ने सामग्रीकोे अभाव छ । प्रदेश सरकारले बबई नाकाबाट प्रवेश गर्ने सबैको आरडीटी विधिबाट कोरोना परीक्षण गर्ने निर्णय गरे पनि किट सकिएपछि अन्योल थपिएको छ ।
अनुमान गरेभन्दा धेरै नागरिकको परीक्षण गर्नु परेपछि किटको अभाव भएको प्रदेश स्वास्थ्य सेवा निर्देशक रीता भण्डारीले बताइन् । किटले मुश्किलले एक-दुई दिन मात्रै धान्ने उनको भनाइ छ ।
कर्णालीमा बिहीबारसम्म १२ हजार १२७ जनाको आरडीटी र ६ हजार १९२ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
यही जेठ ३ गतेयता मात्रै मुख्य नाका बबई हुँदै १८ हजार ३०४ जना कर्णालीमा भित्रिएका छन् । उनीहरु सबै भारतबाट फर्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । हालसम्म पहिचान भएका कर्णालीका सबै संक्रमित भारतबाटै आएका हुन् ।
अहिले पनि भारतबाट दैनिकजसो चार हजार भन्दा बढी संख्यामा नागरिकहरु कर्णाली प्रवेश गरिरहेका छन् । नाकाबाट प्रवेश गर्नेको संख्या बढेसँगै प्रदेश सरकारलाई व्यवस्थापन गर्न हम्मे-हम्मे परेको छ ।
व्यवस्थापनमा समस्या भएपछि शुत्रबार बसेको प्रदेश विपद व्यवस्थापन समितिको बैठकले भारतीय सीमा नाकामै परीक्षणको व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरेको छ ।
भारतबाट फर्किने नागरिकको संख्या ठूलो भएकोले मन्त्रिपरिषदको बैठकले पनि महामारी रोकथाम गर्न भन्दै नेपाली सेना परिचालनको अनुमति मागेको छ ।
स्वाब जुम्ला पठाउन थालियो
सुर्खेतमा थ्रोट स्वाबको नमूना परीक्षणको भार बढेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा थप स्वाब पठाउन थालिएको छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बिहीबार ८ सय ८० स्वाब जुम्ला पठाएको जनाएको छ ।
प्रदेश अस्पताल सुर्खेत र पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा रहेको मेसिनले दैनिक ९९ वटा स्वाब मात्रै परीक्षण गर्दै आएका छन् । तर पछिल्लो समय स्थानीय तह र जिल्लाले समेत स्वाब पठाउन थालेपछि परीक्षणका लागि जुम्ला पठाउन थालिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
जुम्ला पठाइएका स्वाब दैलेख र सुर्खेतका हुन् । कर्णाली प्रदेशमा स्वास्थ्य पूर्वाधारको हिसाबले जुम्लाको अवस्था मजबुत रहेको छ ।
प्रतिष्ठानको शिक्षण अस्पतालमा कोरोना संक्रमितको लागि १२० आइसोलेसन बेड रहेका छन् । सुर्खेतस्थित प्रदेश अस्पतालमा भने आइसोलेसन बेड संख्या ७० मात्र रहेको छ ।
प्रतिक्रिया 4