+
+

अष्ट्रेलियाबाट उद्धार गर्नुपर्ने १३ सय नेपाली, ११ जना बोकेर फर्कियो विमान

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७७ जेठ २७ गते २१:२६

२७ जेठ, काठमाडौं । सरकारको सूचीअनुसार अष्ट्रेलियाबाट तत्कालै १३ सय नेपालीलाई उद्धार गर्नुपर्ने अवस्था छ । तर मंगलबार राति १० बजे अष्ट्रेलियाको राजधानी क्यानबेराबाट ११ जनामात्रै नेपाली लिएर नेपाल एयरलाइन्स काठमाडौं ओर्लिँदैछ । विमानको २६० भन्दा बढी सिट खाली छन् ।

यसअघि नेपाल एयरलाइन्स दुई पटक अष्ट्रेलियामा पुगेर रित्तै फर्किएको थियो । यसपटक सरकारले विदेशमा अलपत्र नेपालीको उद्धार सुरु गरिसकेकाले अष्ट्रेलियाबाट एकतर्फी भाडा तिरेर नै नेपाली फर्काउने अपेक्षा गरिएको थियो । अष्ट्रेलियास्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहने र समस्यामा परेका नेपालीले हवाई भाडा तिर्नुपर्ने भन्दै सूचना निकालिसकेको थियो ।

तर, सोमबार अष्ट्रेलिया गएको विमानमा ११ जना मात्रै नेपाली फर्किन पाए । उनीहरुलाई प्राथमिकतामा राखेर उद्धार गरिएको सीसीएमसीका एक अधिकारीले बताए ।

उनकाअनुसार अष्ट्रेलियाबाट फर्किएको विमानमा अनिशा अधिकारी, जितेन्द्र बलामी, चर्चा भट्टराई, सुनिष्ठा दाहाल, उसा मरासिनी, नेत्र मरासिनी, विशाल पौडेल, जयकला राई, रमेश सिलवाल, ज्योति सिलवाल र सुनिता परियार छन् ।

उनीहरुमध्ये ५ जना दूतावासको प्राथमिकताको सूचीमा थिए । अष्ट्रेलियास्थित नेपाली दूतावासले पनि त्यहाँ रहेका नेपालीहरुलाई पहिलो फ्लाइटबाट प्राथमिकताका आधारमा २७० जनाको उद्धार गर्ने बताएको थियो । तर चार्टर्ड गरेर अष्ट्रेलिया पुगेको विमान भने रित्तै फर्किएको छ ।

क्यानबेरा नै पुगेको विमान सुटुक्क केही यात्रु मात्रै टिपेर नेपाल फर्किएपछि त्यहाँ अलपत्र अन्य नेपालीले समाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

स्रोतका अनुसार नेपाल एयरलाइन्सको विमानमा एकजना पित्तथैलीको क्यान्सरबाट पीडित नेपाली दम्पति छन् । यस्तै एकजना अष्ट्रेलियामै अलपत्र परेकी महिला पनि छिन् । दुईजना गृह मन्त्रालयका तालिमका लागि पुगेका कर्मचारी पनि छन् ।

त्यसबाहेकका अन्य भने केही नेता र सरकारको उच्च अधिकारीका आफन्त तथा चिनजानका मान्छेहरू रहेको स्रोतको भनाइ छ । ‘उच्च अधिकारीको आफन्त र चीनजानकै मान्छे भए पनि उहाँहरु बेखर्ची भएकाले ल्याइएको हो,’ स्रोतले दावी गर्दै भन्यो, ‘फेरि पनि अष्ट्रेलियामा उद्धारका लागि विमान जान्छ ।’

किन विमान खाली फर्काइयो भन्ने प्रश्नमा ती अधिकारी भन्छन्, ‘अष्ट्रेलियाभन्दा अन्य देशका नागरिकको उद्धार बढी महत्वपूर्ण छ, प्राथमिकता क्रममा नपरेका कारण अन्यलाई नल्याइएको हो ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?