
२६ कात्तिक, भक्तपुर । कला सम्पदा र संस्कृतिको धनी सहर भक्तपुर जिल्लाका चार नगरपालिकामध्ये पुरानो नगरपालिकाको हो मध्यपुरथिमि ।
यहाँ थुप्रै ऐतिहासिक सम्पदाहरू छन् । तर ती सम्पदाहरूले खासै चर्चा पाउन सकेका छैनन् । त्यतिमात्रै होइन, पूर्खाले जोडेर गएका सम्पदाको पनि अस्तित्व धरापमा थियो । पछिल्लो समय सम्पदा संरक्षणको अभियान नै चलेपछि भने मध्यपुर थिमि नगरपालिकाको स्वरूप परिवर्तन भएको छ ।
‘जीर्ण बनेका हाम्रा सम्पदाको संरक्षण र प्रवर्द्धनको लामो पर्खाइलाई जनप्रतिनिधिको आगमनपछि पूर्णता दिने प्रयास जारी छ,’ मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले भने ।
नगरपालिकाले गुरुयोजना बनाएर पाटी, सत्तल, मन्दिर, पुराना दरबार, ढुंगेधारा, पोखरी, प्रवेशद्वार सिँढी र डबली पुरानै मल्लकालीन शैलीमा पुनर्निर्माण तथा मर्मत गरेको मेयर श्रेष्ठ बताउँछन् । श्रेष्ठले भने, ‘विकास र सम्पदाको सवालमा पक्ष प्रतिपक्ष नभएर सबैको सकारात्मक भूमिकाकै कारण मध्यपुरको कला, संस्कृति र सम्पदाको विकास गर्न सकिएको छ ।’
नेपाल संवतका प्रवर्तक शंखधर शाख्वाको नामबाट राखिएको मध्यपुर थिमिको शंखधर चोक धेरैजनालाई जानकारी भएको स्थान हो । तर शालिककै पछाडि रहेको डम्पिङस्थल तर्फ भने कसैको ध्यान जान सकेको थिएन । अहिले यो भिरालो स्थानले आकर्षक पार्कको स्वरूप पाएको छ ।
जनताबाट निर्वाचित भएर आएदेखि नै यो डम्पिङस्थल परिवर्तन गर्नुपर्छ भन्ने सोच थियो,’ मेयर श्रेष्ठले भने, ‘स्थानीयवासी र इन्जिनियरहरुसँग छलफल गरेर पार्क बनाउन थाल्यौं ।’

इतिहासको कथा बोकेको मध्यपुरथिमिका दुई पोखरी बर्खामा हिलो र हिउँदमा घाँसे मैदानमा परिणत भएका थिए । त्यहाँ राजनीतिक सभा र खेलकुदका गतिविधि हुन्थे । तर अहिले दुईमध्ये एकले पोखरीकै स्वरूप पाइसकेका छन् । अर्को पोखरी पनि आफ्नो स्वरूप समात्ने तरखरमा छन् । हाल यी पोखरी मध्यपुरवासीका लागि मात्र नभएर आन्तरिक पर्यटकहरूको रोजाइको स्थान बनेको छ ।

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा अन्तर्गत बोडेमा मनाइने जिब्रो छेड्ने जात्रा हजारौंको सहभागिता हुन्छ । त्यही जात्रामा जिब्रो छेड्ने स्थान नजिकै रहेको एउटा घर कुनै समय दरबार थियो भन्ने कुरा धेरैलाई जानकारी थिएन होला । अहिले त्यही स्थानमा पुरानै शैलीमा दरबार निर्माण भएको छ ।
दरबार अवलोकन पश्चात मदनसुन्दर श्रेष्ठले भने, ‘यो दरबार बनाउन स्थानीयको ठूलो सहयोग छ । मैले सोचको भन्दा चाँडै यो तयार हुने भएको छ ।

यस्तै जिब्रो छेड्ने जात्रा हुने स्थान नजिकै पनि पहिले डम्पिङसाइट थियो । तर अहिले त्यहाँ पनि पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणकै क्रममा भए पनि आन्तरिक पर्यटकहरूको रोजाइको स्थल बनेको छ ।
हरेक वर्ष जात्राको समयमा स्थानीयवासी एक–दुई पटक धर्मकर्मका लागि मात्रै भए पनि जाने सो स्थानमा आकर्षक पार्कका रूपमा निर्माण गरिएको मेयर मदन सुन्दर श्रेष्ठको भनाइ छ ।

मध्यपुरथिमि क्षेत्रका जीर्ण मन्दिर, पाटी र सत्तलको समेत पुरानै शैलीमा जिर्णोउद्धार तथा मर्मत गरिएको छ । यहाँको विष्णुकुण्डले मर्मत पछि रूप फेरेको छ । ‘विष्णुकुण्ड खण्डहरमा परिणत भइसकेको थियो,’ मेयर श्रेष्ठले भने, ‘म बाल्यकालमा यो पोखरीमा पौडी खेल्थेँ । यसको जिर्णोद्धारपछि उदघाटन गर्ने बेलामा पौडी खेल्दा बालापनको याद आयो ।’

ठूला सम्पदाहरूको मात्र नभएर साना सम्पदाहरूको समेत योजना बनाएर निर्माण कार्यलाई तीव्रता दिएर पोखरीहरुको उत्खनन् गरी पुरानै स्वरूप दिने काम जारी छ । पुराना इनार र ढुंगे धाराहरुको पनि मर्मत गरी पुरानै शैलीमा उपयोगमा ल्याउने काम गरिएको छ ।

थप तस्वीरहरु हेर्नुहोस्
प्रतिक्रिया 4