
१५ मंसिर, काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन (सार्क) सदस्य आठ मुलुकमध्ये अहिलेपनि सबैभन्दा बढी संक्रमित भएको मुलुक भारत हो भने सबैभन्दा कम भुटान ।
कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण दक्षिण एसिया पनि नराम्ररी प्रभावित बन्न पुगेको छ । सार्क मुलुकमध्ये भारतमा सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।
भारतमा अहिलेसम्म ९४ लाख ३१ हजार ६९२ संक्रमित फेला परेका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या पनि सबैभन्दा बढी एक लाख ३७ हजार १३९ पुगेको छ ।
यद्यपि कोरोना संक्रमणबाट मृत्यु हुनेको दर भने अफगानिस्तानमा सबैभन्दा बढी छ । अफगानिस्तानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर तीन दशमलव ८३ प्रतिशत छ ।
कोरोनाबाट सबैभन्दा कम प्रभावित भएको सार्क मुलुक भुटान हो । अहिलेसम्म भुटानमा सबैभन्दा कम ३९६ संक्रमित फेला परेका छन् भने अहिलेसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।
संक्रमित संख्याको आधारमा सार्कमा बंगलादेश दोस्रो स्थानमा छ । बंगलादेशमा चार लाख ६२ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने ६ हजार ६०९ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
पाकिस्तानमा तीन लाख ९८ हजार ०२४ संक्रमित फेला पर्दा आठ हजार २५ जनाको मृत्यु भएको छ ।
सार्क मुलुकमा नेपाल संक्रमित संख्या र संक्रमितको मृत्युदरको आधारमा चौथो स्थानमा छ भने मृतक संख्याको आधारमा पाँचौं स्थानमा छ । नेपालमा सरकारी आँकडाअनुसार संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ रहेको छ । मृतक संख्या भने १५०८ पुगेको छ ।
प्रतिक्रिया 4