+
+

बेलायतबाट आएका ५ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १३ गते २१:०८

१३ पुस, काठमाडौं । बेलायतबाट आएका ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यद्यपि नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भन्ने यकिन भइनसकेको अधिकारीहरूले बताएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) का अनुसार अहिले उनीहरु राजधानीको विभिन्न होटेलमा क्वारेण्टिन बसिरहेका छन् ।

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने नागरिकलाई १० दिन अनिवार्य क्वारेण्टिन बस्न आग्रह गरिएको थियो । यसरी बसेका मध्ये ५ जनालाई लक्षण देखिएपछि परीक्षण गरिएको थियो  र उनीहरूको रिपोर्ट पोजेटिभ आएको छ ।

तर उनीहरुलाई नयाँ  प्रजातीको कोरोना भएको भन्न नमिल्ने इडिसिडीका निर्देशक वासुदेव पाण्डेले बताए । उनका अनुसार नयाँ किसिमको कोरोना भाइरस भएको पत्ता लगाउन उनीहरुको जिन सिक्विनिङ गर्नुपर्छ ।

‘जिन सिक्विनिङ नगरी बेलायतबाट आएको आधारमा मात्रै उनीहरुलाई नयाँ प्रकारको कोरोना भाइरस भएको भन्न मिल्दैन’ डाक्टर पाण्डेले भने,  ‘तर बेलायतबाट आएकाहरु अथवा उनीहरुको सम्पर्कमा आएकाहरुलाई कोरोनाको लक्षण देखिए भने सचेत रहनुपर्छ ।’

कोभिड–१९ को नयाँ स्वरुप मानिएको यो भाइरस यसअघिको भन्दा ७० प्रतिशत बढी संक्रामक भनिएको छ । तर यसले निम्त्याउने असरबारे वैज्ञानिकहरुले केही भनेका छैनन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि यसबारे अहिले नै केही भन्नु हतारो हुने बताएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को ‘इम्प्लिकेसन्स अफ इमर्जिङ सार्स कोभिड टू भेरियन्ट’ नामक अध्ययनमा भाइरसमा देखिएको संरचनामा परिवर्तन (म्युटेसन) भएसँगै यो नयाँ प्रकारको कोरोना भाइरस छिटो फैलिनसक्ने पाइएको छ । हालसम्म यसले एकदम सिकिस्त बिरामी बनाउने वा मृत्युको जोखिम बढाउने वा नबढाउने भन्नेमा नयाँ तथ्य भेटिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?