
१२ माघ, काठमाडौं । रामेछाप मन्थलीका विशाल तामाङ आइतबार वैदेशिक रोजगार विभागमा आफू ठगिएको उजुरी लिएर पुगे । ठगी गर्ने म्यानपावर कम्पनीलाई कडा कारवाही गर्दै रकम फिर्ता दिलाउन उजरीमा माग गरिएको थियो ।
तर, तामाङ पुग्दा विभागको मूल गेटमै म्यानपावर व्यवसायीहरुको ठूलो समूहले चर्को नारा लगाइरहेका थियो, ‘छड्के अनुगमन बन्द गर, सेवा शुल्क वृद्धि गर, ताहाचलको घुस बन्द गर, म्यानपावर व्यवसायी जिन्दाबाद…!’
म्यानपावर व्यवसायीको भिडले विभाग परिसरमा चर्को नाराबाजी गरिरहँदा पीडित तामाङ जसोतसो भित्र छिरेर उजुरी दर्ता गरे । इम्पावर ओभरसिजले यूएई पठाइदिने भनेर ठगेको ठगेको उनले उजुरीमा उल्लेख गरेका छन् ।
‘महिनाको ८०० एईडी कमाइ हुन्छ भनेर ८० हजार लिएपछि कम्पनीले पठाउन आनाकानी गर्यो’, तामाङले भने, ‘पटक-पटक पैसा फिर्ता माग्दा म्यानपावर सञ्चालक कालमणि राईले बेवास्ता गरेपछि न्यायको आशामा विभागमा उजुरी दिन आएको हुँ । तर, विभागको ढोकामा पनि उनीहरुकै दादागिरी चलिरहेको देख्दा मन खिन्न भएको छ ।’
ओखलढुंगाको लिशंखुगढीका पवन परियार र फणिन्द्र दर्जी पनि विभागबाट न्याय पाइने आसामा चक्कर काटिरहेका छन् । पटक-पटक गरेर उनीहरुले प्रस्तुति ओभरसिज नामको म्यानपावर कम्पनीलाई १ लाख ७६ हजार बुझाएका थिए । म्यानपावरले महिनाको ६० हजारसम्म तलब हुने गरी कतार पठाउँछु भनेर पैसा लिएको थियो । उनीहरु कतार उड्न त पाएनन् नै, पैसा फिर्ता माग्दा उल्टो सास्ती मात्रै भोगे ।
पछिल्लो समय विदेश पठाउने नाममा ठगिएको उजुरी लिएर विभाग आउनेको लर्को छ । विदेशबाट फर्किएर क्षतिपूर्ति माग्दै उजुरी दर्ता गराउने पनि उत्तिकै छन् ।
ठग्न पाऊँ !
यही बेला म्यानपावर व्यवसायीहरु कारवाही खुकुलो बनाउनुपर्नेसहित विभिन्न २१ बुँदे माग तेस्र्याएर आन्दोलनमा छन् । पीडितका पक्षमा लागेर आफूहरुलाई सताएको भन्दै व्यवसायीहरु विभागविरुद्ध उत्रिएका छन् । व्यवसायीहरुले आफ्ना पुरा नभए विभागमै तालाबन्दी गर्नेदेखि देशै ठप्प पार्नेसम्म चेतावनी दिएका छन् ।
उनीहरुले महानिर्देशकले मनपरी ढंगले काम गरेको, विभागमा आर्थिक चलखेल बढेको जस्ता आरोप लगाएका छन् । म्यानपावरलाई शाखा खोल्न दिनुपर्ने र श्रमिकसँग वैधानिक रुपमा उठाउन पाइने शुल्क बढाउनुपर्नेसम्मका माग छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठ विभागका महानिर्देशक कुमारप्रसाद दाहालले आफूहरुको मागलाई बेवास्ता गरेकाले आन्दोलन गर्नपरेको बताउँछन् । विभागमा हुनसक्ने काम पनि आर्थिक चलखेलका लागि मन्त्रालयतिर पन्छाउने गरिएपछि त्यसका विरुद्ध एक ढिक्का भएर आन्दोलन गर्नुपरेको उनले बताए ।
अहिले म्यानपावर व्यवसायीको प्रमुख माग महामारीका बेलामा आएका ठगीको उजुरीको फस्र्योटका लागि छुट्टै समिति बनाउनुपर्ने भन्ने हो । महामारीका कारण कामदार अलपत्र परेर फर्किनुपर्दा म्यानपावर कम्पनीले मात्र खर्च र क्षतिपूर्ति दिन नसक्ने भएकाले व्यवसायीको सहभागितामा छुट्टै कमिटी बनाएर उजुरी अध्ययन हुनुपर्ने माग गरिएको महासचिव श्रेठ बताउँछन् ।
व्यवसायीका माग यति मात्रै छैनन्, कामदार विदेश पठाउँदा उठाउन पाउने सेवा शुल्क बढाउन पनि माग गरेका छन् । सरकारले २०७२ जेठमा मलेसिया र ६ वटा खाडी मुलुकका लागि ‘ फ्रि भिसा, फ्रि टिकट’ को व्यवस्था अनिवार्य गरेको थियो । अहिले ती देशमा श्रमिक पठाउँदा १० हजार रुपैयाँसम्म मात्रै शुल्क उठाउन पाइने नियम छ ।
तर, विदेशका कम्पनी फ्रि भिसा र टिकट आएपनि म्यानपावर कम्पनीले चर्को असुली गरिरहेका छन् । कतिपय अवस्थामा व्यवसायीले फ्रि भिसा र टिकट नै नभएपनि कामदारसँग असुल्ने गरी डिमान्ड ल्याइरहेका छन् । नक्कली कागजात बनाएर डिमान्ड ल्याउँदा पनि सरकारले कारवाही गर्न सकेको छैन ।
सरकारले म्यानपावर कम्पनीमाथि पर्याप्त कडाइ नगर्दा सालना हजारौं युवा लाखौं रकम बुझाएर काम खोज्दै विदेशिन बाध्य भएको वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डित बताउँछन् । उनका अनुसार व्यवसायीले कामदारबाट लाखौं रकम उठाएर १० हजारको बिल थमाइदिने गरेका छन् । म्यानपावरबाट ठगिएर विदेशमा बिचल्लीमा पर्ने घटना पनि बढ्दो छ ।
म्यानपावर व्यवसायीले जथाभावी पठाउँदा विदेशमा जोखिमपूर्ण काम गर्नुपर्ने, भनेअनुसार तलब नपाउने, कहिल्यै नसोचेको पीडा खेप्नुपर्ने, स्वदेश फर्किन कठिन हुने, कतिपय अवस्थामा जेल-सजाय भोग्नुपर्ने र ज्यानसमेत गुमाउनेसम्मका अवस्थाबाट नेपाली कामदार पीडित छन् ।
कतिपय युवा ठगिँदा पनि आवश्यक प्रमाण नभएपछि निरीह बन्ने गरेका छन् । हाताहाती पैसा लिने तर, त्यसको कुनै प्रमाण नराख्ने गर्दा धेरै युवा ठगिँदा न्यायबाट बञ्चित हुने अवस्था छ ।
म्यानपावर व्यवसायीहरु भने सरकारले गरेका व्यवस्था व्यवसाय अनुकुल नभएको बताइरहेका छन् । विभागले सञ्चारमाध्यसहितको अनुगमन बन्द गर्नुपर्ने उनीहरुको माग छ ।
विभाग भने व्यवसायीको दबावमा अगुगमन र कारवाही नरोकिने बताउँछ । पछिल्ला दिनमा कारवाही बढेपछि व्यवसायी अत्तालिएको महानिर्देशक कुमारप्रसाद दाहलको दावी छ । उनी भन्छन्, ‘अवैध काम गर्न छुट नपाएपछि व्यवसायीहरुले बिभागमाथि दबाव बढाउन खोज्नुभएको बुझिन्छ ।’
विभागले ठगीविरुद्ध विभिन्न प्रतिरोधी कदकम चालेपछि आफ्नो सरुवा गराउन खोजेको उनको आशंका छ । तर, श्रमिकको हितका लागि काम गर्दा आइपर्ने सबै चुनौती समाना गर्न तयार रहेको उनले बताए ।
विभागका अनुसार कोरोना महामारीका बेलामा ठगीका घटना ठप्पजस्तै भएका थिए । गत चैतमा विदेशमा जन श्रम स्वीकृति बन्द गरिएपछि साउनसम्म वैदेशिक रोजगारीमा युवा जान नपाउँदा ठगी पनि रोकिएको थियो । भदौबाट श्रम स्वीकृति खुलेपछि भने पुरानै कथा दोहोरिएको छ ।
विदेशबाट डिमान्ड आउने क्रम बढ्न थालेपछि म्यानपावरदेखि दलालसम्म सल्बलाएका छन् । करिब ६ महिना व्यावसाय ठप्प भएकाले विदेशबाट थोरै माग आउने कारण देखाएर धेरै असुल्ने प्रवृत्ति बढेको छ । मलेसिया र खाडीमा पहिलेजसरी नै कतिपय म्यानपावर कम्पनी ठगीमा सक्रिय हुन थालेको विभाग बताउँछ । युरोपेली मुलुकहरुमा पठाउने बहानामा पनि चर्को ठगी हुँदैछ ।
अहिले म्यानपावर कम्पनीहरुले कामदाहरुको पासपोर्ट जम्मा गरिरहेका छन् । पासपोर्ट कब्जामा लिएर तुरुन्तै मेडिकल गर्न लगाई कमिसन लिने पुरानै धन्दा हो । डिमान्ड नल्याउने म्यानपावर कम्पनीले पनि ‘माग छ’ भन्दै पासपोर्ट तानेर पैसा असुल्न अनेक तिकडम गर्न थालेका छन् ।
भिजिट भिसामा यूएई पठाउने क्रम पनि बढेको छ । यूएईमा पुगेर काम नपाएपछि ठगिएको थाहा पाएका युवा विभागमा क्षतिपूर्ति माग्दै आएका छन् ।
अहिले विदेशमा पनि राम्रो कामका लागि श्रमिकको धेरै माग छैन । आकर्षक तलब सुविधाको प्रलोभन देखाएर ठग्ने काम भने भइरहेको विभाग बताउँछ । विभागमा ६ महिनामा १८७ वटा उजुरी दर्ता भएको छ । त्यसमध्ये विभागले ८९ वटा उजुरी फरफारक गरेको छ ।
म्यानपावर कम्पनीविरुद्धका ति उजुरीमा कुल ५ करोड ६१ लाख रुपैंया क्षतिपूर्ति दावी परेकोमा ८९ वटा उजुरी फरफारक हुँदा ६० लाख ५५ हजार असुल भएको जानकारी विभागका निर्देशक महेन्द्र भट्टराईले दिए । उनका अनुसार, म्यानपावर कम्पनीहरुलाई रु.४४ लाख जरिवाना पनि गरिएको छ ।
महामारी साम्य हुँदैगर्दा वैदेशिक रोजगारीका नाममा व्यक्तिगत रुपमा दलालहरुले ठग्ने क्रम पनि कोराना बढेको छ । व्यक्तिगत ठगीतर्फ बिभागमा ६ महिनामा १४५ वटा उजुरी दर्ता भएकामा २७ वटा फरफारक भएका छन् भने ३२ उजुरी वैदेशिक रोजगार न्याधिकरणमा मुद्दाका रुपमा दर्ता भएका छन् । न्याधिकारणले यस वर्ष मात्रै दोषीबाट श्रमिकलाई ४० लाखसम्म क्षतिपूर्ति दिलाएको छ ।
महामारीमा विदेशकै भर
महामारी साम्य नभएपनि नेपाली युवाले कामका लागि विदेशिनुको विकल्प भेटिरहेका छैनन् । महामारीकाबीच पुनः श्रम स्वीकृति लिएर ३२ हजार ५०० युवक विदेश गइसकेका छन् ।
१४ हजारभन्दा बढी युवक नयाँ श्रम स्वीकृति लिएर विदेश उडेका छन् । त्यस्तै, १८ सय भन्दा बढी युवा श्रम इजाजतको वैधानिकीकरण गरेर विदेश फर्किएका छन् ।
खाडीस्थित नेपाली दूतावासहरुले मागपत्र प्रमाणीकरण गरिरहेकाले अब विदेशिने युवाको संख्या बढ्ने देखिन्छ । त्योसँगै ठगीको श्रृंखला पनि बढ्दै जाने वैदेशिक रोजगार विभागका अधिकारीहरुको आँकलन छ ।
यो पनि पढ्नुस्
प्रतिक्रिया 4