
१३ फागुन, काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । मकवानपुर, बर्दिया, चितवन र सुनसरीमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रकले एक गाडीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । विहीबार बिहान ना ६ ख ४०४४ नम्बरको ट्रकले ना १ ह ३४०८ नम्बरको गाडीलाई ठक्कर दिँदा गाडी चालक हेटौंडा उपमहानगरपालिका–११ थानाभन्ज्याङ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । फरार रहेका ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बर्दियाको राजापुर नगरपालिका–८ भोगपुरमा मोटरसाइकल राँगोमा ठक्कर खाँदा एकजनाकोे मृत्यु भएको छ ।
ना ६५ प ८०३९ नम्बरको मोटरसाइकल राँगामा ठक्कर खाँदा मोटरसाइकल चालक गुलरिया नगरपालिका–३ खैरापुर बस्ने २७ वर्षीय दामोदर खनालको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर खाँदा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँका २६ वर्षीय सुभन यादवको उपचार भइरहेको छ ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका–१२ मा ना ३८ प ५२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाही ईश्वरपुर नगरपालिका–१० का २५ वर्षीय चिरनराज चौधरी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै भरतपुर महानगरपालिका–९ मा बा ५ ख ८९९९ नम्बरको गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने अन्दाजी ४५ वर्षीय पुरुषको पहिचान नखुलेको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै सुनसरी, बराहक्षेत्र नगरपालिका–५ भरौलमा को १ ज ३७६१ नम्बरको बोलेरोले ना ३९ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय डिगन गुरुङ रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका कृष्णकुमार राजधामीको उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया 4