+
+

थाइ एयरवेज नउड्दा चिठ्ठीपत्र र पार्सल ओसारपसार गर्न असहज 

विकल्प खोजिँदै

अच्युत पुरी अच्युत पुरी
२०७७ चैत १ गते १३:२७

१ चैत, काठमाडौं । कोरोना महामारीका कारण लामो समय विमानस्थलमा थन्किएका जहाज उड्न नसकेपछि थाइल्याण्डको सरकारी वायुसेवा कम्पनी थाइ एयरवेजले साविकका कतिपय गन्तव्यमा उडान सुरु गर्न सकेको छैन । यसको प्रभाव नेपालमा हुलाक सेवा विभागको नियमित सेवामा समेत परेको छ ।

चिठ्ठीपत्र र पार्सल ओसार-पसार गर्न विभागले सम्झौता गरेको कम्पनीले कोरोना महामारी सुरु भएयता सेवा नै दिएको छैन । नेपालमा ११ चैत २०७६ पछि बन्द भएको थाइ एयरवेजको उडान अहिले पनि सुरु हुन सकेको छैन ।

यो अवस्थामा आफ्नो सेवा नियमित राख्न नयाँ विकल्पको खोजी सुरु भएको हुलाक सेवा विभागकी महानिर्देशक आभा श्रेष्ठ कर्णले जानकारी दिइन् । विभागले नेपालबाट संसारभर चिठ्ठीपत्र तथा पार्सल पठाउन थाइ एयर र भारतको एयर इन्डियासँग सम्झौता गरेको छ । यी दुबै एयरलाइन्स ती मुलुकका राष्ट्रिय ध्वजाबाहक हुन् ।

‘हामीले संसारमा सबैभन्दा फराकिलो उडान नेटवर्क भएको कम्पनी छानेरै थाइ एयरसँग सम्झौता गरेका थियौं,’ उनले भनिन्, ‘तर, कोरोना सुरु भएपछि थाइ एयरवेज नेपालमा आएन ।’

उनका अनुसार अहिले एयर इन्डियाबाटै पार्सल तथा चिठ्ठीपत्र आदानप्रदानको काम भइरहेको छ । सामान्यतया वायुसेवा कम्पनीसँग सम्झौता भएपछि गन्तब्य मुलुकसँग सिधा उडान भए पनि-नभएपनि चिठ्ठीपत्र र सामान गन्तव्यसम्म पुर्‍याउने जिम्मेवारी वायुसेवा कम्पनी कै हुन्छ । अहिले एयर इन्डियाले काठमाडौं-नयाँ दिल्ली रुटमा नियमित उडान गरिरहेको छ ।

एयरलाइन्सलाई खुला आह्वान गरिने

नेपालमा असोज २०७७ बाटै अन्तराष्ट्रिय उडानका कम्पनीमाथिको उडान प्रतिवन्ध फुकुवा भएको थियो । सोही अनुसार करिब एक दर्जन अन्तर्राष्ट्रिय वायुसेवाले नेपाल उडान पुनः सुरु गरिसकेका छन् । तर, थाइ एयरवेजले भने पुनः सेवा थालेको छैन ।

कोरोना महामारी कम हुँदै गएपछि पनि नेपालमा उडान सुरु नगरेपछि विभागले सो कम्पनीसँगको सम्झौता पनि रद्द गर्ने प्रक्रिया थालेको हो । महानिर्देशक श्रेष्ठका अनुसार कम्पनीसँग पत्राचारको तयारी गरिएको छ ।

नियमअनुसार नै थाइ एयरवेजसँगको सम्झौता रद्द गरिने छ । त्यसपछि खुला आह्वान गरी एयरलाइन्सबाट प्रस्ताव माग गर्ने तयारी विभागले गरिरहेको उनले जानकारी दिइन् ।

‘नयाँ सम्झौतामा पुनः थाइ पनि आउन सक्यो,’ उनले भनिन्, ‘तर, उडान बन्द रहेको र खुल्ने निश्चित नभएको अवस्थामा हामी नयाँ सम्झौतामा जान्छौं ।’ हुलाक सेवा विभाग र थाइ एयरबीच पुरानो सम्झौताको अवधि भने अझै एक वर्ष बाँकी रहेको छ ।

महानिर्देशक श्रेष्ठका अनुसार अहिले एयर इन्डियाले नेपालबाट चिठ्ठीपत्र तथा पार्सल ओसार-पसार गरिरहेका कारण हुलाक सेवा विभागको सेवा भने प्रभावित हुने छैन ।

एयर इन्डियाले अहिले गरिरहेको छ,’ उनले भनिन्, ‘थाइ एयर नआएमा फराकिलो नेटवर्क भएको अर्को कम्पनीसँग सम्झौता हुन्छ ।’ त्यसअगाडि नै नियमअनुसार थाई एयरसँग विभागले पत्राचार गर्ने उनको भनाइ छ ।

संसारमा सफल वायुसेवा कम्पनीको नाम लिँदा अग्रस्थानमा आउने थाई एयरवेज कोरोना भाइरसको महामारी सुरु हुनु अगाडि नै आर्थिक समस्यामा थियो । त्यसपछि संसारभर लागेको उडान प्रतिवन्धले यो कम्पनीलाई नराम्रोसँग थला पार्‍यो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारी भन्छन्, ‘सम्भवतः थाइ एयरले अब नेपालमा उडान गर्दैन ।’

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अहिलेसम्म यो कम्पनीले नेपालमा उडान पुनः सूचारु गर्न निवेदन दिइसकेको छैन । काठमाडौं-बैंकक रुटमा अहिले नेपाल वायुसेवा निगमले उडान गर्छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?