
१८ चैत, काठमाडौं । विपक्षी दलहरुले म्यानमारमा लोकतन्त्रका लागि आन्दोलन गरिरहेका नागरिकमाथि त्यहाँको सेनाले गरिरहेको दमनको विरोध गर्न सरकारलाई आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी र जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले म्यानमारमा लोकतन्त्रका लागि आन्दोलन गरिरहेका नागरिकमाथिको दमनको विरोधमा सरकारले बोल्नुपर्ने धारणा राखे ।
कांग्रेस सांसद केसीले म्यानमारमा भइरहेको नरसंहार अमानवीय र निन्दनीय रहेको बताए । उनले त्यहाँ निर्वाचित सरकारको पुनर्बाहाली र प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको रिहाइको माग गरे ।
केसीले म्यानमारका नागरिकले लोकतन्त्रका लागि गरेको आन्दोलनको पक्षमा विश्वभरका नागरिकले ऐक्यवद्धता जनाउन जरुरी रहेको पनि बताए ।
जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले म्यानमारमा नागरिक आन्दोलनमाथि भइरहेको दमनको विरोधमा नेपालको संसद र सरकारले बोल्नुपर्ने बताए ।
‘यो घटना हेर्दा सम्पूर्ण संसार संवेदनशील छ । लोकतान्त्रिक मुलुकहरु संवेदनशील छ । यो संसद र हाम्रो सरकार बोल्नुपर्छ’ उनले भने, ‘जहाँ लोकतन्त्रको हत्या भएको छ । त्यसबारेमा बोल्नुपर्छ, गम्भीर हुनुपर्छ ।’
नेता कर्णले मानव अधिकार उल्लंघन हुँदा चुप लागेर बस्न नमिल्ने बताए । ‘मानव अधिकार र लोकतन्त्रका लागि हामी बोल्नुपर्छ’ उनले भने ।
म्यानमारमा शासन हातमा लिने सेनाको कदमको विरोधमा नागरिकले आन्दोलन गरिरहेका छन् । आन्दोलनमा सेनाले गोली चलाउँदा ५ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया 4