+
+

उपप्रधानमन्त्री महतोको स्पष्टीकरण : नेपाल बहुल राष्ट्रिय राज्य नै हो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २२ गते २०:३८

२२ जेठ, काठमाडौं । पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएपछि उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो आलोचित बने । खासगरी सत्तारुढ नेकपा एमालेका नेताहरुले महतोसँगै उनलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।

महतो भने आफ्नो भनाइमा अडिग छन् । शनिबार आफूसहितका मन्त्रीहरुको स्वागतमा जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले आयोजना गरेको कार्यक्रमपछि उपप्रधानमन्त्री महतोले भने, ‘नेपाल त बहुल राष्ट्रिय राज्य छँदै हो नि ।’

नेपाल विभिन्न जातीय, वर्ग समुदायको विविधता भरिएको भन्दै उनले भने, ‘बहुलता भनेको त्यही हो, त्यसैले बहुल राष्ट्रिय राज्य भनेको हो ।’ बहुल राष्ट्रिय राज्य भएकाले त्यसअनुसार नियम, कानून, संविधान र सहभागिता हुनुपर्ने आफूहरुको मत रहेको उनले बताए ।

यसमा विवाद गर्नुको कुनै अर्थ नभएको भदै महतोले भने, ‘बहुल भनेको एक जात, एक वर्ग, एक समुदाय होइन । सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ । यो नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहन्छ ।’

आफूहरुको पार्टी अधिकार, पहिचान, सुशासन र समृद्धिका लागि बनेको भन्दै उनले त्यो नहुँदासम्म आन्दोलन हुने बताए । उपप्रधानमन्त्री महतोले अघि भने, ‘संघीयता ल्याएपछि समावेशिताको प्रारम्भ भएको छ । तर पूर्णता पाएको छैन । संविधान नै अपूर्ण छ ।’

उनले अघि भने, ‘यदि कसैले यो देशमा अब ठीकठाक छ, केही समस्या नै छैन भन्छ भने त्यो देश र जनताका लागि धोका हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?