२४ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोना संक्रमितको चाप दैनिक घट्दै गएको छ । दोस्रो लहरको संक्रमण फैलिएसँगै वैशाख पहिलो साताबाट अस्पतालहरुमा चाप बढेको थियो । मध्य वैशाखबाट अस्पतालहरु गम्भीर अवस्थाका बिरामीले भरिए । बेड अभावमा संक्रमितहरुलाई अस्पतालको प्रांगणमा राखेर उपचार गराउनुपर्ने बाध्यता थियो ।
तर जेठको दोस्रो साता यता अस्पतालमा संक्रमितको चाप कम हुँदै गएको अस्पतालका अधिकारीहरुले बताएका छन् । पछिल्लो केही दिनबाट आईसीयू र भेन्टिलेटरमा समेत बिरामीको चाप केही कम भएको छ ।
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमले पछिल्लो समय अस्पतालमा संक्रमितको चाप घट्दै गएको बताए । केही हप्ता अगाडि दैनिक ७० संक्रमित भर्ना हुने गरेपनि अहिले भने दैनिक करिब १५ बिरामी भर्ना हुने गरेको भन्दै उनले यसलाई सुखद् पक्ष रहेको बताए ।
कोरोना संक्रमण उच्च हुँदा एकैदिन ४०० जनासम्म उपचार गरेको यो अस्पतालमा अहिले १७० मा छन् । आईसीयूमा ५५ जना छन्, जसमध्ये २८ जनालाई भेन्टिलेटर सपोर्ट दिइएको छ । अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दास भन्छन्, ‘हप्ता/दश दिन जस्तो भयो होला । अस्पतालमा उपचार गराउन आउने संक्रमितको चाप केही कम भएको छ ।’ कोरोना संक्रमण उच्च विन्दुमा पुगेर ओरालो लागेका कारण पनि अस्पतालमा आउने संक्रमितको चाप घटेको हुनसक्ने उनको अनुमान छ ।
काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पतालमा संक्रमितको चाप कम भएको अस्पतालका कोभिड फोकल पर्सन डा. प्रवीण नेपालले बताए ।
पछिल्लो केही समय यता औसतमा दैनिक ५ जना बिरामी घट्दै गएको उनले बताए । २०० जनासम्म संक्रमितको उपचार गराउँदै आएको अस्पतालमा अहिले १५० जना संक्रमित छन्, जसमध्ये आईसीयूमा २० छन् । उनीहरुमध्ये १० जनालाई भेन्टिलेटर सपोर्ट छ ।
डा. नेपालका अनुसार आईसीयू र भेन्टिलेटरमा पनि बिरामीको चाप केही कम भएको छ । तर पछिल्लो समय रुकुम, रोल्पा, धनगढी लगायतका जिल्लाहरुबाट कोरानाका गम्भीर बिरामी आउन थालेका छन् । ‘पछिल्लो समय कोरोना संक्रमण काठमाडौं उपत्यका बारिहका जिल्लामा बढेको हुनसक्छ,’ उनले भने, ‘त्यसैले पनि हेलिकोप्टरबाट बिरामीहरु उपचारका लागि आइरहेका छन् ।’
भक्तपुर अस्पतालमा पनि क्रमितको चाप घटेको छ । कुनै समय एकै दिन ८३ जनासम्म उपचाररत रहेको यो अस्पतालमा हाल ३५ जना संक्रमित रहेको सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन् । संक्रमण बढेका बेला अत्याधिक चापका कारण संक्रमितलाई टेन्टमा राखेर समेत उपचार गराउनु परेको थियो ।
जेठको पहिलो सातायता संक्रमितको चाप क्रमशः घट्दै गएको उनले बताइन् । ‘निषेधाज्ञा जारी भएको एक महिनाभन्दा बढी भइसकेको छ, यसले पनि कोरोनाको ‘चेन ब्रेक’ भएको हुनसक्छ,’ डा गौतमले भनिन्, ‘दैनिक अस्पताल आउने संक्रमितको संख्या घट्दो छ ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आईसीयू–भेन्टिलेटरमा २७ जनासहित ८७ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो एकसाता यता इमर्जेन्सीमा आउने बिरामीको संख्या घटेको छ, तर आईसीयू र भेन्टिलेटरमा बेड खाली छैन ।
पछिल्लो समय काठमाडौं उपत्यका बाहिरका बिरामी उपचारका लागि बढी आउने अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए । काठमाडौं आसपासका जिल्ला धादिङ, मकवानपुर, नुवाकोट, गोरखा लगायतबाट रेफर भएर आउने बिरामी बढी रहेको राजभण्डारीले बताए । ‘होमआइसोलेनमा बसेकाहरुको स्वास्थ्यमा समस्या थप देखिन थालेपछि आउने पनि बढी छन्,’ उनले भने ।
धुलिखेल अस्पतालमा संक्रमितको चाप घट्दै गएपछि आईसीयू र भेन्टिलेटर बेड खाली हुन थालेको छ । अस्पतालका कोभिड फोकल पर्सन डा. रमेश मकाजु श्रेष्ठका अनुसार हाल १०० जना संक्रमित उपचाररत छन् । ‘इमर्जेन्सीमा आउने बिरामीको चाप घटेको छ,’ उनले भने, ‘६० बेड क्षमताको आईसीयूमा ५४ र १० बेड क्षमताको भेन्टिलेटरमा ८ जना उपचाररत छन ।’
निजामती कर्मचारी अस्पतालमा पनि संक्रमितको चाप घट्दै गएको अस्पतालका कोभिड फोकल पर्सन प्रा.डा. दिनेशकुमार लम्सालले जानकारी दिए । ‘पहिलेको तुलनामा अहिले धेरै सहज भएको छ । अस्पताल आएका बिरामीलाई फर्काउनु पर्ने अवस्था छैन,’ उनले भने ।
निजी अस्पतालमा पनि घट्यो
उपत्यकाका निजी अस्पतालहरुमा पनि कोरोना संक्रमित बिरामीको चाप घट्दो छ । पछिल्लो केही समययता आईसीयू र भेन्टिलेटर बेड समेत खाली हुन थालेको निजी अस्पतालका सञ्चालकहरु बताउँछन् ।
मेडिसिटी, किस्ट, स्टार लगायतका अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचार गराउने संक्रमितको संख्यामा पनि कमी आएको छ । मेडिसिटी अस्पतालकी सूचना अधिकृत मनिता पोखरेलका अनुसार कोभिड बिरामीका लागि ३३ वटा भेन्टिलेटर छुट्याइएकोमा २५ र ८२ आईसीयू बेडमा ७० जना मात्रा उपचाररत छन् । आईसीयू र भेन्टिलेटरसहित अस्पतालमा १२० संक्रमित उपचाररत रहेको उनले बताइन् । तर पछिल्लो समय पोस्ट कोभिडका बिरामीको संख्या बढ्दै गएको उनले बताइन् ।
किस्ट अस्पतालमा आईसीयू विथ भेन्टिलेटरमा २१ जना संक्रमित उपचाररत रहेको अस्पतालका सीओओ अमीश पाठकले जानकारी दिए । पछिल्लो समय अस्पतालमा उपचार गराउन आउने पोष्ट कोभिडका बिरामी बढेको उनले बताए । दैनिक १५ जना पोष्ट कोभिडका बिरामी स्वास्थ्यमा थप समस्या देखिएपछि आउने गरेको उनले बताए ।
स्टार अस्पतालमा पनि कोभिडका लागि छुट्याइएको आईसीयू र भेन्टिलेटर बेड केही संख्यामा खाली रहेको अस्पतालका डा अनिल पोखरेलले बताए । तर अस्पतालमा पोष्ट कोभिडका बिरामीको चाप भने बढेको उनले बताए ।
बाँकेका अस्पतालमा पनि बेड खाली
दोस्रो लहरमा कोरोनाको हटस्पट बनेको बाँकेका अस्पतालमा पनि कोभिड बेड खाली हुन थालेको छ । पछिल्लो केही समय यता संक्रमण घटेसँगै अस्पतालमा कोभिड बेडहरु खाली हुन पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, युनाइटेड अस्पताल, वेस्टर्न अस्पतालमा गरी कुल १५५ बेड खाली रहेको जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।
संक्रमण पिकमा पुग्दा भेरी अस्पतालले टेन्ट टाँगेर संक्रमितको उपचार गरेको थियो ।
तस्वीर/भिडियो : आर्यन धिमाल
प्रतिक्रिया 4