+
+

बौद्ध घटनामा डीएनए परीक्षण गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २५ गते १३:४८

२५ जेठ, काठमाडौं । बौद्धको टाउन प्लानिङमा प्लास्टिकको बोराभित्र भेटिएको खुट्टा पुरुष वा महिला कसको हो भन्ने खुल्न सकेको छैन । लिंग पहिचानका लागि प्रहरीले डीएनए परीक्षण गराउने तयारी गरेको छ ।

प्रहरी वृत्त, बौद्धका डीएसपी नविन कार्की भन्छन्, ‘खुट्टा मात्र भेटिएकाले महिला वा पुरुष छुट्टयाउन पनि गाह्रो भयो, डीएनए परीक्षण गर्ने तयारी गरेका छौं ।’ मंगलबार बिहान ७ बजेतिर मानिसको खुट्टा भेटिएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार घटना गम्भिर प्रकृतिको भएकाले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फेरिन्सक विज्ञको टोली पनि बोलाइएको थियो । टोली पनि डीएनए परीक्षण गर्नुपर्ने सुझाव दिएको छ ।

‘खुट्टा जलेको अवस्थामा भएकाले पनि लिंग छुट्टयाउन गाह्रो भयो’ सिंहले अनलाइनखबरसँग भने, ‘उमेर समूहचाहिँ हड्डीको परीक्षणबाट खुल्छ कि भन्ने अपेक्षा छ ।’

‘मिसिङ केस’ केलाउँदै प्रहरी

फेरिन्सक डाक्टरहरुले खुट्टा कम्तिमा दुई साता अघिको हुनसक्ने अनुमान गरेका छन् । उनीहरुले खुट्टा वयस्कको भएको पनि बताएका छन् । त्यही आधारमा प्रहरीले हराएका व्यक्तिहरुका फाइलहरु पल्टाउन थालेको छ ।

घटनाबारे थाहा पाएपछि नातेदार भएका व्यक्तिहरु आफैं पनि प्रहरीको सम्पर्कमा जान थालेका छन् । काठमाडौंका एसएसपी सिंह भन्छन्, ‘हराएका केशहरु पनि हेरिरहेका छौं, हालसम्म कुनै सुराक हात लागिसकेको छैन ।’

प्रहरी ‘म्यानुअल्ली’ शवको अन्य भागको खोजीमा जुटेको छ । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘शंकित क्षेत्रमा खोजतलास पनि जारी राखेका छौं ।’ शवको टाउको भेटिएको भए, प्रहरीलाई सनाखत गर्न सहज हुन्थ्यो । अनुसन्धानले पनि गति लिन्थ्यो । तर शवको टुक्रा मात्र भेटिँदा प्रहरी अनुसन्धानमा जटिलता छ ।

गत वर्ष गरिएको लकडाउनको वेला पनि भक्तपुरमा टाउको नभएको महिलाको शव भेटिएको थियो । हालसम्म शवको सनाखत हुनसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?