
काठमाडौं : काठमाडौंको रत्नपार्कस्थित आकाशेपुलको भित्तामा फ्रन्टलाइनरको सम्मानमा कलाकारले बनाएको चित्र हटाएकोमा नेपाली कांग्रेसले विरोध जनाएको छ ।
कोरोनाविरुद्धको लडाईमा अग्रमोर्चामा रहेर काम गरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापनमा खटिएका व्यक्ति र सरसफाइकर्मीको सम्मानमा कलाकारले बनाएको चित्र महानगरले हटाएपछि कांग्रेसले विरोध जनाएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै महानगरसँग लिखित अनुमति लिएर फ्रन्टलाईनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउँदा प्रशंसा गर्नुको साँटो मेटाउनुले फ्रन्टलाइनरकै अपमान गरेको दावी गरे ।
‘काठमाडौको अनेक स्थानमा थुप्रिएका फोहोरले होइन त्यो चित्रले शहरको सौन्दर्यमा असर गरेको थियो ? महानगर स्वयंले चित्र निर्माण गर्ने योजना हो त के त्यो एउटा चित्रले शहरका सबै पर्खाल ओगटेको थियो ? यस्तो आवेगयुक्त र अपमानजनक ब्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित छ ?,’ प्रवक्ता शर्माले प्रश्न गरे ।
नेपाल विद्यार्थी संघका नेता डुजाङ शेर्पाको परिकल्पना कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले एक हप्ताको समय लगाएर फ्रन्टलाइनरको सम्मानमा भित्तामा चित्र बनाएका थिए । तर महानगरपालिकाले नयाँ चित्र बनाउने भन्दै कलाकारले बनाएको चित्र मेटिदिएको हो । महानगरले लाखौं रुपैयाँ खर्च गरेर काठमाडौंको सम्भयता झल्कने गरी नयाँ चित्र बनाउने जनाएको छ ।
प्रतिक्रिया 4