+

‘प्यासन सकियो, अब करियर सुरु हुन्छ’

२०७८ साउन  २१ गते १८:५१ २०७८ साउन २१ गते १८:५१
‘प्यासन सकियो, अब करियर सुरु हुन्छ’

२१ साउन काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा खेलाडी पारस खड्काले बुधबार पत्रकारहरुसँगको कुराकानीमा आफ्नो असली करियर अब शुरु हुने टिप्पणी गरे ।

करिब १९ वर्ष क्रिकेट खेलमार्फत देशको प्रतिनिधित्व गरेका र नेपाली क्रिकेटका सफल कप्तानसमेत रहेका पारसले आफ्नो खेलाडी जीवनलाई भने करियर नभनी प्यासनमात्र भने ।

हुनत पारस जम्मा ३३ वर्षका भए । उमेरका हिसाबले हेर्ने हो भने उनले अवकाश लिने बेला भएको छैन, बरु उनले भनेजस्तो करिअर शुरु गर्ने नै उमेर हो । ‘क्रिकेट खेल्दा खेल्दै करियर बन्यो तर त्यो प्यासन थियो । करियर चाहिँ अब शुरु हुन्छ’ उनको भनाइ थियो ।

सन् २००२ मा १९ वर्षमुनिको टिमदेखि नेपालको जर्सी लगाएका पारसले सन् २००४ मा सिनियर टिममा डेब्यु गरेका थिए । झण्डै दुई दशक नेपालका लागि खेल्दा उनले १० ओडीआई र ३३ टी-२० आई खेले । यी दुवै फर्म्याटमा नेपालका लागि सर्वाधिक रन बनाएका पारस ओडीआई र टी-२० आईमा शतक प्रहार गर्ने पहिलो र एक्लो नेपाली खेलाडी हुन् ।

पारसकै नेतृवमा नेपालले डिभिजन ५ को उपाधि देखि ओडीआईको मान्यतासम्म पायो । २०१४ मा नेपालले पहिलो पटक टी-२० विश्वकप उनकै कप्तानीमा खेलेको थियो । यी सामान्य उपलब्धी होइन, तर सायद पारसले अबको समयलाई करिअर भन्दै थप चुनौती सामना गर्ने र उपलब्धी हासिल गर्ने योजनामा छन् ।

हुनत उनले लुकाएका छैनन्, उनी खेलाडी करिअर छाडेर क्रिकेट व्यवस्थापनमा आउने योजनामा छन् । भन्न चाहिँ पारसले क्रिकेट एकेडेमी सञ्चालन गर्ने, क्रिकेट कमेन्ट्री गर्ने, कोचिङ गर्ने पनि आफ्नो योजना रहेको बताएका छन् । तर उनको उद्देश्य नेपाल क्रिकेट संघ (क्यान) मै आउने हो । अझ त्यस भन्दा अगाडि बढेर उनले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा पनि आउन सक्ने बताएका छन् ।

पारस आफूले धेरै सोची विचारी संन्यास घोषणा गरेको बताउँछन् । ‘दुई वर्षअघि कप्तान छाड्दा नै विचार (संन्यासको) आथ्यो अब खेल्ने कि नखेल्ने भनेर । तर टिमलाई मोरल सपोर्टका लागि बसिरहेँ’ पारसले भने, ‘धेरै पटक सोचे । सुतेँ, उठेँ अनि यो निर्णय गरेको होइन । मलाई सही समय लाग्यो अनि सन्यास घोषणा गरेँ ।

आफू भर्खर ३३ वर्ष भए पनि क्रिकेटमा आफ्नो अनुभव हेर्दा मानसिक रुपमा ५० नाघिसकेको जस्तो अनुभव हुने टिप्पणी गरे ।

पारसले आफ्नो सपना नेपाललाई टेष्ट मान्यता दिलाउने रहेको बाए । सन् २००५ मा नेपालले एक दिवसीय क्रिकेटको मन्यता पाएको भए अहिलेसम्म आफूले पनि टेष्ट खेल्न पाउने भन्दै पारस भन्छन् ‘फिल्डबाहेक बाहिरको स्ट्रक्चर सुधार्नुपर्छ र आशा छ मेरो समयमा टेष्ट नेसन हुन्छ होला ।’

तत्कालै भने पारस क्रिकेट एकेडेमी सञ्चालन गर्ने योजनामा छन् । अनि त्यसलाई विस्तार गर्दै देशभर पुर्‍याउने पनि उनी बताउँछन् ।

क्यानमा आउने पुरानै सोच

पारसले २००९ मा राष्ट्रिय टिमको कप्तान हुँदा नै (क्यान) नेतृत्वमा आउने बारे सोच बनाएको बताए ।

खेलाडीको रुपमा क्रिकेट टिमको नेतृत्व गरेपछि नै यो निर्णय आएको बताए । ‘कप्तान भएको २ वर्षपछि नै क्यानमा गएर के के गर्न सकिन्छ भनेर सोच आयो । त्यसैले पनि क्यानमा आएर केही काम गर्न सकिन्छ भन्ने लाग्यो’ उनले भने ।

क्यानमा निर्वाचित हुन अहिलेसम्म रणनीति भने बनाइनसकेको उनले बताए । ‘अहिलेकै मान्छेहरुसंग मिलेर काम गर्ने हो । मेरो टिम छैन । तर त्यसका लागि मैले एक्लै गरेर हुँदैन । सबै मिलेर अघि बढ्नुपर्छ’ पारसले भने ।

पारस खड्का
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय