+

बालबालिकालाई संस्कार सिकाउने १२ सूत्र

बाबुआमा झगडा नगर्ने

बाबुआमा विवाद गर्ने, मनपरी बोल्ने गर्नाले बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पर्ने सम्भावना ज्यादा रहन्छ । उनीहरुमा पनि त्यस्तै बानीको विकास हुनसक्छ । त्यसैले, उनीहरुको भावानात्मक विकासका लागि जस्तोसुकै परिस्थितिमा पनि  उनीहरुको अघि मिलेर बस्नु पर्छ ।

घरमै शिक्षा

शिक्षा भनेको स्कुलको पुस्तकबारे मात्र हुँदैन। घरमा पनि बाबुआमाले उनीहरुलाई गर्न हुने, नहुने, भावनात्मक सम्बन्ध र शिष्टाचारको कुरा सिकाउन सक्छन । जसमा उनीहरुका नराम्रा व्यवहारलाई हटाउने प्रयत्न गर्ने र राम्रा व्यवहारमा उत्प्रेरित गर्नुपर्छ ।

Advertisement

सकेसम्म बोर्डर्स नगर्ने

बोर्डर्स गरेका बालबालिकारमा अभिभावकप्रतिको भावनात्मक सम्बन्ध कम हुन्छ । किनकि उनीहरु बाबुआमाको समीपमा नरहँदा आफूखुसी गर्ने बानी बसिसकेको हुन्छ । अटेरी गर्ने र भनेको नमान्ने तथा हँसमुखको अभाव हुने कुरामा कुनै सन्देह छैन ।

बाल मनोविज्ञानमा ध्यान दिने

बालबालिकाको विचार, अवस्था र क्रियाकलापबारे जानकारी हासिल गर्नु अभिभावकको कर्तव्य हुन आउँछ । अभिभावकले आफ्ना बालबालिका खुसी छन् कि छैनन् उनीहरुको व्यवहार हेरेर थाहा पाउन र सहज ढंगले सही र गलत बाटो पहिल्याउन सिकाउन सकिन्छ ।

सकारात्मक सोचको विकास

बालबालिकामा देखिने नकारात्मक व्यवहारलाई न्यूनीकरण गर्नका लागि उनीहरुमा सकारात्मक सोचको विकास गर्न बाबुआमाले विशेष ध्यान दिनु आवश्यक हुन्छ । अस्वाभाविक व्यवहार देखिएमा उनीहरुलाई सम्झाउने गर्नुपर्छ ।

नजिक विद्यालय भए बस नचढाउने

बालबालिकाको विद्यालय नजिक छ भने उनीहरुलाई घरबाट विद्यालयसम्म हिंडेर जाने बानी बसाल्नुपर्छ । यसबाट उनीहरुको शरीरमा कसरत पनि हुने, पाचन प्रणाली सही हालतमा रहने र बसको लागि खर्च जोगिने हुन्छ ।

सरसफाइ

बालबालिकालाई बिहान समयमै उठ्ने बानी लगाउनुपर्छ । बिहान उठेपछि नियमित सरसफाइका लागि नियम बनाउनु उपयुक्त हुन्छ । बालबालिकाको शरीरको सरसफाइ र पोशाकको सरसफाइतिर पनि ध्यान दिनुपर्छ ।

सुरक्षित भोजन

बालबालिकाका लागि मात्र होइन समग्र परिवारकै लागि भोजन सुरक्षित, सुपाच्य, स्वास्थ्यवर्द्धक र सफा हुनुपर्छ ।शरीर चुस्त, दुरुस्त र छरितो बनाउन सानै देखि सन्तुलित खाना खुवाउनुपर्छ ।

सिर्जनशील काम सिकाउने

बालबालिकालाई आफ्नो लुगा धुन सिकाउने, क्षमताअनुसार करेसाबारी वा बगैंचामा बोटबिरुवा गोडमेल गर्न लगाउन सकिन्छ । चित्र बनाउने, संगीत बजाउने, अंक गणना गर्न लगाउने गर्नुपर्छ । साथै कविता लेख्न पनि सिकाउन सकिन्छ ।

आफैं खान सिकाउने

आमाको दूध खान छाडेपछि बच्चालाई आफैं खाना खान र पानी पिउन सिकाउनुपर्छ । यसले बच्चामा आत्मनिर्भर हुने बानी सानैबाट विकास हुन्छ ।

समाजमा घुलमिल गराउने

बालबालिकालाई समाजमा घुलमिल हुने वातावरण सिर्जना गरिएमा उनीहरुमा धेरै ज्ञान हासिल गर्ने अवसर मिल्छ । घरमा मात्र सीमित राख्ने गरेमा उनीहरु पछि एकलकाँटे स्वभावको हुने सम्भावना पनि रहन्छ ।

मोबाइलबाट टाढा राख्ने

बच्चामा मोबाइल हेर्ने बानी भयो भने बच्चा अल्छी हुने र त्यसको लत लाग्ने हुन्छ जसले उनीहरुको खुवाई, सुताई र व्यवहारमा पनि प्रभाव पार्न सक्छ बच्चालाई मोबाइलबाट टाढा राख्न आफू पनि उनीहरुको अगाडी मोबाइल चलाउनबाट बच्नु पर्छ ।