+

शिशुका लागि हानिकारक हुनसक्छ यी परम्परागत तरिका

मह चटाउने

शिशुलाई जन्मेपछि तुरुन्तै मह चटाउने गरिन्छ । महमा हुने क्लोस्ट्रिडियम बोटुलिनमले बोटुलिजम जस्तो दुर्लभ तर घातक रोग नवजात शिशुलाई लाग्न सक्छ ।  बोटुलिजमले स्नायु प्रणालीलाई लक्षित गरी श्वासप्रश्वासको समस्या निम्ताउन सक्छ ।

शिशुको निप्पल निचोर्ने

धेरैले बच्चालाई मालिस गर्दा निप्पल निचोरिदिने गर्छन्, जसबाट दूध जस्तै पदार्थ बाहिर निस्कन्छ । तर यसो गर्नबाट जोगिनुपर्छ, किनभने यसले बच्चाहरूको निप्पलमा रातोपन, दुखाइ हुने, पोल्ने र  निप्पलभित्र संक्रमण बढाउन सक्छ ।

Advertisement

गाजल लगाइदिने

नवजात शिशुको संवेदनशील आँखा धेरै गाजल लगाउँदा त्यसमा हुने रसायनको प्रयोगले बच्चालाई हानि पुर्‍याउन सक्छ । गाजल लगाउँदा आँखा रातो हुने, पोल्ने, संक्रमण हुने समस्या आउँछ । गाजलले आँसु आउने बाटो अवरुद्ध पार्ने भएकाले झन् धेरै आँसु बग्ने समस्या बढ्न सक्छ ।

पाउडर लगाइदिने

नवजात शिशुलाई नुहाइसकेपछि पाउडर लगाइदिने गरिन्छ । शिशुलाई पाउडर प्रयोग गर्दा त्यो नै छालामा टाँसिएर बस्ने र झन् फोहोरी बनाउने गर्छ । यसले गर्दा बच्चामा छालाको समस्या र पोल्ने, सास फेर्दा पाउडरको थोरै कण सासभित्र गएमा बच्चाको फोक्सोमा असर गर्ने श्वासप्रश्वास सम्बन्धी रोगको जोखिम हुनसक्छ ।

नाक वा कानमा तेल हालिदिने

कतिपयले शिशुलाई तेल लगाइदिंदा नाक, कानमा तेल हाल्दिन्छन् । कानमा तेल हाल्दा कानेगुजी फुलेर डम्म हुने र ढुसी पर्ने हुन्छ । जसकारण शिशुमा कान चिलाइरहने समस्या हुन्छ । साथै, नाक र कानमा तेल हाल्दा संक्रमण पनि हुनसक्छ ।

एकै पटक धेरै कपडा लगाइदिने

बच्चालाई बढी जाडो हुन्छ भनेर कपडा धेरै लगाइदिने र सेक्ने चलन पनि छ ।  जाडो छ भन्दैमा धेरै कपडा लगाइदियो भने बच्चालाई हिंड्न समस्या हुने, गुम्सिने र पसिना आउने लगायत समस्या हुन्छ ।