+

यसकारण देखिन्छ बालबालिकामा कब्जियत

खानपिन

पानी तथा फाइबरयुक्त खानेकुरा कम खाने, चिल्लो, मसालेदार तथा मैदाबाट बनेको खानेकुरा र गाईभैंसीको दूध धेरै खाने बच्चामा कब्जियतको समस्या धेरै हुन्छ ।

दिसा रोकेर बस्ने

बालबालिकाहरु टीभी, मोबाइल चलाउँदा या खेलिरहेको बेलामा दिसा लाग्दा पनि रोकेर बस्ने हुँदा दिसा झन् साह्रो भएर जम्छ र पछि दिसा गर्दा गाह्रो हुन्छ । यसले एक किसिमको कब्जियतको चक्रीय प्रणाली बनाउँछ र समस्या झन् जटिल हुन जान्छ ।

Advertisement

मनोभाव

कतिपय बालबालिका आफूले प्रयोग गरिरहेको ट्वाइलेट मात्र प्रयोग गर्न खोज्ने मनोभावका कारण बाहिर, स्कुलमा शौच गर्नबाट बच्न खोज्छन् । घर तथा स्कुलमा हुने तनाव पनि कब्जियतको कारण हुनसक्छ ।

कसरत नगर्नु

कम मात्र शारीरिक कसरत गर्नेमा कब्जियतको समस्या धेरै देखिन्छ । निष्क्रिय रहँदा आन्द्राको क्रिया सुस्त भई कब्जियत हुनसक्छ ।

औषधिको सेवन

नसाको औषधि, पेन किलर तथा आइरनको सेवन गर्ने बालबालिकामा पनि कब्जियतको समस्या देखिन सक्छ ।

आन्तरिक रोग

बालबालिकामा कब्जियत हुने कारणमध्ये निकै कम मात्रामा आन्तरिक रोग हुने गर्छन् । जसमा थाइराइडको समस्या, मालद्वारको नसा राम्ररी विकास नहुनु तथा मेरुदण्डको समस्या लगायत स्वास्थ्य समस्या पर्छन् ।

लक्षण

दिसा गर्दा कन्नुपर्ने, लामो समय लाग्ने, ठूलो र साह्रो आउने, दुख्ने, पेट दुख्ने/फुल्ने र भोक कम लाग्नु ।

कसरी बच्ने ?

फाइबरयुक्त खानेकुरा, पर्याप्त पानी खुवाउने, नियमित शौच गराउने, शौचालयमा कमसे कम १० मिनेट बस्नका लागि प्रोत्साहित गर्नुपर्छ । अनावश्यक दबाब भने दिनुहुँदैन ।