+

चिनीको विकल्पमा के खाने ?

विज्ञहरुका अनुसार शरीरलाई चाहिने ग्लुकोज अन्य खानेकुराबाट पनि प्राप्त हुने भएकोले चिनी नखाए पनि हुन्छ । चिनीको विकल्पमा प्राकृतिक खानेकुरा खान सकिन्छ  । जसले स्वाद मात्र होइन, स्वास्थ्य पनि कायम राख्छ ।

मह

चिनीको विकल्पमा मह खान सकिन्छ । यो गुलियो हुनुको साथै यसमा एन्टिअक्सिडेन्ट, भिटामिन र खनिज पाइन्छ । रोग प्रतिरोधक क्षमता बढाउने महले घाँटीको खसखस वा रुघाखोकीमा पनि फाइदा पुर्‍याउछ ।

Advertisement

छगडा

छगडामा पनि गुलियो स्वाद हुन्छ । यसमा फाइबर, पोटासियम, म्याग्नेसियम र भिटामिन बी ६ जस्ता पोषकतत्व पाइन्छ । खजुरले रक्तचाप नियन्त्रण गर्ने, मुटुलाई फाइदा गर्ने, पाचनमा सुधार, छालालाई पोषण दिने र मस्तिष्कको कार्यमा सुधार गर्ने गर्छ ।

नरिवलको चिनी

नरिवलको चिनी नरिवलको रसबाट बनाइन्छ । यसले रगतमा ग्लुकोजको स्तरलाई छिट्टै बढाउँदैन । यसमा आइरन, जिङ्क र क्याल्सियम जस्ता खनिज तत्व पनि पाइन्छ । यो कफी, चिया वा बेकिङमा प्रयोग गर्न सकिन्छ ।

स्टिभिया

स्टिभिया एक प्राकृतिक मिठास हो, जो स्टिभिया बोटको पातबाट निकालिन्छ । यो शून्य क्यालोरी भएकोले मधुमेह र तौल घटाउन चाहनेहरूका लागि उत्तम विकल्प हो । स्टिभियामा गुलियोपना चिनीभन्दा २०० गुणा बढी हुन्छ, त्यसैले थोरै मात्राले पनि पर्याप्त हुन्छ ।

फलफूल

फलफूल प्राकृतिक मिठासको राम्रा स्रोत हुन् । केरा, स्याउ, अङ्गुर, मेवा, आँप जस्ता फलहरूमा प्राकृतिक चिनी हुन्छ । जसले स्वाद र ऊर्जा दुवै प्रदान गर्छ । यी फलहरूलाई स्मूदी, डिजर्ट वा स्न्याक्सको रूपमा प्रयोग गर्न सकिन्छ ।

शख्खर

शख्खर, उखु वा खजुरको रसबाट बनाइने परम्परागत मिठासको स्रोत हो । यसमा आइरन, क्याल्सियम र अन्य खनिज पाइन्छ । शख्खरले रक्तअल्पता कम गर्न र पाचन सुधार गर्न मद्दत गर्छ ।

ओट्स र अन्य अन्न

चिनीको प्रयोग कम गर्न खानामा अन्नको प्रयोग बढाउन सकिन्छ । ओट्स, जौ, कोदो जस्ता अन्नमा प्राकृतिक स्वाद हुन्छ र यिनले लामो समयसम्म ऊर्जा प्रदान गर्छ । ओटमिलमा फलफूल वा मह मिसाएर स्वादिलो नास्ता बनाउन सकिन्छ ।