
मुटुको रोग मध्ये खतरनाक समस्या कार्डियक अरेस्टलाई मानिन्छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माबाट जानौं, यो कस्तो समस्या ? कतिको जोखिमपूर्ण ?

'कार्डियक अरेस्ट' के हो ?
मुटुले काम गर्न छोडेर बन्द हुनु 'कार्डियक अरेस्ट' हो । कार्डियाकले ‘मुटु’ र ‘अरेस्ट’ले बन्द हुने जनाउँछ । मुटुको काम गर्न छाडेपछि शरीरमा अक्सिजन पुग्न पाउँदैन र व्यक्ति बेहास वा अर्धचेत हुन्छ । तत्काल उपचार नभए केही समयमै मृत्यु हुनसक्छ ।

कारण
कार्डियक अरेस्टको सबै भन्दा सामान्य कारण हो कोरोनरी आर्टरी डिजीज । यसमा मुटुको रक्तनली खुम्चिएर जान्छ । जसले रक्त प्रवाह कम भई मुटुको पर्याप्त अक्सिजन पाइदैन ।

हार्ट अटयाक
जब मुटुको धमिनीमा कुनै खालको अवरोध (रगत जम्नु) हुन्छ, तब मुटुले पर्याप्त रगत पाउन सक्दैन । जसले हार्ट अटयाक हुनसक्छ । हार्ट अटयाक पछि कार्डियक अरेस्ट हुनसक्छ ।

उच्च रक्तचाप
डा. शर्माका अनुसार उच्च रक्तचापले मुटुमा दबाब पर्छ । जसले मुटुको कार्यक्षमता प्रभावित हुनसक्छ । जसले कार्डियक अरेस्टको जोखिम बढ्न सक्छ ।

छातीमा दुखाई
छातीमा अचानक दुखाई वा ऐंठन भइ मुटुमा पर्याप्त रक्त प्रवाह मिल्न सक्दैन । यो पनि कार्डियक अरेस्टको संकेत हुनसक्छ ।

वंशाणुगत कारण
परिवारमा पहिले नै मुटुको रोग कसैलाई छ भने त्यो परिवारको सदस्यमा कार्डियक अरेस्टको जोखिम बढ्न सक्छ ।

मुटुको भल्बमा समस्या
मुटुभित्र चारवटा भल्ब हुन्छन् । यी भल्ब मुटुको हरेक धड्कनसँगै खुल्ने र बन्द हुने गर्छ । यीमध्ये बायाँतर्फको तल्लोपट्टिको भल्ब खुम्चिनु वा राम्रोसँग नखोलिनुलाई एरोर्टिक स्टेनोसिस भनिन्छ । यसले पनि रगतको प्रभावलाई कम गर्ने वा बन्द गर्ने गर्न सक्छ । यदि बन्द भएमा कार्डियाक अरेस्ट हुनसक्छ ।

कार्डियक अरेस्टको लक्षण
कार्डियक अरेस्टको लक्षणमा सास लिने कठिनाई हुने, छातीमा दुखाई वा दवाव महसुस हुनु, बेहोश हुनु वा लड्नु, चक्कर आउनु, पसिना आउनु वा उल्टी हुनु, कमजोरी वा थकान अनुभव पर्छन ।