
दिनभर देखेको, भोगेकै कुरा नै पुनरावृत्तिको रूपमा सपनामा देखा पर्छ । सपनाले पछि हुने घटना–दुर्घटनाबारे समेत संकेत गर्छ । त्यसैले डरलाग्दो वा खराब सपना देखेपछि हामीमा चिन्ता पैदा गर्छ ।

खराब सपना देख्नुको कारण
खराब सपनाको सबैभन्दा सामान्य कारण गहिरो निद्रा लाग्न नसक्नु हो । निद्राको कमीले मानसिक स्वास्थ्यमा नराम्रो प्रभाव पार्छ । जसका कारण डरलाग्दो सपना देख्न सकिन्छ ।

सपनालाई व्यक्तिको शारीरिक वा मानसिक अवस्थाले प्रभाव पार्छ । अधुरो राखेको काम, तनाव, बोल्न नसकेको भाव, कुनै कुराको डर मनमा रहिरहेमा त्यो सपनाको रुपमा देखिन्छ । जस्तो कि, कहिलेकाहीं सपनामा एकदमै भिरालो ठाउँमा पुगेर भाग्न खोज्दा सकिंदैन । यो हतास वा त्रसित दिमाग भएको अवस्थामा देखिने सपना हो ।

यदि कोही व्यक्ति नकारात्मक सोच्छ वा नकारात्मक कुराहरूमा आकर्षित हुन्छ भने उसले नराम्रो सपना देख्छ । राति सुत्नुअघि डरलाग्दो फिल्म वा काल्पनिक कुरा हेर्दा पनि खराब सपना देखिन्छ ।

यदि जीवनमा कुनै अप्रिय घटना घटेको छ भने त्यसको बारेमा बारम्बार सोच्दा पनि खराब सपना देख्न सकिन्छ । स्कुल वा कामको बारेमा बढी चिन्तित व्यक्ति, जीवनमा धेरै ठूला परिवर्तन र प्रियजनको मृत्युको आघातले पनि नराम्रो सपना आउन सक्छन् ।

हरेक दिन दुःस्वप्न देखिन्छ भने यो निद्रा सम्बन्धी रोग पनि हुनसक्छ । बाइपोलर डिसअर्डर, डिप्रेसन वा सिजोफ्रेनिया जस्ता समस्याबाट ग्रसित व्यक्तिले नराम्रो सपना देख्ने सम्भावना बढी हुन्छ ।