समानुपातिककाे दुरूपयाेग

टाइमलाइन

• दिपेश शाही
बैशाख ११, २०८१

गिरिजाप्रसाद कोइराला (कांग्रेस)

तत्कालीन प्रधानमन्त्रीको हैसियतमा रहेका कोइरालाका लागि मुलुकको जुनसुकै क्षेत्रबाट उठे पनि चुनाव जित्ने सम्भावना रहन्थ्यो। नेपाली कांग्रेसका सभापति समेत रहेका उनी २०४८, २०५५ २०५६ र २०६३ सालमा गरी चारपटक नेपालको प्रधानमन्त्री भएका थिए। लोकतान्त्रिक गणतन्त्रका स्तम्भ मानिएका उनै तत्कालीन प्रम कोइराला नेपाली कांग्रेसको समानुपातिक सूचीको पहिलो नम्बरमा खसआर्य कोटाबाट बसेका थिए।

आरजु राणा (कांग्रेस)

काठमाडौंको सम्पन्न परिवारमा जन्मिएकी राणा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत थिइन्। देउवा त्यसभन्दा अघि नै मुलुकका प्रधानमन्त्री भइसकेका थिए। उनको राजनीति बाहेक गैरसरकारी संस्थाहरू, समाजसेवा र विशेषगरी महिला सशक्तीकरण जस्ता क्षेत्रहरूमा समेत बलियो पकड छ। उनले २०७४ मा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्येक्ष लड्दा पराजय भोगेकी थिइन्।

दिवाकर गोल्छा (कांग्रेस)

दिवाकर गोल्छा उद्योग क्षेत्रमा ठूलो नाम हो। गोल्छा अर्गनाइजेशनका मालिक समेत रहेका व्यापारि गोल्छा पहिलो संविधान सभामा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सभासद बनेका थिए। गोल्छाको अगुवाइमा श्रीराम सुगर मिल, हुलास वायर, हुलास खाद्यान्न जस्ता करिब २४ वटा उद्योग स्थापना भएका थिए। उनको पुर्ख्यौली पेशा नै उद्योग व्यवसाय थियो।

पूर्णबहादुर खड्का (कांग्रेस)

नेपाली कांग्रेसभित्र लामो राजनीतिक इतिहास भएका नेता खड्का सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट २०४८, २०५१, २०५६ मा तीनपटक चुनाव जितिसकेपछि समानुपातिक सांसद बनेका थिए।

प्रकाशशरण महत (कांग्रेस)

शेरबहादुर देउवा २०५८ सालमा प्रधानमन्त्री हुँदा सल्लाहकार, त्यसलगत्तै राष्ट्रिय योजना आयोगका सदस्य, त्यसपछि २०६१ जेठदेखि २०६१ माघ १९ सम्म देउवा नेतृत्वको मन्त्रिपरिषद्मा परराष्ट्र राज्यमन्त्री रहेका उनी माओवादी शान्ति प्रक्रियामा आएपछि ब्युँताइएको अन्तरिम संसदमा समेत सदस्य थिए। त्यसपछि उनी २०६४ सालमा समानुपातिक कोटामा कांग्रेसबाट सांसद बने। त्यसपछि उर्जा, परराष्ट्र र अर्थमन्त्री बनिसकेका महत अहिले पनि समानुपातिक सांसद छन्।

मिनेन्द्र रिजाल (कांग्रेस)

डा. मिनेन्द्र रिजाल नेपाली कांग्रेसका विद्वत नेतामध्ये पर्छन्। रिजालले न्यूयोर्क युनिभर्सिटीबाट स्टाटिस्टिक एण्ड अपरेसन्स रिसर्चमा मास्टर्स अफ फिलोसोफी गरेका छन् भने न्यूयोर्क युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टबाट मास्टर्स अफ बिजिनेस एड्मिन्स्ट्रेसनमा युनिभर्सिटी टप गरेका छन्। रिजालले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयमा तीन वर्ष अध्यापन समेत गरेका थिए। तर नेपालको राजनीतिमा फर्किएपछि उनले दुईपटक समानुपातिक कोटाबाट सांसद बने।

जीपछिरिङ लामा (कांग्रेस)

जीपछिरिङ लामा नेता कम ठेकदार ज्यादा हुन्। उनी सञ्चालक रहेको लामा कन्स्ट्रक्सनले ठेक्का पाएका धेरै सरकारी प्रोजेक्ट अलपत्र छन्। उनी संसदमा मात्रै होइन, कांग्रेसको आन्तरिक राजनीतिमा पनि प्रसस्तै अवसर पाउने नेतामा पर्छन्। तर नेपाली कांग्रेसबाट समानुपातिकतर्फको आदिवासी कोटाबाट सांसद बने।

ज्ञानेन्द्रबहादुर कार्की (कांग्रेस)

कांग्रेसको राजनीतिमा ज्ञानेन्द्रबहादुर कार्की जति शक्तिशाली छन् उनी त्यति नै राष्ट्रिय राजनीतिमा भूमिका पाइरहन्छन्। कुनै समय कांग्रेस नेता कृष्णप्रसाद भट्टराईका विश्वास पात्रका रूपमा चिनिने कार्कीले संसदीय राजनीतिको सुरुआत भने २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सुरू भयो।

सुजाता कोइराला (कांग्रेस)

सुजाता कोइराला पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी हुन्। उनी २०६३ सालको अन्तरिम व्यवस्थापिका संसदमा समेत सदस्य थिइन्। त्यसपछि २०६६ सालमा उपप्रधानमन्त्री सहित परराष्ट्रमन्त्री समेत बनिसकेकी थिइन्। तर उनी २०७० मा सम्पन्न दोस्रो संविधानसभा र २०७४ को आम निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनिन्।

जगदिश्वर नरसिंह केसी (कांग्रेस)

केसी नेपाली कांग्रेसको नुवाकोट जिल्लामा निरन्तर २२ वर्षसम्म सभापति भएका नेता हुन्। उनलाई नेपाली कांग्रेसले २०६४ र २०७० मा सम्पन्न दुईवटै संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनायो।

बहादुरसिंह लामा (कांग्रेस)

बहादुरसिंह लामा ठेकेदारका रूपमा बढी परिचित छन्। उनको हिमदुङ एन्ड ठोकर प्रालि नामको ठेक्का कम्पनी छ। ठूल्ठूला निर्माण कार्यको ठेक्का लिएर अलपत्र पारेको आरोप लाग्ने गरेका उनलाई कांग्रेसले चुनाव लड्न नसक्नेका लागि आरक्षित आदिवासी कोटाबाट समानुपातिक सांसद बनायो।

उमेश श्रेष्ठ (कांग्रेस)

ललिपुरको हात्तीवनमा रहेको लिटिल एन्जल्स एजुकेशन ग्रुपका संस्थापक अध्यक्ष, उच्च माध्यमिक विद्यालय एसोसिएसन हिसान र प्याब्सनका पूर्व अध्यक्ष, प्राइम कमर्सियल बैंकका पूर्व अध्यक्षसँगै मुख्य लगानीकर्ता, पाँचथर पावर कम्पनी प्रालिका अध्यक्ष, सानीगाड हाइड्रो पावर बझाङ, कालङगा हाइड्रो बझाङ, बुङ्गल हाइड्रो बझाङ, भिजन इनर्जी रामेछाप र माउन्टेन इनर्जी म्याग्दी, चितवनमा होटल सिराइचुली, होटल सेन्ट्रल पार्क, धुलिखेलमा हिमालयन दृश्य रिसोर्ट र तनहुँमा घाँसी हेल्थ रिसोर्टमा लगानी, हाउजिङ तथा रियल स्टेट व्यापारी करोडौं लगानीमा पाँचवटा निजी अस्पताल, महेन्द्रनारायण निधि मेमोरियल सामुदायिक अस्पताल काठमाडौंको ट्रस्टीजको अध्यक्ष, बालाजुमा रहेको जनमैत्री अस्पतालका अध्यक्ष। तर २०७० को दोस्रो संविधानसभा चुनावमा मनोनीत भएका श्रेष्ठलाई २०७४ सालमा पिछडिएको कोटाबाट नेपाली कांग्रेसले सांसदहुँदै मन्त्री समेत बनायो।

बालकृष्ण खांण (कांग्रेस)

२०४८ को संसदीय निर्वाचनमा रूपन्देही क्षेत्र नं. ३ बाट विजयी, २०५१ मा संसदका उम्मेदवार, २०७० को संविधान सभा निर्वाचनमा रूपन्देहीबाट निर्वाचित, शिक्षा राज्यमन्त्री र रक्षामन्त्री भइसकेका नेपाली कांग्रेसका नेता हुन् बालकृष्ण खाण। जो पछि गृहमन्त्री समेत बने। तर उनलाई नेपाली कांग्रेसले २०७४ को निर्वाचनमा समानुपातिकबाट प्रतिनिधि सभामा पठायो।

मञ्जु खांण (कांग्रेस)

कांग्रेस नेतृ मन्जु खाँण र नेता बालकृष्ण खाँण श्रीमती र श्रीमान् हुन्। २०७४ सालको चुनावमा श्रीमानले समानुपातिकको अवसर पाए भने २०७९ को चुनावमा श्रीमतीले अवसर पाइन्।

विमलेन्द्र निधी (कांग्रेस)

कार्यवाहक प्रधानमन्त्री समेत भइसकेका विमलेन्द्र निधि उपप्रधानमन्त्री, दुई पटक सामान्य प्रशासन मन्त्री, एक पटक शिक्षा तथा खेलकुद मन्त्री र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, गृहमन्त्री समेत बनिसकेका नेता हुन्। उनी नेपाली कांग्रेस पार्टीको नवनिर्वाचित उपाध्यक्ष हुन्। उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक) पार्टीका पूर्व महामन्त्री हुन् । २०५१ देखि २०६३ सम्म धनुषा ४ बाट प्रतिनिधि सभाको सदस्य भइसकेका, धनुषा ३ बाट दुई पटक संविधानसभा सदस्यमा निर्वाचित भएका निधि २०७४ सालको निर्वाचनमा राजेन्द्र महतोसँग पराजित भए। त्यसपछि उनलाई कांग्रेसले समानुपातिक सांसद बनायो।

"

विनोद चौधरी (कांग्रेस)

चर्चित नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवीको परिचय बनाएका विनोद चौधरी चौधरी ग्रुपका अध्यक्ष तथा कार्यकारी प्रमुख समेत हुन्। उनका बुबा मात्रै होइन बाजे पनि व्यापार व्यवसायमा थिए। तर उनी एमालेकाे समानुपातिक कोटाबाट मधेशी सांसद बनेका थिए। प्रतिनिधि सभा निर्वाचन, २०७४ अघि उनी काङ्ग्रेसमा प्रवेश गरेका थिए। त्यसपछि उनी कांग्रेसबाट पनि समानुपातिक सांसद बनेका थिए।

"

मोहन वैद्य (माओवादी)

मोहन वैद्य माओवादीका शीर्ष तीनजना नेतामध्ये पर्दथे। उनी त्यतिबेला संसदीय राजनीतिमा जान नहुने मत सहित पार्टीभित्र दुई लाइन संघर्ष चलाइरहेका थिए। सबै नेताहरू संसदमा जान नहुने धारणा राखिरहेका उनले गर्दा अरू नेताहरू पनि सांसद बन्न नपाइने भएपछि उनलाई खसआर्य कोटाबाट सांसद बनाइएको थियो। सांसद हुन रुचि नभएका उनले पछि कार्यकाल पूरा नहुँदै पदबाट राजीनामा समेत दिएका थिए।

रेणु दाहाल (माओवादी)

माओवादीका अध्यक्ष प्रचण्डकी जेठी छोरी रेणु दाहाल समानुपातिक कोटाबाट सांसद बनेकी थिइन्। उनले पार्टी आन्दोलनमा समेत भूमिका खेलेको भन्दै एकथरीले बचाउ गरेका थिए भने अर्को थरीले उनी जस्ता संघर्ष गरेका धेरै भए पनि प्रचण्डका कारण उनले अवसर पाएको भनेर आलोचना भएको थियो ।

सूर्यबहादुर सेन (माओवादी)

सूर्यबहादुर सेन ओली पूर्व अञ्चलाधीश थिए। २०६४ को संविधानसभामा नेकपा माओवादीले समानुपातिकतर्फबाट सभासद बनाए पनि पछि उनले माओवादी त्यागे। उनलाई माओवादीका नेताहरू प्रचण्ड र बाबुराम भट्टराईले माओवादीमा भित्र्याएका थिए। समानुपातिकबाट सांसद बन्ने भएपछि सेनले आफ्नो नेतृत्वको 'नेपाल राष्ट्रिय एकता परिषद्' लाई माओवादीमा विलय गराएका थिए।

रवीन्द्र प्रातप शाह (माओवादी)

रवीन्द्रप्रताप शाह २०६८ सालदेखि २०६९ सालसम्म नेपाल प्रहरीका प्रमुख भइसकेका व्यक्ति हुन्। २०३९ सालमा उनी प्रहरी सेवामा प्रवेश गरेका थिए। उनै शाहलाई माओवादीले प्रहरी सेवाबाट निवृत्त हुने बित्तिकै २०७० सालको संविधान सभामा समानुपातिक सांसद बनायो।

जयपुरी घर्ती (माओवादी)

माओवादी जनयुद्ध लडेकी नेतृ हुन् जयपुरी घर्ती। उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नम्बर १ बाट निर्वाचित समेत भइसकेकी थिइन्। यस्तै २०६७ सालमा महिला तथा बालबालिका मन्त्री समेत बनिसकेकी थिइन्। तर २०७४ सालमा उनी माओवादीबाट समानुपातिक सांसद बनिन्।

"

ओनसरी घर्ती (माओवादी)

माओवादी युद्धको पृष्ठभूमिबाट आएकी ओनसरी २०६४ सालको पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सदस्य बनिन्। सोही बेला उनी २०६७ सालमा झलनाथ खनाल नेतृत्वको मन्त्रिपरिषद्मा युवा तथा खेलकुद मन्त्री समेत भएकी थिइन्। त्यसपछि दोस्रो संविधान सभामा उनले रोल्पा २ नम्बर क्षेत्रवाट प्रत्यक्षबाट विजयी हासिल गरिन् र २०७० देखि २०७२ सालसम्म संविधानसभा उपाध्यक्ष भइन्। २०७२ सालमा संविधान घोषणा भएपछिको संसदमा उनी रूपान्तरित व्यवस्थापिका संसदमा पहिलो महिला सभामुख हुने अवसर समेत प्राप्त गरिन्। तर २०७४ सालमा उनलाई माओवादीबाट पुन समानुपातिक सांसद बन्ने अवसर प्राप्त भयो।

"

यशोदा गुरुङ सेवदी (माओवादी)

यशोदा सुवेदी गुरूङले २०६४ सालको पहिलो संविधान सभामा समानुपातिक सांसद हुने अवसर प्राप्त गरिन् भने २०७४ सालमा पनि उनका लागि यो अवसर प्राप्त भयो। उनले पहिलो संविधान सभामा व्यवस्थापिका विधायन समितिमा सभापति हुने अवसर समेत प्राप्त गरेकी थिइन्।

अमृता थापा (माओवादी)

माओवादी शान्ति प्रक्रियामा आए लगत्तै गठित अन्तरिम व्यवस्थापिका संसदमा सदस्य रहिसकेकी उनी पहिलो संविधानसभामा निर्वाचित भएकी थिइन्। माओवादी विभाजन भएपछि मोहन वैद्य किरणको पार्टीमा लागेकी उनी पछि माओवादीमा नै फर्किएकी थिइन्। थापा पहिलो संविधानसभाको प्राकृतिक स्रोत तथा आर्थिक अधिकार बाँडफाँट समितिकी सभापति समेत थिइन्। उनी २०७४ सालको प्रतिनिधि सभामा समानुपातिक सांसद बनिन्।

पूर्णाकुमारी सुवेदी (माओवादी)

पूर्णाकुमारी सुवेदी २०६४ सालको पहिलो संविधानसभामा बाँके निर्वाचन क्षेत्र नम्बर ४ बाट सदस्यमा निर्वाचित भएकी थिइन्। उनले पहिलो संविधानसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति हुने अवसर समेत पाइन्। तर २०७४ सालको प्रतिनिधिसभामा माओवादीबाट उनी समानुपातिक सांसद बनिन्।

सत्या पहाडी (माओवादी)

माओवादी शान्ति प्रक्रियामा आएपछिको अन्तरिम व्यवस्थापिका सदस्य बनेकी पहाडी पहिलो संविधान सभामा नै समानुपातिक सांसद बन्ने अवसर पाइन्। त्यतिबेला २०६७ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्री समेत बनेकी थिइन्। उनी २०७४ सालमा पुन: समानुपातिक सां‌सद बनिन्।

ल्हारक्याल लामा (माओवादी)

२०४६ सालपछिको सत्ता राजनीतिमा नेपाली कांग्रेससँग नजिकिएका ल्हारक्याल शेरबहादुर देउवा २०५८ पुसमा प्रधानमन्त्री रहेका वेला तत्कालीन ‘गुम्बा व्यवस्था तथा विकास समिति’ को अध्यक्षमा नियुक्त भएका थिए। २०६४ सालमा लामा नेकपा (एमाले)मा प्रवेश गरेर समानुपातिक सांसद बनेका थिए। २०७० मंसीरमा दोस्रो संविधान सभाको निर्वाचनमा उनले पार्टी परिवर्तन गरेर माओवादीबाट समानुपातिक सांसद बनेका थिए।

जुलीकुमारी महतो (एमाले)

जुलीकुमारी महतो नेकपा एमालेबाट २०६४ सालको पहिलो संविधान सभामा समानुपातिक सदस्य बनिन्। त्यसपछि उनी २०७४ सालको निर्वाचनमा पुन: एमालेबाटै समानुपातिक सांसद बन्ने अवसर प्राप्त गरिन्। उनी केही केपी ओली नेतृत्वको सरकारमा मन्त्री समेत बनिन्।

सुरेन्द्र पाण्डे (एमाले)

सुरेन्द्र पाण्डे २०५४ देखि २०६० सम्म राष्ट्रिय सभाको सदस्य भएका थिए। त्यसबीचमा २०५६ सालदेखि त उनले राष्ट्रिय सभामा प्रमुख सचेतकको जिम्मेवारी समेत सम्हालेका थिए। पार्टीभित्र त्यतिबेला बलियो नेताका रूपमा चिनिने पाण्डे २०६४ सालको पहिलो सं‌विधान सभामा समानुपातिक कोटाबाट सांसद बनेका थिए।

शंकर पोखरेल (एमाले)

पार्टीको राजनीतिमा प्रभावशाली नेताको छवि बनाएका शंकर पोखरेल २०५१ सालमा तत्कालीन दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा चुनावमा निर्वाचित भइसकेका थिए। बौद्धिक नेताका रूपमा चिनिने पोखरेल पहिलो संविधान सभामा भने समानुपातिक प्रणालीबाट सांसद बने।

विजयकुमार पौडेल (एमाले)

एमालेको राजनीति गरेका मोदनाथ प्रश्रितका छोरा हुन् डा. विजयकुमार पौडेल। तत्कालीन रुपन्देही क्षेत्र नम्बर ३ बाट २०५१ सालको चुनावमा प्रश्रित सांसद थिए। प्रश्रितले सक्रिय राजनीति गर्न छाडेपछि एमालेको केन्द्रीय राजनीतिमा आएका पौडेल समानुपातिक सांसद बनेका थिए।

भीम रावल (एमाले)

एमालेभित्र र राष्ट्रिय राजनीतिमा नै सुदूरपश्चिमका प्रभावशाली नेता भनेर चिनिने पात्र हुन् भीम रावल। उनी २०५१ सालको मध्यावधि निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। तर उनले २०६४ सालमा समानुपातिक प्रणालीबाट संविधान सभा सदस्य बन्ने बाटो रोजेका थिए।

राज्यलक्ष्मी गोल्छा (एमाले)

व्यापारिक घराना गोल्छा परिवारकी राज्यलक्ष्मी गोल्छा एमालेबाट समानुपातिक कोटामा सभासद् नियुक्त भएकी थिइन्। उनी आफैंले सांसद बन्नका लागि एमालेका विभिन्न तहका नेतालाई आर्थिक सहयोग गरेको दाबी समेत गरेकी थिइन्।

इच्छाराज तामाङ (एमाले)

घरजग्गा व्यवसायी इच्छाराज तामाङ सम्पन्न व्यक्ति हुन्। सिभिल सहकारीका अध्यक्ष रहेका तामाङ सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको रकम ठगी गरेको आरोप र सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका थिए। उनको कम्पनी सिभिल होम्स नेपालमा अपार्टमेन्ट तथा हाउजिङ निर्माणमा प्रख्यात छ। उनलाई नेकपा एमालेले २०७० सालमा समानुपातिक सांसद बनाएको थियो।

महेन्द्र शेरचन (एमाले)

सञ्‍चार उद्यमी शेरचन नेकपा एमालेबाट संविधानसभा सदस्य बनेका थिए। लामो समयदेखि प्रकाशन हुँदै आएको राजधानी दैनिकका संस्थापक अध्यक्ष रहेका शेरचन विज्ञापन बोर्डका सदस्य, मिडिया सोसाइटीका अध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघको संस्थापक अध्यक्ष हुन्। उनैलाई नेकपा एमालेले समानुपातिक कोटाबाट सांसद बनाएको थियो।

अष्टलक्ष्मी शाक्य बोहरा (एमाले)

एमालेकी उपल्लो तहकी राजनीतिज्ञ शाक्य २०५६ सालमा प्रतिनिधि सभा सदस्य भइसकेकी थिइन्। दुईपटक मन्त्री समेत भइसकेकी उनी २०७० सालको दोस्रो संविधान सभा चुनावमा एमालेबाट समानुपातिक सांसद भएकी थिइन्। त्यसपछि गत २०७४ सालमा भएको प्रदेश सभामा काठमाडौं निर्वाचन क्षेत्र ८ (ख) बाट निर्वाचित भएकी थिइन्।

अमृत कुमार बोहरा (एमाले)

कुनै समय एमालेका प्रभावशाली नेताहरूमा गनिने बोहराको लामो राजनीतिक इतिहास छ। उनी र एमाले नेतृ तथा पूर्वमन्त्री अष्टलक्ष्मी शाक्य श्रीमान् श्रीमती हुन्। उनीहरू दुवै एकैपटक दोस्रो संविधान सभामा समानुपातिक सांसद बनेका थिए।

विद्यादेवी भण्डारी (एमाले)

एमाले नेता मदन भण्डारीको निधनपछि २०५० सालको उपनिर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. १ बाट विद्यादेवी भण्डारी निर्वाचित भएकी थिइन्। त्यसपछि २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचन समेत गरी उनी काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रबाट तीन पटक लगातार प्रतिनिधि सभा सदस्यमा विजयी भइसकेकी थिइन्। साथै, २०५४ सालमा वातावरण तथा जनसंख्या मन्त्री र लोकतन्त्र स्थापनापछि पहिलो संविधान सभाका बेला २०६६ सालमा उनी रक्षा मन्त्री समेत बनिन्। तर दोस्रो संविधान सभामा भने उनी समानुपातिक कोटाबाट एमालेकी सांसद बनिन्। र पछि नेपालकै पहिलो महिला राष्ट्रपति समेत बनिन्।

सुुजिता शाक्य (एमाले)

विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय रहेकी शाक्य एमालेको महत्वपूर्ण जिम्मेवारीमा काम गरिसकेकी नेतृ हुन्। एमाले नेता शंकर पोखरेल र उनी श्रीमान् श्रीमती हुन्। उनी एमालेबाट २०७४ सालमा समानुपातिक सांसद बनेकी थिइन्।

तुलसी थापा (एमाले)

तुलसी थापा राजनीतिभन्दा खेलकुद क्षेत्रमा परिचित नाम हो। पूर्व उपप्रधानमन्त्री वामदेव गौतम र थापा श्रीमान् श्रीमती हुन्। उनी एमालेबाट २०७४ सालमा समानुपातिक सांसद बनेकी थिइन्।

रघुजी पन्त (एमाले)

एमालेमा बौद्धिक छवि बनाएका पन्त २०५१ र २०५६ सालमा ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट सांसद भइसकेका थिए। साथै, २०६१ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी श्रम तथा यातायात व्यवस्था मन्त्री समेत बनेका थिए। तर पहिलो संविधान सभा २०६४ मा भने उनी सोही क्षेत्रबाट पराजित भए। तर २०७९ सालको प्रतिनिधि सभामा उनी समानुपातिक कोटाबाट सांसद बने।

देवीप्रकाश भट्टचन (एमाले)

बैंकिङ क्षेत्रको प्रभावशाली घराना प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचन एमाले समानुपातिक सूचीबाट २०७९ सालको निर्वाचनमा सांसद बनेका हुन्। त्यसअघि उनी नेपाली कांग्रेसको सूचीमा समेत थिए। नेपाली कांग्रेसको संगठन विभाग समेत रहेका भट्टचन चर्चित व्यवसायी हुन्। उनै भट्टचनलाई आदिवासी जनजाति कोटाबाट एमालेले समानुपातिक सांसद बनाएको हो।

नैनकला थापा (एमाले)

नैनकला थापाको राजनीतिक पृष्ठभूमि माओवादी हो। एमाले र माओवादीबीच मिलर बनेको नेकपाको एकता भंग भएपछि उनी एमालेमा लागेकी थिइन्। सोही बेला केपी ओली नेतृत्वको सरकारमा उनी सूचना तथा सञ्चार मन्त्री समेत भएकी थिइन्। पूर्व गृहमन्त्री रामबहादुर थापाकी पत्नी समेत रहेकी उनी २०७९ को निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधि सभा सांसद बनिन्।

मोतिलाल दुगड (एमाले)

व्यापारिक घराना दुगड समूहका मालिक हुन् मोतिलाल दुगड। दुगड स्पाइसेस एन्ड फुड प्रोडक्ट्स प्रालिको उत्पादन विदेशमा पनि निर्यात हुन्छन्। नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका व्यावसायिक घरानाका दुगडले नवनेपाल निर्माण पार्टी समेत खोलेका थिए। २०६४ सालको संविधान सभा निर्वाचनमा नेपाल सद्भावना पार्टी आनन्दी देवीबाट समानुपातिक सांसद बनेका उनी ०७४ को चुनावअघि एमालेमा पुगेर समानुपातिक सांसद पद सुरक्षित गरेका थिए। त्यसपछि उनी उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख आर्थिक सल्लाहकार बने।

एकनाथ ढकाल (एमाले)

एकनाथ ढकाल अर्को त्यस्तो नाम हो जसले लोकतन्त्र आएयताका सबै निर्वाचनमा निरन्तर समानुपातिक सांसदको पद ओगटिरहेका छन्। नेपाल परिवार दलबाट राजनीति गर्ने उनको पार्टीले हरेक चुनावमा जित्ने समानुपातिक कोटामा उनी मात्रै त्यस्ता व्यक्ति हुन् जो सधैं सूचीको पहिलो नम्बरमा रहन्छन्। २०६४ सालको पहिलो संविधान सभा चुनावदेखि समानुपातिक सांसद बनेका उनी २०७९ को निर्वाचनमा नेकपा एमालेको समानुपातिक सूचीमा बसेरै भए पनि संसदमा पुगेका छन्।

प्रेमबहादुर सिंह (एमाले)

समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपालका अध्यक्ष प्रेमबहादुर सिंह पहिले नेपाल कम्युनिस्ट पार्टी एमालेमा बसेर राजनीति गर्थे। उनी एमालेबाट २०५६ सालको निर्वाचनमा कालिकोट–१ मा विजयी भएका थिए। पछि राजतन्त्रलाई समर्थन गरेको भन्दै सिंह एमालेबाट निष्कासनमा परेपछि उनले आफ्नै पार्टी खोलेर निरन्तर समानुपातिक सांसद पद ओगटिरहेका छन्। तर हाल उनी पुन: एमालमै प्रवेश गरेर समानुपातिक सांसद बनेका छन्।

तिलकबहादुर रावल (म.ज.फोरम)

नेपाल राष्ट्र बैंकको एघारौं गभर्नर भइसकेका व्यक्ति हुन् डा. तिलकबहादुर रावल। सन् २००० देखि २००५ सम्मको कार्यकालका बीचमा भ्रष्टाचार मुद्दा लागेर उनी बर्खास्त समेत भए। तर पछि उनी पुनर्वहाली भएका थिए। तर २०६४ सालमा उनलाई तत्कालीन मधेशी जनअधिकार फोरमले समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनाएको थियो।

बाबुराम पोखरेल (म.ज.फोरम)

निजी स्कुल सञ्चालक बाबुराम पोखरेल मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट दोस्रो संविधान सभामा समानुपातिक सदस्य बनेका थिए।

लोकेन्द्रबहादुर चन्द (राप्रपा)

पञ्चायतकालीन समय २०४० देखि २०६० सालसम्म चारपटक प्रधानमन्त्री भइसकेका लोकेन्द्रबहादुर चन्दले पनि पहिलो संविधान सभामा समानुपातिक कोटाबाट सदस्य बन्ने लोभ देखाए। उनी २०४०, २०४६, २०५३ र २०५८ सालमा गरी चारपटक नेपालको प्रधानमन्त्री भइसकेका थिए।

प्रतिभा राणा (राप्रपा)

राप्रपाको राजनीति गर्ने राणा समानुपातिकतर्फको खसआर्य कोटाबाट संविधान सभा सदस्य भएकी थिइन्। उनी काङ्ग्रेस नेतृ आरजु राणा देउवाकी आमा र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी सासू हुन्। उनलाई देउवा प्रधानमन्त्री भएकै बेलामा जापानको राजदूत समेत नियुक्त गरिएको थियो।

सूर्यबहादुर थापा (राप्रपा)

सूर्यबहादुर थापा आफ्नो जीवनमा पटक–पटक गरी पाँच पटक नेपालको प्रधानमन्त्री भएका थिए। थापा २०२२, २०३५, २०३८, २०५४ र २०६९ सालमा गरी पाँच पटक मुलुकको प्रधानमन्त्री बनेका थिए। तर २०७० सालको दोस्रो संविधान सभामा उनी उत्पीडित वर्गलाई मूलप्रवाहीकरण गर्ने भनेर छुट्याएको समानुपातिक कोटाबाट सांसद बने।

प्रशुपतिशमशेर जबरा (राप्रपा)

पशुपतिशमशेर राणा पञ्चायतदेखि बहुदलसम्म गरी पाँचपटक मन्त्री भइसकेका थिए। २०३५ सालमा पहिलोपटक पर्यटन मन्त्री भएका राणा त्यसपछि पञ्चायत तथा स्थानीय विकास मन्त्री, जलस्रोत तथा सञ्चार मन्त्री, अर्थ मन्त्री र परराष्ट्र मन्त्री समेत भइसकेका नेता हुन्। तर उनै जबरा पछिल्लो आम निर्वाचनमा समानुपातिक बाटोबाट संसद् छिरेका छन्।

प्रकाशचन्द्र लोहनी (राप्रपा)

नेपालका गन्यमान्य राजनीतिज्ञ र अर्थशास्त्रीमध्येमा पर्छन् डा. प्रकाशचन्द्र लोहनी। लोहनीले अमेरिकामा फुलब्राइट कार्यक्रम अन्तर्गत इन्डियाना युनिभर्सिटीबाट एम.बी.ए. र यु.सी.एल.ए.बाट विद्यावारिधि गरेका छन्। उनी पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय रहे। तर पहिलो संविधान सभामा भने उनी पिछडिएको वर्गका लागि भनेर छुट्याइएको समानुपातिक कोटाबाट राष्ट्रिय जनशक्ति पार्टीका सांसद बने।

सीपी मैनाली (माले)

नेपालको वामपन्थी आन्दोलनमा लामो विरासत बनाएका नेता हुन् सीपी मैनाली। एमालेको राजनीतिमा रहुन्जेलसम्म उनी निकै प्रभावशाली नेता मानिन्थे। उनको पार्टीले पहिलो संविधान सभा निर्वाचन २०६४ मा एक सीट पनि जित्न सकेन। तर समानुपातिकतर्फ भने ९ सिट जितेको थियो। त्यसमा पनि मैनालीले आफू र श्रीमती नीलम खड्कालाई राखेर संविधान सभा छिरेका थिए।

नीलम केसी खड्का (माले)

नीलम केसी खड्का नेकपा मालेकी नेतृ हुन्। तर उनी संविधान सभामा समानुपातिक सदस्य बन्नुका पछाडि भने उनको पारिवारिक पृष्ठभूमि मुख्य हो। नेपालको वामपन्थी आन्दोलनमा लामो विरासत बनाएका नेता सीपी मैनाली उनका श्रीमान् हुन्। पहिलो संविधान सभा निर्वाचन २०६४ मा दम्पती नै पार्टीले प्राप्त गरेको समानुपातिक ९ सिटबाट संविधान सभामा छिरेका थिए।

अनिल झा (लाेसपा)

अनिल झा मधेश राजनीतिमा बलियो मानिने सद्भावना पार्टीको २०५६ मा सह–महासचिव थिए। उनी पछि सोही पार्टीको अध्यक्ष समेत भए। नेपाल आयल निगमको कार्यकारी निर्देशक समेत रहिसकेका उनी गजेन्द्रनारायण सिंह मेमोरियल फाउण्डेशन, डिम्पल अनिल फाउण्डेशन लगायत दर्जन बढी संस्था संस्थापक समेत रहेका उनी अन्तर्राष्ट्रिय संस्थामा पनि आबद्ध छन्। उनी २०६४ सालको समानुपातिकतर्फबाट मधेशी कोटामा संविधान सभामा सदस्य बनेका थिए। उनी अहिले लाेकतान्त्रिक समाजवादी पार्टीमा छन्।

लक्ष्मणलाल कर्ण (लाेसपा)

सद्भावना परिषद्को सचिव भएर २०४० सालदेखि राजनीति थालेका कर्ण २०४७ सालमा सद्भावना पार्टीको केन्द्रीय सदस्य र २०४८ सालमा उपाध्यक्ष भइसकेका थिए। मधेशका उत्पीडितहरूको पक्षमा आवाज उठाउँदै आएका उनी पहिलो र दोस्रो दुईवटै संविधान सभामा समानुपातिक कोटाबाट सदस्य बनेका थिए। उनी अहिले लाेकतान्त्रिक समाजवादी पार्टीमा छन्।

गायत्री साह (जनता दल)

गायत्री साह समानुपातिक कोटाबाट सांसद बनिन्। त्यसका पछाडि उनको राजनीतिक योगदान र लक्षित वर्ग र समुदायमा पर्ने उनको मापदण्ड भन्दा पनि उनका बुबा हरिचरण साह जनता दलको अध्यक्ष हुनुले भूमिका खेलेको थियो।

हरिचरण साह (जनता दल)

पहिलो संविधान सभा निर्वाचनमा छोरी गायत्री साहलाई समानुपातिक कोटाबाट सांसद बनाएका उनले दोस्रो कार्यकालमा आफैं अघि सरे। हरिचरण साह आफैं जनता दलका अध्यक्ष हुन्।

चित्रबहादुर केसी (जनमोर्चा)

राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी सादगी कम्युनिस्ट भनेर चिनिन्छन्। उनी २०४८ को प्रतिनिधि सभा निर्वाचनमा बाग्लुङबाट पराजित भए। त्यसपछि २०५६ को चुनावमा विजयी भए। २०६४ मा सम्पन्न पहिलो संविधान सभा चुनाव लडेका उनी दोस्रो संविधान सभा २०७० मा समानुपातिक सांसद बने।

दुर्गा पौडेल (जनमोर्चा)

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेल २०७० को दोस्रो संविधान सभामा समानुपातिक सभासद बनिन्। अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष पौडेल दुवै समानुपातिक सभासद बनेका थिए। पछि २०७४ सालमा वाम गठबन्धनबाट उनी प्रतिनिधि सभामा निर्वाचित पनि भइन्। उनी त्यसअघि नै २०५६ को आम निर्वाचनमा कपिलवस्तु र २०६४ को पहिलो संविधान सभा निर्वाचनमा काठमाडौं–१ बाट उम्मेदवार थिइन्। मशालका नेता मोहनविक्रम सिंह र उनी श्रीमान्–श्रीमती हुन्।

डोलप्रसाद अर्याल (रास्वपा)

डोलप्रसाद अर्याल रेमिटेन्स, सेक्युरिटी सर्भिस, क्याट्रिङ, होटल, ट्राभल, सहकारी र कन्सल्ट्यान्सी लगायत विभिन्न पेशा व्यवसायमा आवद्ध छन्। उनी निर्वाचनअघि खुलेको रास्वपाबाट समानुपातिक सांसद बनेका हुन्।

चन्दा कार्की (रास्वपा)

निजी क्षेत्रबाट मेडिकल कलेज सञ्चालक रहेकी कार्की गत निर्वाचनअघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएर समानुपातिक सांसद बनेकी हुन्।


तथ्यांक पत्रकारिता केन्द्रकाे सहकार्यमा