आरपी सुवेदी
११ असोज, नेपालगन्ज । ‘चिना हराएको मान्छे’का लेखक तथा चर्चित हास्य कलाकार हरिवंश आचार्य हराएको चिना खोज्दै नेपालगन्ज पुग्नुभएको छ । हास्यव्यंग्य, गायन र कलाकारितामा पोख्त आर्चाय पुस्तक लेखनमा आएपछि पहिलोपटक नेपालगन्जमा आफैले लेखेको पुस्तकको समीक्षा तथा पाठकको प्रतिक्रिया बुझ्न नेपालगञ्ज पुग्नुभएको हो । नेपालगन्जमा सञ्चालित बुक प्लानेटले शुक्रबार आचार्यलाई यहाँ निम्त्याएको हो । यसक्रममा पुस्तक समीक्षा एवं सम्मान कार्यक्रममा बोल्दै लेखक आचार्यले आफ्नै पुस्तकका बारेमा भन्नुभयो- ‘यो पुस्तकमा साहित्यका रुपमा होइन, पत्नी मिराको वियोगमा आफैलाई बिर्सेका बेलामा साथीभाइको सुझावले आफ्ना भोगाइलाई पस्केको मात्र हुँ । तर, सबैले मनपराइदिनुभएकोमा आभारी छु ।’
‘मैले सरल र सबैले बुझ्ने भाषामा आफ्ना जीवनका भोगाइलाई कत्ति पनि नलुकाई र नढाँटी व्यक्त गरेको छु ।’ उहाँले भन्नुभयो । उहाँले मदनकृष्ण श्रेष्ठसँगको ३४ वर्ष लामो सहकार्यले आफुलाई यो उचाइमा पुर्याएको बताउनुभयो । चिना हराएको मान्छे लेखेपछि आफुमा छुट्टै उर्जा थपिएको र सबै तिरबाट राम्रो प्रतिक्रिया एवं सुझाव पाएको भन्दै उहाँले सन्तोष व्यक्त गर्नुभयो ।चिना हराएको मान्छेको समीक्षात्मक टिप्पणी गर्दै समालोचक तथा सहित्यकार हरिप्रसाद तिमिल्सेनाले पुस्तकमा भाषागत त्रुटी देखिएको सिलसिलेवार प्रस्तुती हुन नसकेको तथा केही ठाउँमा अनादरणीय शब्दको प्रयोग गरिएकाले त्यस्ता शब्दहरुलाई पुनः प्रकाशन गर्दा सम्पादन गर्न सुझाव दिनुभयो ।
बुक प्लानेट नेपालगन्जले आयोजना गरेको सो कार्यक्रममा कलाकार लेखक आचार्य र उहाँकी धर्मपत्नी रमीला आचार्यलाई विद्यार्थी, स्रष्टा, नागरिक समाज, शिक्षक, बुद्धिजीवी, खेलकर्मी, पत्रकारलगायतले सार्वजनिकरुपमा सम्मान गरेका थिए । नागरिक सम्मानमा आचार्यसँगै स्कुले जीवन बिताएका बाँकेका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओली, भेरी अञ्चल प्रहरी प्रमुख मधुप्रसाद पुडासैनी, बाँके प्रहरी प्रमुख भुपालकुमार भण्डारी, नेपाल क्रिकेट संघका उपाध्यक्ष बिनोद मैनाली, होटल व्यावसायी महासंघका बरिष्ठ उपाध्यक्ष भास्कर काफ्ले लगायतको उपस्थिति थियो ।
बुक प्लानेटका अध्यक्ष मुकुट ढकालले पछिल्लो समयमा पुस्तक पढ्ने बानीको विकास नभएकाले पाठकहरुलाई सो बानी बसाल्न र स्रष्टाको हौसला बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । बुक प्लानेट नेपालगन्जले ‘चिना हराएको मान्छे’ लेखकको अटोग्राफसहित किन्न पाउने व्यवस्था मिलाएको थियो । यसैबीच सोही कार्यक्रममा आर्चायले नेपालगन्जबाट प्रकाशित हुँदै आएको दैनिक नेपालगन्जको अनलाइनसंस्करण नेपालगन्ज डट न्यूजको पनि शुभारम्भ गर्नुभयो ।
प्रतिक्रिया 4