
२९ भदौ, काठमाडौं । तराईलाई नेपालबाट टुक्र्याउनुपर्ने मागसहित मधेसमा अभियान सञ्चालन गरिरहेका डा. सीके राउतलाई तत्काल रिहा गर्न एमाओवादी नेता रामकुमार शर्माले माग गरेका छन् ।
माओवादीसमर्थित मधेसी मोर्चाका प्रमुखसमेत रहेका एमाओवादी नेता शर्माले आइतबार विज्ञप्ति जारी गर्दै डा. राउतको तत्काल रिहाइको माग गरेका हुन् ।
देश टुक्राउन पाउनुपर्ने अधिकारको माग गर्दै हिँडेका डा. राउतलाई शनिबार मोरङको रंगेलीमा उत्तेजक भाषण गरिरहेका बेला प्रहरीले पक्राउ गरेको हो । उनले सामाजिक सदभाव खल्बल्याउन खोजेको प्रहरीको आरोप छ ।
डा. राउतको गिरफ्तारीको विरोधमा एमाओवादी समर्थित मधेसी मोर्चाले पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनसमेत आयोजना गरेको छ ।
‘बोल्न पाइन्छ भन्दैमा देशै टुक्र्याउनुपर्छ भन्दै हिँड्न पाइन्छ र ?’ अनलाइनखबरको प्रश्नमा एमाओवादी नेता शर्माले भने-‘यो उहाँको व्यक्तिगत स्वतन्त्रताको कुरा भयो, डा. राउतले हिंसा मच्चाउने वा राज्य विप्लव गर्ने काम त केही गर्नुभएको थिएन । बोल्ने स्वतन्त्रतालाई मुखमा ताल्चा लगाउन मिल्दैन ।’

डा. राउतको रिहाइको माग गर्दै एमाओवादी नेता शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ-‘वाक स्वतन्त्रताको नारा दिने सरकारले डा. सिके राउतको अवैधानिक गिरफ्तारी गरेको प्रति घोर भत्सर्ना गर्दै डा. राउतको तत्काल रिहाइको माग गर्दछौं ।’
कांग्रेस एमाले नै विखण्डनकारी ?
एमाओवादी नेता शर्माको विज्ञप्तिमा भनिएको छ,-‘शान्ति र संविधान निर्माण प्रक्रिया संक्रमणकालीन अवस्थामा रहेकाबेला बोल्नसम्म नदिने कांग्रेस, एमाले सरकार नै विखण्डनकारी प्रमाणित भएको ठहर गर्दै नागरिकको मौलिक अधिकार रक्षाका निमित्त सबैलाई आग्रह गर्दछौं ।’
मधेसी मोर्चाका अध्यक्ष शर्माले भनेका छन्-‘यद्यपि हाम्रो संगठन नयाँ राष्ट्रिय एकीकरणद्वारा संघीय नेपालभित्र स्वायत्त मधेस स्थापना गर्ने पक्षमा रहेको पनि तथ्य स्पष्ट गर्न चाहन्छौं ।
जेपी गुप्ताको आपत्ति
एमाओवादी नेता शर्माले जस्तै तराई मधेस राष्ट्रिय अभियानका नेता जेपी गुप्ताले पनि राउतको गिरफ्तारीको विरोध गरेका छन् ।
‘यो गिरफ्तारीले मधेसमा अझै पञ्चायती व्यवस्था नै कायम रहेको पुष्टि गरेको छ’ गुप्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ,-‘यो घटना विगत केही महिनादेखि मधेसमा सरकारबाट निरन्तर भैरहेको गैरन्यायिक हत्या र राजनीति प्रेरित दमनकै पछिल्लो रुप हो ।’

सिके राउतको अभियान असान्दर्भिक
तर, देश टुक्राउनुपर्छ भन्ने सिके राउतको भनाइ गलत रहेको गुप्ताले स्पष्ट पारेका छन् ।
पूर्वमन्त्री गुप्ताको वक्तव्यमा डा. राउतको आलोचना गर्दै भनिएको छ- ‘नेपालको मधेसलाई एक अलग स्वतन्त्र राष्ट्र बनाउने सीके राउतले थालेको कार्य एक अनावश्यक, असान्दर्भिक कार्य हुन् । यसको समर्थन गर्न सकिँदैन ।’
गुप्ताले भनेका छन्- ‘मधेसको हक अधिकारको सवालमा नेपालको बिखण्डनको प्रस्ताव गर्नु र सशस्त्र कारवाहीको माध्यमलाई अपनाउनु उचित होइन । इतिहासको बिभिन्न अनुभवहरुका आधारमा यस प्रकारको अतिवादी कार्यले दमनकारी राज्यलाई नै सहयोग पुर्याएको कुरामा सीके राउतले बिशेष ध्यान दिनु जरुरी छ ।’
प्रतिक्रिया 4