+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares

बागलुङमा बसपार्क बनाउन करोडौँको जग्गा दान

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २३ गते १०:३०

२३ पुस, बागलुङ । बागलुङ नगरपालिका-११ का स्थानीयले करोडौं रुपैयाँ पर्ने जग्गा बसपार्क निर्माणका लागि निःशुल्क दिएका छन् ।

बाह्र वर्षदेखि अवरुद्ध बनेको बसपार्क निर्माणलाई गति दिन साढे सत्र रोपनी जग्गा स्थानीयले नगरपालिकालाई हस्तान्तरण गरेका हुन् । जग्गा व्यवस्थापन तथा विकास समिति र बागलुङ नगरपालिकाबीच मंगलबार सो विषयमा सम्झौता भएको छ ।

बस्ती विकास र बसपार्क बनाउन स्थानीयको ५९ रोपनी जग्गा समितिको नाममा छ । जसमध्ये साढे सत्र रोपनी जग्गा ‘आधुनिक तथा बृहत्’ बागलुङ बसपार्क निर्माणका लागि नगरपालिकालाई दिने निर्णय भएको समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारीले जानकारी दिए ।

‘बाह्र वर्षदेखि बसपार्क बनाउने योजना अलपत्र परेको थियो, जग्गाधनीले ठूलो योगदान गर्नुभएको छ’ समितिका अध्यक्ष राजभण्डारीले भने, ‘आवधि क्षेत्रमा रहेको करोडौं मूल्यको जग्गा राज्यलाई दिन तयार भएका छौं, यो हामी सबैको लागि सुखद हो ।’

समितिले नगरपालिकालाई दिइएको जग्गाको मूल्य करिब ७० करोड रुपैयाँ पर्ने आँकलन गरिएको छ ।

५० प्रतिशत जग्गाधनीले फिर्ता पाउने

समितिको नाममा रहेको ५९ रोपनी जग्गामध्ये ५० प्रतिशत भने जग्गाधनीले फिर्ता पाउने अध्यक्ष राजभण्डारीले जानकारी दिए । पचास प्रतिशतमध्ये नगरपालिकालाई दिएर बचेको १२ रोपनीमा बस्ती नक्साङ्कन, बाटो, ढल, नाली, पानी, बिजुली जस्ता पूर्वाधार निर्माण गरिनेछ । बाँकी रहेको जग्गा ‘प्लटिङ’ गरी जग्गाधनीलाई फिर्ता दिइने समितिले जनाएको छ ।

जग्गा आएको ६ महिनाभित्रै बसपार्क निर्माणको गुरुयोजना निर्माण गरेर अघि बढ्ने नगरपालिकाका कार्यकारी अधिकृत जगन्नाथ लामिछानेले बताए । उनका अनुसार आगामी चार वर्षभित्रै बसपार्क निर्माणको सबै काम पूरा हुनेछ ।

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको समेत केन्द्र रहेको बागलुङमा व्यवस्थित बसपार्कको आवश्यकता खड्किँदै आएको थियो । अहिले बागलुङ नगरपालिका-३ चिप्पलेटीमा अव्यवस्थित रुपमा अस्थायी बसपार्क सञ्चालित छ । २३ वर्षअघि यातायात सञ्जालसँग जोडिएको बागलुङमा अझै सुविधायुक्त बसपार्क बन्न सकेको छैन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?