+
+
Shares

‘गोर्खाकी छोरी’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ३० गते १८:१०

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा चर्चित ‘द गोर्खाज डटर’को नेपाली अनुवाद ‘गोर्खाकी छोरी’ बुधबारदेखि नेपाली बजारमा आएको छ ।

Gorkha-ki-ChhoriCover-Image-लेखक प्रज्वल पराजुलीको यो पहिलो पुस्तक यसअघि आयरल्याण्ड, अमेरिका, क्यानाडा, दक्षिण अफ्रिका, केन्या, अष्ट्रेलिया, न्यूजिल्याण्ड, सिंगापुर, मलेशिया, हंगकंग, भारतीय उपमहाद्वीप र फिलिपिन्सबाट समेत प्रकाशित भइसकेको छ ।

पुस्तकका पात्रहरुले बोल्ने भाषा अर्थात् नेपालीमा यो पुस्तक पब्लिकेशन नेपालयले प्रकाशन गरेको हो । २ सय ५६ पृष्ठको पुस्तकलाई उपभोक्ताका निम्ति ३ सय ७५ रुपैयाँ मूल्य राखिएको पब्लिकेशन नेपालयका प्रमुख कार्यकारी सैजन मास्के बताउँछिन् ।

सन् २०१३ मा बेलायतको क्वर्कस प्रकाशनले प्रकाशित गरेपछि यो त्यसै वर्ष प्रसिद्ध ‘डिलन थोमस’ पुरस्कारका निम्ति मनोनयनमा समेत परेको थियो ।

भुटान, सिक्किम, दार्जिलिङ, न्यूयोर्क र काठमाडौंको भावभूमिमा घुमेको यसका आठवटा बेग्लाबेग्लै कथाले नेपालीभाषी समाजका समकालीन भोगाइहरु वर्णन गर्छन् ।

‘प्रस्तुती राम्रो हुने हो भने जहाँसुकैको लेखकले जुनसुकै विषयमा लेखेपनि विश्वभभरका पाठकले मनपराएर पढ्छन्,’ यो पुस्तकले पाएको सफलताबारे वर्णन गर्दै प्रज्वल भन्छन्, ‘नेपाली परिवेशमा आधारित मेरो यो कथा संग्रहलाई अफ्रिकामा  समेत उपहार दिनका निम्ति एकैजनाले ५० वटासम्म किनेर हस्ताक्षर गराउन ल्याएका थिए ।’

Prajwal Parajuli,Author of the Gorkha ki Chori
प्रज्वल पराजुली

अक्सफोर्ड विश्वविद्यालय पढेका र अंग्रेजी भाषामा कलम चलाउने प्रज्वलले हाम्रै वरपरका कथालाई आजसम्म वर्णन गरिएकोभन्दा बेग्लै शैली अपनाएर प्रस्तुत गरेका छन् । यो पहिलो पुस्तककै आधारमा पश्चिमा विश्लेषकहरुले उनलाई दक्षिण एशियाका नयाँ साहित्यिक ताराको उपाधि दिइसकेका छन् ।

‘राजधानीका सबैजसो पुस्तक पसल र मुलुकका प्रमुख सहरहरुमा हालसम्म यो उपलब्ध भइसकेको छ,’ नेपालय पब्लिकेशनका प्रमुख कार्यकारी मास्के भन्छिन्, ‘पाठकको चाहना अनुसार तत्काल उपलब्ध गराउन सक्ने हिसाबले यसपटक पब्लिकेशन नेपालय स्वयंले यसको मुख्य वितरणको व्यवस्था मिलाएको छ ।’

अंग्रेजी पुस्तक ‘गोर्खाज डटर’ आएकै बेला स्थानिय पाठकहरुमा देखिएको उत्साह र यसको नेपाली अनुवाद प्रतिको जिज्ञासाका आधारमा यो कथा संग्रहप्रति वितरकहरु उत्साहित रहेको मास्के बताउँछिन् ।

पब्लिकेशन नेपालयले यसअघि फ्रान्सलगायत थुप्रै मुलुकबाट प्रकाशित आनी छोइङ डोल्माको जीवनी ‘सिंगिङ फर पि|mडम’लाई नेपालबाट छाप्नुको साथै यसको अनुवादका रुपमा ‘फूलको आँखामा’समेत प्रकाशन गरिसकेको छ ।

‘गोर्खाज डटर’लाई जस्तै ‘गोर्खाकी छोरी’लाई पनि पाठकहरुले मनपराइदिने विश्वास लिएको लेखक पराजुली बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?