चिरञ्जीवी पौडेल
१९ पुस, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरिकता प्रसंग फेरि एकपटक चर्चामा आएको छ । एमालेको भातृ संगठन युवा संघ नेपालले गृहमन्त्री शक्ति बस्नेतलाई शनिबार ज्ञापनपत्र नै बुझाएर महतोको नेपाली नागरिकता नक्कली रहेको दावीका साथ छानविन माग गर्यो ।
नेपालमा करिब-करिब २५ वर्षदेखि राजनीति गरिरहेका र पटक-पटक मन्त्रीसमेत भएका महतोको नागरिकता विवादमा तानिएको यो पहिलोपटक भने होइन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत हात हालेर छोडेको विषय हो यो । ०६८ सालमा अख्तियारले गृह मन्त्रालयलाई महतोको नागरिकता सम्वन्धमा पत्राचार गरेको थियो ।
अख्तियारको पत्र आएपछि गृहमन्त्रालयले सर्लाही जिल्ला प्रशासन कार्यालयसित राजेन्द्र महतोको नागरिकता सम्बन्धी विवरण माग्दै पत्रसमेत लेखेको थियो, जतिबेला महतो बहालवाला मन्त्री थिए ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारीले ०६९, जेठ २९ मा गृह मन्त्रालय, नागरिकता तथा हातहतियार शाखा, सिंहदरवारलाई पत्रको जवाफ पठाए । प्रजिअले महतोको नागरिकतासम्वन्धी छानविन गर्नका लागि हाल कुनै अभिलेख फेला नपरेको र मन्त्रिपरिषदको सदस्यलाई सिडिओ कार्यालयमा बोलाई छानविन गर्न बाधा परेको जवाफ दिएका थिए ।
हेर्नुहोस् सर्लाही जिल्ला प्रशासनको पत्र
शनिबार गृहमन्त्री शक्ति बस्नेतलाई ज्ञापनपत्र बुझाएको युवा संघले ०६८ सालमा पनि महतोको नागरिकताका विषयमा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । सोही साल महतोको नागरिकताबारे अख्तियारमा समेत उजुरी परेको थियो ।
‘उहाँका धेरैजसो आफन्तहरु भारतमै छन्,’ महतोलाई नजिकबाट चिन्ने एक सर्लाहीवासीले भने, ‘महतोका बुबाले चाहिँ नेपालमै बसेर उन्नति गर्नुभयो र यतैको नागरिकता लिनुभयो ।’
युवा संघका अध्यक्ष राजीव पहारीले महतोको नागरिकता नक्कली भएको ठोकुवा गर्दै यसलाई रद्द गरेर कानूनबमोजिम कारवाही गनुपर्ने बताए । ‘नेपालको सामाजिक सदभाव बिथोल्न र आन्दोलन भड्काउन उद्यत भएका महतो नेपाली नागरिक नै होइनन्,’ पहारीले अनलाइनखबरसित भने, ‘झूटो विवरणका आधारमा नेपाली नागरिकता हत्याएका व्यक्तिले मधेस आन्दोलनको नेतृत्व गर्नु हास्यास्पद छ ।’
सन् २०१० देखि १३ सम्म लाखौंको संख्यामा भारतीयहरुलाई नागरिकता बाँडिएको भन्दै पहारीले त्यसको पनि छानविन हुनुपर्ने बताए ।
छानविन गर्न चुनौति
सदभावना पार्टीका केन्द्रीय सदस्य एवं उपेन्द्र महतोका नातेदार उपेन्द्र महतोलेे नागरिकताका विषयमा छानविन गर्न सरकारलाई चुनौति दिएका छन् ।
उनले राजेन्द्र महतोसित वैधानिक प्रमाणका आधारमा लिएको जन्मसिद्ध नागरिकता रहेको दाबी गरेका छन् ।
युवा संघलाई ईंगित गर्दै उपेन्द्रले भने, ‘आफ्नै पार्टीको सरकार भएका बेला किन सडकमा नारा लगाएर हिँड्नुपर्यो ? खुरुक्क छानविन गरे भइहाल्यो नि ।’
मधेसका अन्य नेताहरु सरकारसित झुक्न लाग्दा पनि महतो नझुकेकाले नागरिकताको बहानामा उनलाई निशाना बनाइएको तर्क उपेन्द्रको छ ।
गृहले के गर्ला ?
नागरिकता छानविनका लागि दबाव परे पनि गृहमन्त्रालयले तत्काल छानविन गर्ने सम्भावना न्यून देखिएको छ । नागरिकता छानविन गर्दा सरकार र मधेसी मोर्चासितको वार्ता प्रक्रियामा व्यवधान आउने चिन्ताका कारण मन्त्रालय हच्किएको हो ।
युवा संघको ज्ञापनपत्र बुझ्ने क्रममा गृहमन्त्री बस्नेतले घुमाउरो जवाफ दिएका थिए । उनले नागरिकता विवादमा सरकार गम्भीर रहेको भन्दै यसको समाधानको उपयुक्त विधि सरकारले छनोट गर्ने बताएका थिए ।
सीतामढीमा पुख्र्यौली घर र ससुराली
जानकारहरुका अनुसार राजेन्द्र महतोका बुबा खोभारी सुडी भारतीय नागरिक थिए (सुँडीहरुले आजकाल महतो वा साह लेख्ने गरेका छन्, यो जातिको बसोबास नेपालमा समेत छ ) ।
सर्लाहीको सदरमुकाम मलंगवासित सीमा जोडिएको भारतीय जिल्ला सीतामढीको कोहवरवा गाउँमा महतोको घर अहिले पनि छ । यो गाउँ नेपाल-भारत सीमाबाट १५ किलोमिटर दुरीमा पर्छ । सो घरमा अहिले महतोका काकापट्टीका सन्तानहरु बस्छन् । उनका तीन दाजुभाइ भने अहिले नेपालमै छन् ।
महतोका पिता खोभारी व्यापार गर्न ०२० सालतिर नेपाल आएका हुन् । सर्लाहीको बयलवासमा उनी धान-चामलको व्यापार गर्थे । भारतमा छँदा गतिलो बन्दोबस्त नभएका खोभारी नेपालमा व्यापार गरेर आर्थिक अवस्था उकास्न सफल भए । त्यसपछि सर्लाहीको ब्रम्हपुरी गाविसमा घर बनाएर यतै बस्न थाले ।
महतोको ससुराली पनि भारतमै हो । कोहबरवासँगै जोडिएको मरिया भन्ने गाउँमा बस्ने नागेश्वर महता र दौलतियादेवी महतोकी छोरी शैलकुमारी देवीलाई राजेन्द्रले बिहे गरेका हुन् । शैलकुमारी हाल समानुपातिकबाट संविधानसभा सदस्य छिन् ।
महतोसित विवाह गरेपछि शैलकुमारीले वैवाहिक अंगीकृत नागरिकता लिएकी थिइन् । शैलकुमारी ०४७ सालबाट राजनीतिमा लागेको र एसएसलसीसम्म अध्ययन गरेको संविधानसभा सदस्यको परिचयात्मक किताबमा लेखिएको छ । उनी मधेसी महिला समाज र सुडी समाजकी केन्द्रीय सदस्यसमेत हुन् । महतो दम्पत्तिका एक छोरा र एक छोरी छन् ।
कसरी लिए नागरिकता ?
जानकारहरुका अनुसार राजेन्द्र महतोले ०२७/०२८ को बीचमा नेपाली नागरिकता लिएका हुन् । महतोका पिता नेपाल आएको केही वर्षमै बाबुछोराले नागरिकता लिएको देखिन्छ । उनलाई नागरिकता दिलाउन सर्लाहीका तत्कालीन जिल्ला विकास समितिका सभापति अमरबहादुर थापाको भूमिका थियो ।
छोराले पहिले र बुबाले पछि नागरिकता लिएको दाबी गर्नेहरु पनि छन् । तर, यसको कुनै प्रमाण छैन । सर्लाही जिल्ला सदरमुकाममा माओवादीले हमला गरेपछि महतो परिवारकोजस्तै धेरैको नागरिकताको प्रमाण नष्ट भइसकेको छ ।
महतो स्वयम् भने आफूसित जन्मसिद्ध नागरिकता रहेको दाबी गर्छन् । जब कि उनले नागरिकता लिएको समयमा जन्मसिद्द नागरिकता दिने व्यवस्था नै खारेज गरिएको थियो । २०१९ सालअघि नेपालमा आएर लामो समय बसोबास गरेका आधारमा जन्मसिद्ध नागरिकता दिने व्यवस्था भए पनि २०१९ सालपछि बंशजको नागरिकता मात्रै कायम गरियो ।
ठेकेदारदेखि मन्त्रीसम्म
राजेन्द्र महतो ०२१ सालतिर पढ्ने सिलसिलामा काठमाडौं आए । ताहचल क्याम्पसमा बसेर पढ्दा उनको आर्थिक स्थिति सामान्य थियो । उनी पढाइसँगै सानातिना व्यापारहरु पनि गर्थे । केही समय गार्मेन्ट व्यवसायमा हात हालेका उनले बिस्तारै ठेकेदारीको काम सुरु गरे । घरमा रंग लगाउनेदेखि विभिन्न कार्यालयहरुमा स्टेशनरी सामानहरु सप्लाई गर्नेसम्मका काम उनले गरे ।
पछि त्रिभुवन विमानस्थलको फोहोर उठाउने ठेक्का हात पारेपछि महतोले राम्रै पैसा कमाएको उनीनिकट स्रोत बताउँछ ।
सदभावना पार्टीका प्रवक्ता उपेन्द्र महतोका अनुसार महतो राजनीतिमा लागेको ०४६ सालपछि हो ।
प्रजातन्त्रका लागि भएको आन्दोलनमा उनी संलग्न थिएनन् । व्यापारकै क्रममा मधेसवादी नेता गजेन्द्र नारायण सिंहसित सम्वन्ध भएपछि उनी राजनीतितिर ढल्किएका हुन् । ढीलो गरी राजनीति सुरु गरे पनि उनी पटक-पटक मन्त्री बन्ने भाग्यमानी नेता हुन् ।
पुराना र अनुभवी मधेसी नेताहरुलाई पछि पार्दै महतो अहिलेसम्म चारपटक मन्त्री बनिसकेका छन् । पछिल्लो संविधानसभा चुनावमा भने उनी गृहजिल्ला सर्लाहीबाट हारे । तर, आफूले हारे पनि उनले मधेसका सहिद परिवारको साटो समानुपतिकबाट आफ्नै श्रीमतीलाई सभासद बनाए ।
अब कहिल्यै मन्त्री नबन्ने ?
राजेन्द्र महतोले केही समयअघि मात्रै ‘अब कहिल्यै मन्त्री नबन्ने’ घोषणा गरेका छन् । विगतमा पटक-पटक मन्त्री बनेका महतोले काठमाडौंको भीमसेनगोलामा घर किनेका छन् । मधेसलाई काठमाडौंले हेपेको बताउने महतोले काठमाडौंमै करोडौंको आलिसान महल ठड्याएका छन्, जसको स्रोत प्रष्ट छैन ।
महतोले संविधानसभा चुनाव हारेलगत्तै सर्लाहीमा ७० लाख रुपैयाँमा लजसहितको घर किनेको बताइन्छ । तर, त्यो घर उनको नाममा छैन ।
प्रतिक्रिया 4