पछिल्लो समय चर्चामा रहेका गायक प्रमोद खरेल केबल गायनमा मात्रै सिमित छैनन् । सामाजिक गतिविधीमा पनि उनको सक्रियता उत्तिकै छ । भूकम्प गएपछि काभ्रेमा ५१ वटा घर बनाएका प्रमोदकै प्रयाशमा पछिल्लो पटक दोलखाको सरस्वती प्राविले नयाँ रुप पाएको छ ।
आफ्नो प्रयासमा बनेको विद्यालयमा साना केटाकेटी हाँसी-खुसी रमाएको देख्दा औधी रमाइलो लागेको छ उनलाई । विद्यालयको चारकोठे पक्की भवन कसरि निर्माण संभव भयो, उनकै शब्दमा:
नेपालमा भूकम्प जाँदा म अमेरिकामा थिएँ । भूकम्पले नेपालको धेरै सम्पदा नष्ट भएको, ब्यक्तिका घर, विद्यालय भवन र अरु भौतिक सम्पदा नष्ट भएको खबरले नरमाइलो बनायो ।
भूकम्पमा परेर मृत्यु हुनेहरुको संख्या हरेक दिन थपिँदो थियो भने घाइतेहरु बढेको समाचार पनि आइरहेको थियो । नेपालीले भोगेको दुःख सम्झेपछि अमेरिका बसिरहन मन लागेन र कन्सर्ट छाडेर नेपाल आएँ ।
नेपालको स्थिती भयाबह थियो । काठमाडौ त हेर्दामा ठिकै जस्तो थियो । तर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट लगायतका जिल्लाको स्थिती भयाबह थियो ।
गाउँमा घर भएकाहरु प्रायको घर भत्केकाले प्रारम्भिक आवश्यकता घर नै हो जस्तो लाग्यो र हामी केहि साथीहरु मिलेर काभ्रेमा घर बनाउन थाल्यौं । हामीले काभ्रेमा ५१ वटा घर बनाएका थियौं ।
मेरा गीतकार मित्र सुदिप रेग्मीले दोलखाको विकट क्षेत्रमा एउटा विद्यालय भवन भत्केको सुनाउनु भयो । ७०/८० वालवालिका अध्ययन गर्ने दोलखाको सुन्दरावस्तिमा रहेको सरस्वती प्राथमिक विद्यालयको स्थिती निकै टिठ लाग्दो रहेछ ।
हामी विद्यालय पुग्दा साना भाई बहिनीहरु टहरोमा बसेर कखरा सिक्दै थिए । चर्को घाममा जस्ताको तापले विद्यार्थीहरु उकुस मुकुस थिए भने, पानी पर्दा त्यस्तै विजोक स्थिती थियो ।
त्यो दृष्य देखिसकेपछि जसरि पनि विद्यालय बनाउनैपर्छ भन्ने लाग्यो । विद्यालयका शिक्षक र स्थानिय अभिभावकसँग कुरा गर्यौं । हामीले विद्यालय बनाईदिने खबरले उहाँहरु खुसी हुनु भयो ।
सुदिप जी र म विद्यालय बनाउन तम्सियौं । त्यहि वेला बेल्जियमवाट कार्यक्रमको निम्तो आयो । म बेल्जियम गएँ । बेल्जियममै ‘पासापुच’ भन्ने संस्था छ । उहाँहरुले नेपालका भूकम्प पीडितलाई सहयोग गर्न भनेर विभिन्न कार्यक्रम गरिसक्नु भएको रहेछ । मैले पनि विद्यालय भवन निर्माणमा सहयोग गर्न आग्रह गरेँ । पासपुचमा आबद्ध चीजकुमार श्रेष्ठले १० लाख दिन्छु भन्नु भयो । उहाँले १० लाख दिने कुरा गरेपछि आँट आयो ।
विद्यालय बनाउनका लागि शिक्षा मन्त्रालयवाट अनुमति लिनुपर्ने रहेछ । हामी शिक्षा मन्त्रालय गयौं । त्यहाँका इन्जिनीयरहरुले विद्यालयका लागि कस्तो भवन कति कोठाको सबै मापदण्ड बनाउनु भएको रहेछ । मापदण्ड अनुसार बनाउँदा २० लाख लाग्ने भयो ।
तर, हामीसँग त्यति पैसा थिएन । मैले इन्जिनीयरहरुसँग कुरा गरेँ । ‘हामी तपाईले भनेको मापदण्ड अनुसार घर बनाउछौं तर, पैसा क्रमशः जम्मा गर्छौ ।’ इन्जिनीयर हाम्रो कुरामा सहमत हुनुभयो ।
त्यहि वेला प्रधानमन्त्री कप फुटवल भयो । विश्वप्रकाश शर्मा दाईसँग भेट भयो । हामीले यस्तो काम गर्दै छौ सहयोग गर्नुपर्यो भनेँ । उहाँले हाम्रो मेची अभियान भन्ने संस्था छ त्यसले कार्यक्रम गरेर दिन्छ । गाउन आउनुपर्छ भन्नु्भयो ।
जितु नेपाल सँगै हुनुहुन्थ्यो । मैले भैहाल्छ नि म गाउँछु जीतुले हँसाउछन् भने, जीतुजीले पनि भैहाल्छ म आउछु भने । मेची अभियानले तीन लाख दियो ।
विद्यालय मोटरवाटोवाट २० मिनेट टाढा थियो, सबै सामान बोकेर लैजानुपर्ने । हामीले विद्यालय निर्माण सुरु गर्दै गर्दा मुलुकमा नाकाबन्दी भयो । कतिपय सामान बीरगञ्जमै रोकियो भने कति सामान सर्टेज भयो । त्यति हुँदा हुँदै पनि हामीले हिम्मत हारेनौं काम गरिरह्यौं । यहि विचमा सहयोगी हातहरु बढिरहे । दोलखाकै समाजसेवी सूर्यप्रसाद रेग्मीले १ लाख दिनु भयो भने अरु पनि सहयोग आयो ।
अन्तत हाम्रो प्रयाशमा सरस्वती प्राथमिक विद्यालयको नयाँ भवन बन्यो । अहिले त्यहि भवनमा साना केटाकेटीहरु हाँसी हाँसी स्कुल गएको देख्दा निकै रमाईलो लाग्छ । यहाँ थामी बालबालिका धेरै अध्ययन गर्छन् ।
प्रतिक्रिया 4