३० असार, काठमाडौं । पछिल्लो समय कृषि कर्ममा व्यस्त नायिका बिनिता बरालले खेती-किसानीकै कथावस्तुमा आधारित भएर लेखेको ‘जुइनो’ उपन्यास पाठकमाझ ल्याएकी छिन् ।
किसान धान रोपाइँमा व्यस्त भइरहेको असारे याम पारेर पहिलो पुस्तक सार्वजनिक गरेकी ‘चपली हाइट’ नायिकाले बुक लन्च कार्यक्रममा अधिकांश समय कृषि कर्मकै कुरा गरिन् ।
‘मैले सुरुमा आफूले अर्गानिक कृषि फार्म चलाउँदाको अनुभव समेटेर पुस्तक तयार पारेकी थिएँ,’ पुस्तक लेख्दाको अनुभव सुनाउँदै उनले भनिन्, ‘तर, साथीभाइलाई देखाउँदा यस्तो कृषि गाइड बुक युवा पुस्ताले कहाँ पढ्छन् र भन्ने कुरा आयो । पछि कृषिकै विषयलाई प्रेमकथाको जुइनोले बाँधेर उपन्यास बनाएँ ।’
प्रश्नोत्तर रूपमा सञ्चालन गरिएको कार्यक्रममा बिनितालाई अर्की नायिका ऋचा शर्माले साथ दिएकी थिइन् । पर्यटन बोर्डको खुला डबलीमा सिमसिमे झरी दर्किदै गर्दा सहभागीहरूले दुई नायिकाको कृषि र फिल्मसम्बन्धी गफ चाख मानेर सुनेका थिए ।
बिनिताले ६ महिनामा उपन्यासको ड्राफ्ट लेखेर सरसल्लाह र सम्पादन प्रक्रियापछि डेढ वर्षमा उपन्यास तयार पारेको बताइन् । त्यस क्रममा उपन्यासको प्राविधिक ज्ञान लिन धेरै पुस्तक पढ्नुपरेको उनको भनाइ थियो ।
उपन्यासमा कथा नामकी पात्रले कृषि क्षेत्रमा काम गर्दा सजाएको सपना मूल रूपमा उठाएको र पाठकलाई रोचक होस् भनेर कथा र अशोकबीचको प्रेम सम्बन्ध पनि देखाइएको उनले जानकारी दिइन् । उनले भनिन्, ‘उपन्यासको सुरुदेखि नै प्रेमका मूल फुटे, खोला भएर बगे र समुद्रमा मिसिए । यसैले प्रेमकथाको लागि पनि यो उपन्यासलाई युवा पुस्ताले विशेष रुचाउने अपेक्षा गरेकी छु ।’
बिनिताले कथा पात्रमा आफ्नै किसान जिन्दगीको छाया रहे पनि खासमा त्यो नाम आफ्नी छोरीको लागि साँचेको खुलासा गर्दा उपस्थित शुभेच्छुक र पाठकहरूले रमाइलो मानेका थिए ।
आफूले फिल्म क्षेत्रमा काम गर्दाको प्रभाव पनि उपन्यासमा मिसिएको भन्दै उनले पुस्तक पढिरहँदा पाठकको दिमागमा फिल्मकै जस्तो चित्र आउने बताइन् ।
ऋचाले आफूले दुई बसाइमै उपन्यास पढिसिध्याएको बताउँदै जुइनो प्रेमकथाको उत्कृष्ट उपन्यास भएको दाबी गरिन् । उपन्यास फाइन प्रिन्टले प्रकाशनमा ल्याएको हो ।
प्रतिक्रिया 4