३ कात्तिक, काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गतको महाअभियोग सिफारिस समितिमा चौथो ठूलो दल राप्रपा नेपालको पनि नाम थपिएको छ ।
समितिमा आफ्नो प्रतिनिधिलाई नराखे प्रधानमन्त्रीले बुधबार संसदलाई गर्ने सम्बोधनमा अवरोध गर्ने चेतावनी राप्रपा नेपालले दिएको थियो ।
समितिमा को-को ?
प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्नुअघि सभामुखले बोलाएको सचेतकहरुको बैठकले राप्रपा नेपालका लागि एक प्रतिनिधि छुट्टाएको हो । नेपाली कांग्रेस र नेकपा एमालेका चार-चार तथा नेकपा माओवादी केन्द्रका दुईजना प्रतिनिधि समितिमा रहनेछन् ।
नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, दिपक कुइँकेल, फरमुल्लाह मन्सुर र कुमारी लक्ष्मी राई रहेका छन् । एमालेले केशव बडाल, सुशीला नेपाल, पार्वत गुरुङ र रेवतीरमण भण्डारीलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय गरिसकेको छ ।
यसैगरी माओवादी केन्द्रबाट अमनलाल मोदी र रामनारायण बिडारी सदस्य रहने छन् ।
यसैगरी राप्रपा नेपालबाट प्रमुख सचेतक दीलनाथ गिरी समितिमा रहने छन् ।
संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारिस समिति गठन सम्बन्धी प्रस्ताव आजको संसद बैठकमा पेश गर्ने कार्यसूची तय गरेको छ ।
बैठकमा सभामुख घर्तीले समितिका सदस्यहरुको नाम सार्बजनिक गर्नेछिन् ।
प्रतिक्रिया 4