१८ भदौ, काठमाडौं । नेपालको उत्पादनशील क्षेत्रमा अहिलेसम्मकै धेरै लगानी भित्रिएको छ । सिमेन्ट उत्पादनको क्षेत्रमा चीनबाट ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी भित्रिएको हो ।
आइतबार लगानी बोर्ड र चीनको होङ्सी शिवम् सिमेन्ट प्रालिबीच आइतबार परियोजना लगानी सम्झौता भएको छ । सम्झौतामा नेपाल सरकारका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट कम्पनीका निर्देशक/महाप्रवन्धक लाई वेईपेङ्ले हस्ताक्षर गरेका छन् ।
यो सम्झौतासँगै होङ्सीलाई नेपालमा चीनबाट लगानी ल्याउने बाटो खुलेको छ । यो सम्झौताअनुसार परियोजनाको फाइनान्सीयल क्लोजर कम्पनीले समयमै गर्नुपर्नेछ । यसका लागि ३६ महिनाको समय दिइएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।
सम्झौताअनुसार कम्पनीले नवलपरासी जिल्लामा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्नेछ । कारखानाको लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा रहेको छ ।
चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट लिमिटेडको लगानी रहेको यस परियोजनामा नेपालका विभिन्न व्यवसायीक समूह रहेेको शिवम् होल्डिङ्को पनि लगानी छ ।
उक्त कम्पनीले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्नेछ । कम्पनीले सन् २०१८ भित्र उत्पादन शुरु गर्नेछ र पछि उत्पादन वृद्धि गरी दैनिक १२ हजार टन पुर्याउने अधिकारीले बताए ।
सम्झौता सम्बन्धी हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि चिनियाँ राजदूत यू होङको समेत उपस्थिति थियो ।
परियोजना लगानी सम्झौता नेपाल सरकार र कम्पनीबीचको एक करार भएको लगानी बोर्डले जानकारी दिएकेा छ ।
सम्झौतामा दुबै पक्षका अधिकार र दायित्वलाई स्पष्ट पारिएको लगानी बोर्डका सिईओ अधिकारीले जानकारी दिएका छन् । उनले भने,’यो नेपालको उत्पादनशील उद्योगमा आएको अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी हो ।’
सम्झौता कार्यक्रममा बोल्दै अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले यो लगानी सम्झौताबाट नेपालको व्यवस्ाायीक वातावरणबारे सकारात्मक सन्देश सम्प्रेषण भएको बताएका छन् ।
उनले परियोजनाको कार्यान्वयनको क्रममा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग समयमै उपलव्ध्ा गराउने प्रतिवद्धता समेत व्यक्त गरे ।
प्रतिक्रिया 4