+
+
Shares

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन भएको खुसियालीमा ललितपुरमा जलपान

प्रतिष्ठान छिटो सञ्चालन गर्ने नेताहरुको सामूहिक प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २६ गते १९:४९

२६ असोज, काठमाडौं । दाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान छिटो सञ्चालन गर्ने सामूहिक प्रतिवद्धता जनाएका छन् । साथै उनीहरुले दाङको विकास गर्न राजनीतिक पूर्वाग्रहविना एकजुट भएर लाग्ने प्रतिवद्धता समेत जनाएका छन् ।

दाङको घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गर्ने सम्वन्धी विधेयक हालै संसदबाट पारित भएको छ । त्यसको खुशियालीमा बिहीबार राप्ती अञ्चलका विशेषगरी दाङका नेताहरुले स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलप्रति आभार व्यक्त गर्न ललितपुरको पुल्चोकमा जलपान कार्यक्रम आयोजना गरे ।

कार्यक्रमको संयोजन गरेका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा स्थापना हुनु पाँच नम्बर प्रदेशका जनताकै लागि गौरव र खुशीको कुरा भएको बताए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि देश तीव्र गतिमा आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने भन्दै उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान त्यसको सुरुआत भएको बताए ।

दाङबाट आगामी चुनाव लड्ने तयारीमा रहेका महराले आग्रह-पूर्वाग्रह विना राप्तीका नेताहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि आफूलाई अहिलेसम्मकै धेरै सन्तुष्टि मिलेको भन्दै मोडेल संस्थाको रुपमा सञ्चालन गर्न सुझाव दिए । उनले अब अझै बढी चुनौति थपिएको भन्दै मिलेर सामना गर्न नेताहरुलाई सुझाव दिए ।

अन्तरिम सरकारको पालामा आफू स्वास्थ्यमन्त्री हुँदा ७.२ प्रतिशत बजेट छुट्याएको स्मरण गर्दै उनले अहिले घटाउँदै चार प्रतिशतमा कायम गरिएकोमा असन्तुष्टि जनाए । उनले कम्तिमा ८ प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्याइए न्यूनतम आवश्यकता सम्वोधन गर्न सकिने धारणा राखे ।

कार्यक्रममा माओवादी केन्द्रकी प्रमुख सचेतक रेखा शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गर्न सबै राजनीतिक दलका नेताहरुले खेलेको जस्तै भूमिका अब दाङलाई पाँच नम्बर प्रदेशको राजधानी बनाउन पनि भूमिका खेल्नुपर्ने बताइन् । उनले आफूसमेत सदस्य रहेको कार्यदलले दाङलाई पाँच नम्बर प्रदेशको राजधानी बनाउन सिफारिस गरेको भन्दै अब त्यसलाई मन्त्रिपरिषद बैठकबाट पारित गर्न सामूहिक पहलको खाँचो औंल्याइन् ।

कार्यक्रममा सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत, पूर्वमन्त्री दलजित श्रीपाइली, कांग्रेस सांसद राजु खनाल, नयाँ शक्तिकी सांसद गंगा चौधरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनका लागि स्वास्थ्य मन्त्रालयबाट तोकिएका सहजकर्ता एवम् माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतम लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?