+
+

चितवनको चुनावः वाम र लोकतान्त्रिक गठवन्धनवीच यस्तो छ हिसाब

सुवास पण्डित सुवास पण्डित
२०७४ कात्तिक २१ गते १५:५७

२१, कात्तिक, चितवन । भरतपुरमा भएको एक आन्तरिक छलफलमा माओवादी अध्यक्ष प्रचण्डले भनेका थिए, ‘दक्षिणपन्थी, प्रतिक्रियावादी तागत र शक्तिहरुले चितवन निर्वाचन क्षेत्र नं ३ र झापा निर्वाचन क्षेत्र नं ५ मा आफ्ना स्याटेलाइट फर्काएका छन् ।’

दक्षिणपन्थी र प्रतिक्रियावादी मात्रै होइन, सबैजसो नेपालीहरुले चितवन र झापालाई विषेश चासोका साथ लिएका छन् । अझै विषेश गरी झापा ५ भन्दा पनि चितवन ३ चर्चाको केन्द्रमा छ ।

कुनै बेला राष्ट्रिय राजनीतिमा चितवनबाट ठूला नेताको प्रतिनिधित्व भएन र सोही कारण जिल्लाको विकासले आशातीत फड्को मार्न सकेन भनेर यहाँका वुद्धीजीविहरुले चर्चा गरेको सुन्न पाइन्थ्यो । तर, ०६४ सालको निर्वाचनपछि भने यहाँबाट राष्ट्रिय राजनीतिलाई नै प्रभाव पार्न सक्ने नेताहरुले उम्मेदवारी दिन थालेका छन् ।

चितवनबाट ०६४ सालको निर्वाचनमा उम्मेदवारी दिने तत्कालीन नेकपा माओवादीका नेता रामबहादुर थापा बादल सवैभन्दा उच्च नेता मानिन्छन् । त्यसो त राप्रपाका नेता विक्रम पाण्डे पार्टीभित्र शक्तिशाली नै मानिए पनि लगातारजसो निर्वाचनमा पराजय भोग्दै आएका कारण उनको प्रभाव खासै रहेन ।

दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले उम्मेदवारी दिएपछि जिल्लाको राजनीति गर्माउन थाल्यो । कोइराला मात्रै आएनन्, एमालेका प्रभावशाली नेता सुरेन्द्र पाण्डे चितवन १ बाट उम्मेदवार बने भने विक्रम पाण्डे चितवन ५ बाट । यी तीनैजना नेताले यहाँबाट निर्वाचन जिते ।

संविधानसभा निर्वाचन ०७० मा क्षेत्र नं २ बाट जितेका एमाले चितवनका तत्कालीन उपाध्यक्ष कृष्णभक्त पोखरेलले पनि केन्द्रमा आफ्नो प्रभाव बढाउँदै लगे । संविधान निर्माणका क्रममा गठन गरिएका विषयगत समितिमा उनको उपस्थिति दरिलो बन्यो ।

यसपटक हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन ३ बाट उम्मेदवार बनेका छन् । दाहालसँग राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे चुनावी मैदानमा छन् । दाहाललाई एमालेको साथ छ भने, पाण्डेलाई कांग्रेससहितका साना दलको सर्मथन छ ।

पाण्डे र दाहाल मध्ये १ जना अबको संसदमा प्रतिनिधित्व रहने छैन । त्यसैले दाहाल र पाण्डे एवं सम्वन्धित गठवन्धनका लागि आगामी निर्वाचन जीवनमरणको विषय बनेको छ ।

चितवनका ३ वटा निर्वाचन क्षेत्रको राजनीतिक विश्लेषणः

चितवनका तीनवटै निर्वाचन क्षेत्रमा विभिन्न दलहरुको राजनीतिक शक्ति सन्तुलनको अवस्था के कस्तो छ ? यसबारे यहाँ सामान्य विश्लेषण गर्ने प्रयास गरिएको छ ।

क्षेत्र नं १

चितवनको निर्वाचन क्षेत्र नं १ मा वामगठवन्धनबाट एमालेका प्रभावशाली नेता एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे उठेका छन् । पाण्डेले यहाँ कांग्रेसका राजेन्द्र बुर्लाकोटीलाई मूल प्रतिस्पर्धीका रुपमा पाउनेछन् ।

तीनवटा स्थानीय तहहरु समेटिएको यो क्षेत्रमा साविक निर्वाचन क्षेत्र नं २ का अधिकांश भूभाग समेत पर्छ । एमालेको बलियो प्रभाव र पडक क्षेत्रभित्र पर्छ यो निर्वाचन क्षेत्र । यसअघि भएको संविधान निर्वाचनमा क्षेत्र नं १ बाट एमाले नेता सुरेन्द्र पाण्डे विजयी भएका थिए । क्षेत्र नं २ मा कांग्रेसका नेता शेषनाथ अधिकारी झिनो मतले विजयी भएका थिए । तर, अधिकारी र एमाले उम्मेदवार कृष्ण खनालको मतान्तर अति नै कम थियो ।

पूर्वी चितवनको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका अहिलेको निर्वाचन क्षेत्र नं १ मा परेका छन् । गएको स्थानीय तहको निर्वाचनमा यी ३ वटै स्थानीय तहमा एमालेले वहुमत सदस्यसहित मेयर र उपमेयर जितेको छ ।

यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १३ जनाको उम्मेदवारी परेको छ । तीमध्ये तीनजनाले स्वतन्त्र हुन् ।

अधिकांश ठूला दलका डमी हुन् । क्षेत्र नं १ का प्रदेश क्षेत्र (क) मा १० जनाको उम्मेदवारी परेको छ ।

यो प्रदेश क्षेत्रमा नेपाली कांग्रेस वीपीको तर्फबाट गोविन्दप्रसाद रिजालले उम्मेदवारी दिएका छन् । वाम गठवन्धनको तर्फबाट एमाले नेता दावा लामा र लोकतान्त्रिक गठवन्धनका तर्फबाट धनबहादुर गुरुङको उम्मेदवारी परेको छ । प्रदेश क्षेत्र (ख) क्षेत्र नं १ मा १० जनाको उम्मेदवारी परेको छ । वाम गठवन्धनबाट एमाले नेता कृष्ण खनाल र लोकतान्त्रिक गठवन्धनबाट उत्तम आचार्य उम्मेदवार छन् ।

स्थानीय तहको निर्वाचनमा दलका वडा अध्यक्षहरुले पाएको मतलाई विश्लेषण गर्दा चितवन क्षेत्र नं १ मा नेकपा एमाले र माओवादी (केन्द्र) को वामगठबन्धन नै बलियो देखिन्छ ।

सोही निर्वाचन मतपरिणामलाई आधार मानेर वाम गठबन्धनको मत जोड्दा ४४ हजार ६ सय ७४ हुन आउँछ । यस्तै नेपाली कांग्रेस र राप्रपा, राप्रपा (प्रजातान्त्रिक) सम्मिलित लोकतान्त्रिक गठबन्धनको कुल ३२ हजार १ सय १० मत हुन्छ । लोकतान्त्रिक गठबन्धन भन्दा वामगठबन्धन १२ हजार ५ सय ६४ मतले अगाडि छ यो क्षेत्रमा । क्षेत्र नं १ मा एक लाख १९ हजार ९९८ मतदाताले मताधिकार प्रयोग गर्न पाउँछन् ।

प्रदेश क्षेत्र (क) मा ५५ हजार ५सय ४४ जना मतदाता छन् भने, प्रदेश क्षेत्र (ख) मा ६४४५४ मतदाता छन् । प्रदेश क्षेत्र (क) मा २६ र (ख) मा ३० गरि ५६ मतदानस्थल र १३७ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए ।

क्षेत्र नं २

चितवन क्षेत्र नं २ मा माओवादी नेता रामबहादुर थापाको दावीलाई खण्डित गर्दै एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले टिकट लिन सफल भए । निकै नै चर्चामा रहेका क्षेत्र नं २ मा एमाले नेता पोखरेल वामगठवन्धनका उम्मेदवार हुन् । उनलाई शिक्षाराज्यमन्त्री समेत रहेका लोकतान्त्रिक गठवन्धनका उम्मेदवार कांग्रेस नेता शेषनाथ अधिकारीले चुनौती पेश गर्नेछन् ।

क्षेत्र नं २ मा प्रतिनिधि सभातर्फ १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यसमा ३ जना स्वतन्त्र छन् । भारतीय नागरिक भि नटराजले सञ्चालन गरेको भरतपुर मेडिकल कलेजका प्रशासक हिमनाथ घिमिरेले पनि यो क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

क्षेत्र नं २ को प्रदेश क्षेत्र (क) मा ९ जनाको उम्मेदवारी परेको छ । कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ लोकतान्त्रिक गठवन्धनका तर्फबाट र वाम गठवन्धनका तर्फबाट घनश्याम दाहालको उम्मेदवारी परेको छ ।

प्रदेश क्षेत्र (ख) मा १० जनाको उम्मेदवारी परेको छ । वाम गठवन्धनका तर्फबाट एमाले नेता विजय सुवेदी र लोकतान्त्रिक गठवन्धनका तर्फबाट कांग्रेसका प्रकाश अधिकारी उम्मेदवार छन् । यसमा एक जनाको मात्र स्वतन्त्र उम्मेदवारी छ ।
प्रतिनिधिसभाका उम्मेदवार एमाले नेता पोखरेल अहिले क्षेत्र नं २ बनेको साविक क्षेत्र नं ३ बाट ०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । भरतपुर महानगरका १० वटा वडा, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका यो क्षेत्रमा समेटिएका छन् । गएको बैशाख ३१ मा भएको स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा चितवन २ मा वामगठवन्धन १२ हजार मतले अगाडि देखिन्छ ।

यस क्षेत्रमा भरतपुर महानगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ पर्दछ । महानगरको वडा नं १ र ३ बाहेक सवै एमालेले जितेको छ । कालिका नगरपालिका एमालेले र इच्छाकामना गाउँपालिका कांग्रेसले जितेको थियो ।
यी तीनै तहमा वामगठबन्धनको मत जोड्दा ३८ हजार ७ सय एक मत हुन्छ । यो क्षेत्रमा नेपाली कांग्रेस, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) सम्मिलित लोकतान्त्रिक गठबन्धनको कुल २६ हजार ५ सय ३९ मत हुन आउँछ । यसरी हेर्दा लोकतान्त्रिक गठबन्धन भन्दा वामगठबन्धन १२ हजार १ सय ६२ मतले अगाडि छ ।

क्षेत्र नं २ मा एक लाख आठ हजार २१९ मतदाता छन् । प्रदेश क्षेत्र (क) मा ५२ हजार २ सय ९८ र प्रदेश क्षेत्र (ख) मा ५५ हजार ९ सय १७ मतदाता छन् । प्रदेश क्षेत्र (क) मा ३१ र (ख) मा १२ गरी निर्वाचन क्षेत्र नं २ मा ४३ वटा मतदान स्थल तोकिएको छ । मतदान केन्द्र भने १२२ वटा हुनेछन् ।

क्षेत्र नं ३

वाम गठवन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उम्मेदवारी रहेका कारण चितवन निर्वाचन क्षेत्र नं ३ चर्चामा छ ।

यो क्षेत्रबाट कांग्रेसको सर्मथनमा राप्रपा(प्रजातान्त्रिक) का नेता विक्रम पाण्डे निर्वाचनमा होमिएका छन् । पाण्डे र दाहालको उम्मेदवारीलाई राष्ट्रियरुपमा नै सबैभन्दा बढी चासोका साथ हेरिएको छ ।

पाण्डेले साविक चितवनको निर्वाचन क्षेत्र नं ५ बाट विजयी भएका थिए । साविक क्षेत्र नं ४ र ५ अहिले क्षेत्र नं ३ मा परेका छन् । क्षेत्र नं ४ कांग्रेसले जितेको थियो ।

पाण्डेलाई कमल थापाको राप्रपाले पनि सर्मथन गरेको छ । माडी नगरपालिका र भरतपुर महानगरको जगतपुर, मेघौली, शुक्रनगर लगायतका क्षेत्रमा पाण्डेको प्रभाव रहेको बताइन्छ । क्षेत्र नं ३ मा नै पर्ने वडा नं ६,१४,१५,१७,१८,१९,२० मा कांग्रेसको प्रभाव छ । माओवादीको प्रभाव माडी र महानगरको वडा नं १३, २५, २२ मा छ ।

भरतपुर महानगरका १९ वटा वडामा माओवादीको मत १३ हजार ६ सय ३६ छ । यसमा माडी नगरपालिकाको माओवादीले प्राप्त गरेको मत ३ हजार ८ सय ७२ थप्दा १७ हजार ५ सय ८ हुन आउँछ । महानगरको १९ वडामा एमालेको मत २१ हजार १ सय ३० र माडी नगरपालिकाको मत ३ हजार ८ सय २६ थप्दा २४ हजार ९ सय ५६ हुन्छ । यो दुवै मतलाई जोड्दा वामगठवन्धनको मत ४२ हजार ४ सय ६४ हुन्छ ।

यता, भरतपुर महानगरका १९ वटा वडाको कांग्रेसको मत २३ हजार २ सय ३७ छ । माडी नगरपालिकामा कांग्रेसले ल्याएको मत ३ हजार ८ सय २९ हो । कांग्रेसको कुल मत २७ हजार ६६ हुन्छ । यसमा राप्रपाको मत ८ हजार ३ सय ४१ जोड्दा ३५ हजार ३ सय ७ हुन्छ ।

यहाँ लोकतान्त्रिक गठवन्धन भन्दा वाम गठवन्धन ७ हजार बढी मतले अगाडि छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिएको क्षेत्र नं ३ चितवनमा १४ जनाले उम्मेदवारी दिएका छन् । १४ मा ६ जना स्वतन्त्र उम्मेदवार हुन । स्वतन्त्र अधिकांश ठूला दलका उम्मेदवारका डमी उम्मेदवार हुन् । विवेकशील पार्टीका शरद पाठक, नेकपा मालेका डम्बर श्रेष्ठ र वैध माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चाबाट टंकनाथ रेग्मीले पनि उम्मेदवारी दिएका छन् । क्षेत्र नं ३ को प्रदेश क्षेत्र (क) मा ७ जनाको उम्मेदवारी परेको छ ।

यो क्षेत्रमा वाम गठवन्धनका तर्फबाट एमाले नेता कृष्ण भूर्तेल र लोकतान्त्रिक गठवन्धनबाट कांग्रेसका दिनेश कोइराला उम्मेदवार छन् । प्रदेश क्षेत्र (ख) मा ७ जनाको नै उम्मेदवारी परेको छ । यो प्रदेश क्षेत्रमा वाम गठवन्धनबाट माओवादी केन्द्रका रामलाल महतो र लोकतान्त्रिक गठवन्धनका साजन महतो उम्मेदवार छन् ।

चितवन क्षेत्र नं ३ मा एक लाख २५ हजार ८१८ मतदाता छन् । प्रदेश क्षेत्र (क) मा ६८ हजार ३ सय ६२ र प्रदेश क्षेत्र (ख) मा ५७ हजार ४ सय ६१ मतदाता छन् । प्रदेश क्षेत्र ((क) मा २९ र (ख) मा ३३ गरि क्षेत्र नं ३ मा ६२ वटा मतदानस्थल र १४९ वटा मतदान केन्द्र रहनेछन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?