+
+
Shares

प्रदेश प्रमुख बन्नुअघि नै अनुराधा कोइराला विवादमा !

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ३ गते १३:४८

३ माघ, काठमाडौं । बुधबार बिहानै बालुवाटारमा मन्त्रिपरिषद बैठक चल्दै गर्दा समाजसेवी अनुराधा कोइराला प्रदेश नम्बर ३ को प्रदेश प्रमुख नियुक्त हुन लागेको चर्चा चल्यो । प्रदेश प्रमुखका रुपमा चर्चामा आएकी उनी एकमात्रै महिला हुन् ।

तर, प्रदेश प्रमुखकाे रुपमा चर्चा भइरहेकै बेला बुधबार बिहानै पूर्वमन्त्री सरिता गिरीले एउटा यस्तो ट्वीट गरिन्, जसले प्रदेश प्रमुख बन्नुअघि नै अनुराधा कोइरालालाई विवाद र बहसमा तानेको छ ।

फोरम नेतृ गिरीको ट्वीट छ- ‘अनुराधाजीको नाम प्रदेश प्रमुखमा आइरहेको छ । उनको विरुद्धमा मैले भन्नुपर्ने केही छैन । उहाँ अन्तराष्ट्रिय ख्याति प्राप्त महिला हुनुहुन्छ । धेरै महिलाको उद्दार गर्नुभएको छ । तर, मैले राज्यसँग सम्वाद गर्नुपर्छ ।’

पूर्वसांसद गिरीले आफ्नो टि्वटमा अनुराधा कोइरालाबारे थप भनेकी छिन्- ‘मैले जानेअनुसार उहाँ दार्जीलिङको हुनुहुन्छ र विवाहपछि नेपाली नागरिक हुनु भएको हो । म गल्ती पनि हुनसक्छ । तर, यदि यो सत्य हो भने नागरिकता कानुनको सम्बन्धमा राज्यको द्वैध नीति पुनः प्रमाणित भएको छ ।’

संविधानअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र सुरक्षा निकायका प्रमुखहरुमा अंगीकृत नागरिकहरु नियुक्त हुन सक्दैनन्

प्रदेश प्रमुखको संवैधानिक ‘योग्यता’

अनुराधा कोइरालाका सम्बन्धमा सरिता गिरीको टि्वट आइसकेपछि हामीले सर्वप्रथम कुनै पनि अंगीकृत नेपाली नागरिक प्रदेश प्रमुख बन्न पाउँछ कि पाउँदैन भनेर संविधान पल्टायौं ।

संविधानले केही पदहरुबारे विशिष्ट व्यवस्था गरेको छ ।

संविधानको धारा २८९ मा विभिन्न १० वटा पदमा निर्वाचित, मनोनित वा नियुक्त हुन बंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्छ भन्ने प्रष्ट व्यवस्था छ, त्यसमा प्रदेश प्रमुख पनि छ ।

संविधानअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र सुरक्षा निकायका प्रमुखहरुमा अंगीकृत नागरिकहरु नियुक्त हुन सक्दैनन् ।

अनुराधा बंशज हुन् कि अंगीकृत ?

अनुराधा कोइराला माइती नेपालकी संस्थापक हुन् । माइती नेपालका अनुसार १४ अप्रिल १९४९ कर्नेल प्रतापसिंह र लक्ष्मी गुरुङको कोखबाट अनुराधाको जन्म भएको हो । र, उनले आफ्नो प्रारम्भिक शिक्षा भारतको कालिङपोङमा पूरा गरेकी हुन् ।


माइती नेपालको आधिकारिक वेबसाइटमा अनुराधारको जन्म कहाँ भएको भनेर खुलाइएको छैन । उनको प्रारम्भिक शिक्षाचाहिँ भारतमा भएको खुलाइएको छ । माइती नेपालले अनुराधाको जन्म नेपालमा भएको हो कि भारतमा भन्ने नखुलाएका कारण उनी बंशज नागरिक हुन् या अंगीकृत भन्ने खुल्न थप कठिनाई भएको छ ।

उसो त कोइरालाको जन्म ओखलढुंगाको रुम्जाटारमा भएको पनि केही लेखहरुमा उल्लेख छ । तर, रुम्जाटार गाविसका पूर्वअध्यक्ष सीताराम गुरुङ अनुराधाको जन्म ओखलढुंगामा नभएको र उनको परिवार राणाकालमै भारत गएको दाबी गर्छन् । ‘उनले नागरिकता कहाँबाट लिइन् थाहा छैन, तर, रुम्जाटारमा जन्मिएकी होइनन्’ गुरुङले भने ।

गुरुङ परिवारमा जन्मेकी अनुराधाले कोइरालासँग विवाह गरेपछि अंगिकृत नागरिकता बनाएको भए उनी स्वतः प्रदेश प्रमुख बन्न अयोग्य हुनेछिन् । तर, उनले बंशजकै आधारमा नागरिकता लिएकी हुन् भने चाहिँ उनी कालिङपोङमै जन्मिएकी भए पनि प्रदेश प्रमुख हुन संविधानतः अवरोध हुँदैन ।

विशेष गरी भारतको दार्जीलिङ, सिक्किम, कालिङपोङ, आसाम लगायतका ठाउँहरुमा बसोबास गर्ने व्यक्तिहरुले नेपालमा आफ्नो पूर्खाहरुको नाता लगाएर बंंशजकै नागरिकता बनाउने गरेका छन् । अनुराधाको विवाह नेपाली नागरिक दिनेशप्रसाद कोइरालासँग भएको थियो । हाल उनीहरुको सम्बन्धविच्छेद भइसकेको छ ।

जहाँसम्म अनुराधाको प्रश्न छ, उनी नेपालमै जन्मिएर बंशज नागरिक बनेकी हुन् या पारिबाट आएर बंशजको नागरिकता लिएकी हुन् भन्ने प्रश्न सतहमा आएको छ ।

गत १३ पुसमा अनुराधा कोइरालाका भदाहा भारत सिलगढीका ३५ वर्षीय आदित्य गुरुङको गौशलास्थित आमदब्लम होटलमा हत्या भएको थियो ।

यो घटनाले अनुराधा माइतीहरु भारतीय नागरिक नै भएको संकेत दिन्छ ।

उनी नेपालमै जन्मिएर बंशज नागरिक बनेकी हुन् या पारिबाट आएर बंशजको नागरिकता लिएकी हुन् भन्ने प्रश्न सतहमा आएको छ

माइती नेपालमार्फत् सन् २०१० मा कोइरालाले ‘ग्लोबल सीएनएन हिरो’ को अवार्ड पाइरहँदा भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले भारतीय पूर्व आर्मी सफिसर्सकी छोरीले अवार्ड पाएको समाचार लेखेको थियो ।

सो भारतीय पत्रिकाका अनुसार अनुराधा भारतीय सेनाका कर्णेल प्रतापसिंह गुरुङकी छोरी हुन् र उनी भारतको सेन्ट जोसेफ स्कुल, कालेङपोङकी पूर्वछात्रा हुन् ।

त्यसो त भारतले आफ्ना नागरिकहरुलाई दिने गरेको पद्मश्री पुरस्कार पनि अनुराधा कोइरालालाई प्रदान गरेको छ ।

यद्यपि नेपालस्थित भारतीय दूताबासका अनुसार सन् २०१७ को पदमश्री पुरस्कार पाउने अनुराधा कोइराला एकमात्र विदेशी हुन् ।

भारतीय दूताबासको यस्तो प्रष्टोक्तिले अनुराधा नेपाली नागरिक हुन् भन्नेमा कुनै शंका छैन । तर, उनको जन्म कहाँ भएको हो र उनी बंशज नागरिक हुन् या अंगीकृत हुन् भन्ने मात्रै प्रश्न उब्जेको छ । यस्तो प्रश्नसँगै कोइरालाको सम्भावित नियुक्ति विवादमा पर्ने देखिएको छ ।

अंगीकृत नेपाली नागरिकले पनि राज्यका महत्वपूर्ण पदहरुमा नियुक्त हुन वा निर्वाचित हुन पाउनुपर्ने माग विशेष गरी सरिता गिरीलगायतका मधेसी समुदायका नेताहरुले उठाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?