+
+
Shares

दुवाकोट सर्न वीर अस्पतालले दाता पाएन

ऋचा अर्याल ऋचा अर्याल
२०७४ चैत १३ गते ११:५३

१३ चैत, काठमाडौं । सरकारले वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा सार्ने निर्णय गरेको दुई वर्ष हुन लाग्यो तर, कुनै काम हुन सकेको छैन ।

आर्थिक वर्ष २०७३/७४ बजेट घोषणाअनुसार ७ फाउन २०७३ मा मन्त्रिपरिषदले वीर अस्पतालका लागि दुवाकोटमा जग्गा प्राप्तिका लागि स्वीकृति दिएको थियो । तर, भवन निर्माण अघि बढ्न सकेको छैन ।

करिब २३ अर्ब लागतमा वीर अस्पताललाई भक्तपुरमा विस्तार गर्ने उद्देश्यले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) ले स्वास्थ्य मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा गुरुयोजना पेश गरेको छ ।

सरकारले दातृ निकायको खोजी गरिरहेको छ तर, अहिलेसम्म कसैले पनि लगानीको प्रतिवद्धता जनाएको छैन । ‘वीरलाई विस्तार गर्न सरकारसित पर्याप्त बजेट छैन । विदेशी सरकार तथा दातृ निकायले पनि बनाइदिन्छु भनेर प्रतिवद्धता जनाएको छैन,’ अर्थ मन्त्रालयका उपसचिव युगराज पाण्डेले भने ।

न्याम्सले पेश गरेको गुरुयोजनाअनुसार वीर अस्पताललाई दुवाकोटमा करिब २३ अर्ब रुपैयाँ लाग्छ । यसबाट टेण्डर भएको करिब छ वर्षभित्र एक हजार शैय्यासहित वीर अस्पतालका साथै ६/७ वटा कलेज बनाइनेछ ।

अस्पतालका लागि सरकारले करिब सात सय रोपनी जग्गा दिएको छ । तर, बजेट अभावमा जग्गा वरिपरि काँढे तार लगाउने बाहेक अरु काम भएको छैन ।

बजेट अभावमा दुवाकोटमा काम अगाडि बढ्न नसकेको न्याम्सका उपकुलपति डा. गणेशबहादुर गुरुङ्गले बताए । उनले भने, ‘हामीसँग भएको कुराकानीमा चीन तथा जापान सकारात्मक देखिएका छन् तर, अहिलेसम्म कसैले पनि प्रतिवद्धता नजनाउँदा काम अगाडि बढ्न सकेको छैन ।’

दुवाकोटमा बनाइने भनिएको वीर अस्पतालको भवनको स्केच

महाबौद्धमा केन्द्रीय अस्पताल

न्याम्सका अनुसार दुवाकोटमा भौतिक पूर्वाधारहरु बनेपछि महावौद्धमा वीर अस्पतालको भवन ‘वीर कम्प्लेक्स’को रुपमा परिणत हुनेछ । जसमा फेज वान अन्तर्गत वीर अस्पतालको इमर्जेन्सीको ठीक अगाडि रहेको जग्गामा ६५० शैय्यासहित सर्जिकल भवन निर्माण गरिनेछ ।

फेज टु अन्तर्गत वीर अस्पतालको पुरानो भवनलाई भत्काएर करिब ६५० शैय्यासहितको नयाँ भवन बन्नेछ ।

त्यसैगरी फेज थ्री अन्तर्गत हाल जापानीजहरुले बनाइरहेका वीर अस्पतालको पुरानो आईसीयू पछाडि भवन निर्माण गरिनेछ, जसमा करिब दुई सय शैय्या रहनेछ ।

‘सबै भवन बनेपछि यो केन्द्रीय अस्पतालको रुपमा रहनेछ भने दुवाकोटमा विश्वविद्यालय भवन, ६/७ वटा कलेजसहित हजार शैय्यासहित विशेषज्ञ अस्पताल सञ्चालनमा रहनेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?