६ जेठ, काठमाडौं । केन्द्रीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा भिन्न–भिन्न विषय परेका छन् । केहीले आर्थिक, सामाजिक, सांस्कृतिक विषयलाई बढी जोड दिएका छन् भने कुनैमा राजनीतिसँग सम्बन्धित समाचार बढी छन् ।
विराटनगरस्थित भारतीय फिल्ड अफिस हटाउने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको भनाइलाई आजका सबैजसो दैनिक पत्रिकाले छापेका छन् । २०६५ भदौमा कोसीमा आएको बाढीले सयौंको मृत्यु र लाखौं हेक्टर जमिन डुवानमा परेपछि उद्धार र राहतका लागि भारतले विराटनगरमा फिल्ड अफिस राखेको थियो । त्यो अफिस अहिलेसम्म हटाइएको छैन ।
नवगठित नेपाल कम्युनिस्ट पार्टी तलैसम्मका कमिटी एकीकरण गर्न मापदण्ड तय गर्न जुटेको छ । आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले ‘सजिला नेता खोज्दै ओली–प्रचण्ड’, ‘तीन महिनाभित्र नेकपाका तलैसम्मका कमिटी एकीकरण’लगायत शीर्षकमा खबर छापेका छन् ।
यसका अतिरिक्त स्वार्थको बन्धकमा प्रदेश राजधानी मुद्दा परेको, बिचौलियाका कारण किसानको एक करोडको गोलभेँडा बोटमै कुहिएकोलगायत समाचारले ’लगायत शीर्षकमा खबर छापेका छन् ।
यसका अतिरिक्त स्वार्थको बन्धकमा प्रदेश राजधानी मुद्दा परेको, रुग्ण उद्योगको ऋण मात्रै साढे नौ अर्ब पुगेको, बिचौलियाका कारण किसानको एक करोडको गोलभेँडा बोटमै कुहिएकोलगायत समाचारलाई पनि पत्रिपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।
सजिला नेता खोज्दै ओली–प्रचण्ड, विगतका मर्यादा हेरफेर हुने
अन्नपूर्ण पोस्ट दैनिकले नेपाल कम्युनिस्ट पार्टीमा नेताहरुका विगतका पार्टी मर्यादा हेरफेर हुने भएको समाचार छापेको छ ।
एकीकृत पार्टीमा नयाँ भूमिका र वरीयताक्रम तय हुँदै गर्दा कतिपय नेतालाई विगतमा भन्दा बढी प्रभावशाली स्थान मिल्नेछ भने कतिपय नेता भूमिकाका हिसाबले थप खुम्चिनुपर्नेछ ।
पार्टी घोषणाकै दिन गठित नेकपाको केन्द्रीय सचिवालयमा निर्धारित मर्यादा र तोकिएका जिम्मेवारीले त्यसको संकेत गरेको समाचारमा उल्लेख छ । सचिवालयमा निर्धारित मयाृदाक्रम र जिम्मेवारीका कारण दुवै तत्कालीन पार्टीभित्र असन्तुष्टि छन् । तर पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्डको निर्णयविरुद्ध कसैले आवाज मुखरित गर्न सकेका छैनन् ।
मधेसी दललाई सत्ताको निम्ता
दुई ठूला वाम दल एकीकरणपछि शक्तिशाली बनेको सत्तारुढ दल नेकपाका नेताहरुले मधेसी दललाई सरकारमा सहभागी गराउन पहल थालेका छन् ।
अन्नपूर्ण पोस्ट दैनिकका अनुसार एकीकरणपछि शुक्रबार साँझ नै केप ीओली र प्रचण्डले विशेष सूत्रमार्फत मधेसवादी दललाई सत्तामा सहभागी हुन आग्रह गरिसकेका छन् ।
मधेसी नेताले पनि पहिचानसहितको संघीयतातर्फ संविधान संशोधन गराउनमा प्रयास भए आफूहरुलाई सत्तामा सहभागी हुन कुनै अप्ठ्यारो नभएको भन्दै सहभागी हुने आसय व्यक्त गर्न थालेका छन् ।
प्रधानमन्त्रीको चीन भ्रमण यसै महिना
गत वर्षको अन्तिममा भारत भ्रमण गरेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली इही महिना चीन भ्रमणमा निस्कने भएका छन् ।
शनिबार नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा आफ्नो उनले आफ्नो चीन भ्रमणको जानकारी दिएको राजधानीको समाचारमा उल्लेख छ ।
सामाजिक सञ्जाल नचलाउन उद्योग मन्त्रालयद्वारा परिपत्र
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतका सबै निकायमा कार्यालय समय अवधिभर सामाजिक सञ्जाल चलाउन नपाइने भएको छ ।
नयाँ पत्रिका दैनिकका अनुसार आइतबार मन्त्रालय मातहतका सबै निकायलाई कार्यालय अवधिभर फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल नचलाउन कर्मचारीलाई मन्त्रीको निर्देशनसहितको पत्र पठाउन लागिएको छ ।
मन्त्रालयमातहतका निकायमा गरेको छड्के अनुगमनमा कर्मचारीहरु फेसबुक चलाएर बस्ने र रेस्लिङ हेरेर बस्ने फेला परेका थिए ।
बिचौलियाको मारमा किसानः १ करोडको गोलभेँडा बोटमै कुहियो
विचौलियाका कारण कपिलवस्तु जिल्लाका किसानहरु मारमा परेका छन् । बिचौलियाले लगानीभन्दा पनि कम आम्दानी हुने गरी गोलभेँडाको मूल्य निर्धारण गरेपछि किसानका उत्पादन बोटमै कुहिन थालेका छन् ।
जिल्लामा एक करोडभन्दा बढी मूल्यका गोलभेँडा यसरी बोटमै कुहिन थालेको नयाँ पत्रिका दैनिकमा खबर छ । उत्पादन भएको गोलभेँडा राख्ने चिस्यान केन्द्र नहुँदा पनि किसान मर्कामा परेका छन् ।
फराकिलो हुँदै करको दायरा, जग्गा कारोबारीदेखि सञ्चार माध्यमसम्मलाई समेटिँदै
कारोबार दैनिकका अनुसार, ट्याक्स ग्यापको खोजीमा रहेको सरकारले अब वैदेशिक रोजगार व्यवसायी, जग्गा कारोबारी , शैक्षिक परामर्श दिने कन्सल्टेन्सी, कानुनी परामर्शदाता, इन्जिनियरिङ कन्सल्ट्यान्सी तथा सञ्चार माध्यमहरुलाई करको दायरामा ल्याउने भएको छ ।
संघीयता कार्यान्वयनसँगै सरकारलाई वित्तीय भार बढ्ने देखिएपछि सरकारले बजेटमार्फत करका दर र दायरा दुवै बढाउने उद्देश्यअनुरुप यी क्षेत्रलाई करको दायरामा ल्याउन लागेको हो ।
भन्सारमा हुने चुहावट नियन्त्रण, न्यून विजकीकरण, भ्याटको सफल कार्यान्वयन, आयकरको दायरा विस्तार र अन्तशुल्कको स्टिकर लगायतका क्षेत्रमा कडाइ गर्ने सरकारको तयारी छ ।
र, याे पनि- वडाध्यक्षले दिए थुक चाट्ने सजाय
महोत्तरीको पिपरा गाउँपालिका ६ का वडाध्यक्ष रामदेव हात्तीले स्थानीय एक महिलालाई धानको भुस चोरेको आारेपमा थुक चाट्न लगाएर सजाय दिएका छन् ।
स्थानीय सुकदेव साहकी ३७ वर्षीया श्रीमती समतोलियादेवी साहलाई वडाध्यक्ष हात्तीले भुस चोरेबापत सादा कागजमा सही गराएर थुक चाट्न लगाएको नयाँ पत्रिकामा खबर छ ।
गत १६ वैशाखमा साहले छिमेकी जगरनाथ हात्तीको घरबाट नसोधीकन एक डालो भुस ल्याएकी थिइन् । यसबारे साहले माफी मागे पनि वडाध्यक्षले कुटपिट गर्दै सार्वजनिक ठाउँमा थुक चाट्न लगाएको समाचारमा उल्लेख छ ।
हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज
प्रतिक्रिया 4