१७ असार, काठमाडौं । सरकारले गठन गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ वर्षको अवधिमा चुडामणि उप्रेती ‘गोरे’को समूहले ३८ क्वीन्टल सुन तस्करी गरेको पर्दाफास गर्दै ६३ जनाविरुद्ध मुद्दा दायर गरेसँगै तस्करहरुले वैकल्पिक मार्ग खोज्न थालेका छन् ।
समितिको अनुसन्धान पूरा हुनु अगावै अन्य तस्कर समूहले सुन तस्करी थालेको भेटिएको हो । यसअघि दूबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएर तस्करीको सुन भारत जाने गरेको थियो ।
तर, अहिले विमास्थलमा कडार्इपछि तस्करहरुको समूहले यूएईबाट चीन हुँदै रसुवा नाका भएर काठमाडौंसम्म सुन भित्र्याउने गरेको भेटिएको छ । त्यसपछि उनीहरुले स्थलमार्ग हुँदै भारतसम्म सुन पठाउने गरेका छन् ।
काठमाडौंबाट बाहिरिने नागढुंगा नाकामा ट्याक्सीमा लुकाएर ल्याइएको ३ किलो सुन बरामद भएको भोलिपल्टै आइतबार राति बा ९५ प ८१६४ नम्बरको पल्सर मोटरसाइकलमा ल्याउँदै गरेको ६ किलो सुन बरामद भएसँगै तस्करीको नयाँ रुटको रहस्य खुलेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २३ वर्षीय तेन्जिङ तामाङ छन् । उनले बोकेको सुन यूएईबाट चीन हुँदै रसुवा नाकाबाट काठमाडौं आएको प्रहरी स्रोतको दाबी छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा सुन तस्करीका लागि नयाँ रुट प्रयोग भएको पाइएको पुष्टि भएको नागढुंगा प्रहरीका एक अधिकारी बताउँछन् ।
लामो समयदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै सुन तस्करी हुँदै आएको थियो ।
रसुवाबाट सुन तस्करी हुँदै गरेको गोप्य सूराकी पाएपछि काठमाडौं प्रहरीले नागढुंगा नाकामा चेकजाँच कडा बनाएको थियो । त्यसक्रममा प्रहरी निरीक्षक केशव भट्टको टोलीले आइतबार साँझ सुन बरामद गरेको हो ।
तर, काठमाडौं प्रहरी पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको भन्दै विस्तृत विवरण खुलाउने चाहेको छैन । परिसरले यसबारे थप सार्वजनिक गर्न सोमबार पत्रकार सम्मलेन अायोजना गर्ने बताइएको छ ।
सुन तस्करीबारे अनुसन्धान गरिरहेको उच्चस्तरीय समितिले पनि यसबारे चासो देखाएको छ । समितिले यसबारे पनि अध्ययन गर्ने एक सदस्यले बताए ।
यो पनि पढ्नुस्
प्रतिक्रिया 4