+
+
Shares

५२ कटेसी पो रमाउने भो जिन्दगी !

मलेसियाबाट १२ वर्षपछि फर्केका तीर्थबहादुरको रामकहानी

रामचन्द्र नेपाल रामचन्द्र नेपाल
२०७५ साउन १९ गते २०:२०

क्वालालम्पुर । शुक्रबार मानपुर-७ दाङमा रमाइलो जमघट भयो, मलेसियाबाट १२ वर्षपछि फर्किएका तीर्थबहादुर डाँगी दुलाहाजस्तै बनेर आफ्नै घरमा भित्रिए ।

तीर्थ परदेशबाट फर्किदैछन् रे भन्ने खबर पाएर छिमेकी र नातागोता पनि जम्मा भएका थिए । सञ्चो विसञ्चोका कुराकानी भए । नातिनातिना हजुरबुबाका काखमा रमाए । तीर्थकी पत्नी सुशीलालाई पाहुनाको स्वागत सत्कार गर्न भ्याई नभ्याई थियो ।

‘जेठा आउँछस् त त लिन ?’ मंगलबार क्वालालम्पुरवाट फोनमा तीर्थले छोरा प्रकाशलाई भनेका थिए, ‘अहिले त नेपाल फेरियो भन्छन् । मैले त्यति मेसो पाउदिनुहोला ।’

प्रकाश बिहीबार बिहानै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिर वुबालाई कुरेर बसिरहे । दिउँसो करिव एक बजेतिर तीर्थ हातमा ट्रलीमा ब्याग गुडकाउँदै बाहिरिए । सामान्य भलाकुसारीपछि दुबैजना दाङको बस चढेर घरतिर लागे ।

घरको माहौल अर्कै थियो, मलेसिया गएपछि १२ वर्षसम्म नफर्किएका तीर्थलाई हेर्न सबै आतुर थिए । जब घर पुगे, नयाँ दुलही भित्रिएझैं भित्र्याइयो, परिवारमा खुसी छायो ।

तीर्थ २९ नोभेम्बर २००६ मा विदेश पसेका थिए । त्यसबेला जेठो छोरा पाँच कक्षामा पढदै थिए भने दुई छोरी र कान्छा छोरा सानै थिए । अहिले जेठो छोरा र दुई छोरीको विवाह भएर नातिनातिना भइसकेको छ भने कान्छा कलेज पढ्दैछन् ।

कसरी पुगे मलेसिया ?

गाउँमा खेतीकिसानी गरिरहेका तीर्थलाई अमरराज शर्माले विदेश जान सुझाएका थिए । ‘यत्तिकै घरमा किन बस्छस् ? भोलि छोराछोरी ठुला हुन्छन्, उनका लागि केहि गर्नुपर्छ, विदेश जा’ भन्दै एक लाख ३ हजार रुपैयाँ ऋण दिए ।

मलेसिया जाँदा तलब ४२० रिंगेट मात्र थियो । जोहारवारुको एक गार्डेन कम्पनीमा छ वर्षसम्म फलफूल स्याहारसुसारको काम गरे । तर, कुन कम्पनीमा काम गरेको थाहा छैन । ‘जोहोरवारुको कहाँ भन्ने थाहा छैन । कहिले काँही पैसा हाल्न साथीहरुसँग आउँथे’ उनले भने, ‘तामानदया भन्ने बाहेक अरु थाहा छैन ।’

यो अवधिमा उनले मलेसिया आउने क्रममा लिएको ऋण तिर्नुका साथै केही रकम जोहो गरे । त्यसपछि जोहोरवारुमै रहेको ग्लोब कम्पनीमा २ वर्ष बिताए त्यो ठाउँ पनि छाडेर त्यही पुरानै फलफूलका विरुवा स्याहार सुसार गर्ने जोहोरवारुको देसारु भन्ने ठाउँमा रहेको कम्पनी खोजेर ४ वर्ष बिताए ।

उनले मलेसियामा १२ वर्ष विताए । गाउँघरमा तीर्थले उतै बिहे गरेर बस्यो भन्ने हल्ला पनि चल्यो । तर, उनले परिवारलाई विश्वास दिलाए र निरन्तर काम गरिरहे ।

उनी मलेसियामै रहँदा नेपालमा जेठा छोरा र दुई छोरीको विवाह सम्पन्न भयो । कान्छा ज्वाइँ मलेसियामा काम गर्न पनि आए र चार वर्षसम्म वसेर फर्किए । ज्वाइँ क्वालालम्पुरमा बसे, ससुरा जोहोरवारु थिए तर, कहिल्यै प्रत्यक्ष भेट भएन ।

मलेसिया सरकारले अवैधानिक कामदारलाई कडाई गर्दैछ भनेर परिवारले भनेपछि तीर्थलाई मलेसिया बस्न मन लागेन ।’परिवारलाई पनि देख्न मन लागिरहेको थियो, त्यसैले उनले नेपाल र्फकने निधो गरेँ’ मलेसिया छाड्नु अघि तीर्थले भने ।

तर, एक्लै क्वालालम्पुरसम्म आउने आँट गर्न सकेनन् । बसमा आउँदा ३५ रिंगेट लाग्ने भए पनि दुईजना साथी मिलेर ट्याक्सीलाई ६ सय रिंगेट बुझाएर आइतबार क्वालालम्पुर आइपुगे ।

क्वालालम्पुरको गगनचुम्बी भवनहरु देखेर उनी छक्कै परे । बिहीबार नेपाल आइपुगेका छन् । ‘म जे कामका लागि आएको थिएँ, त्यो काम गरेँ’ उनले भने, ‘कहिल्यै कुलतमा फसिनँ, फजुलखर्च गरिनँ । यहीँ बसेरै नेपालमा छोराछोरीलाई पढाएँ, बिहे गराएँ । उनीहलाई खुसी नै राखेको छु । यसकै लागि होइन र विदेश आएको ?’

विदेशमा लामो समय बसेकोमा तीर्थलाई कुनै पछुतो छैन । खेती किसानी गर्ने, गाईवस्तु पाल्ने र नातिनातिना हेर्ने रहर छ उनको ।

ठट्यौली शैलीमा उनले भने- ‘चालीस कटेसी रमाउलाँ भन्थे, आफू त ५२ पछि पो रमाउने भइयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?