+
+
Shares

आजका पत्रपत्रिकाः बलात्कार पीडितलाई न्याय दिन अदालतकै आलटाल

मुठभेडका अनुसन्धान जहिल्यै अलपत्र

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २४ गते ६:४७

२४ साउन, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा अलग–अलग विषय परेका छन् । केहीले अपराधसँग सम्बन्धित सामग्रीलाई महत्त्व दिएका छन् भने कुनैले स्थानीय तहमा लगाइएकाे करलगायत विषायमा मुख्य समाचार लेखेका छन् ।

मुठभेडका अनुसन्धान जहिल्यै अलपत्र पर्ने गरेकोलाई आजका केही पत्रिकाहरुले उठाएका छन् । भक्तपुर इन्काउन्टर प्रकरण शंकाको घेरामा परिरहेका बेला पत्रपत्रिकाहरुले यसअघिका इन्काउन्टर घटनाबारेको छानबिन अलपत्र परेको लेखेका हुन् ।

यसका अतिरिक्त नोट केरमेट गर्नेलाई जेल सजाय हुने भएको, सिक्टा छानबिनमा सरोकारवालाले ध्यान नदिएको, बिरामीले तिरेको १९ लाख अस्पतालका कर्मचारीले हिनामिना गरेको, ग्राहकको उपेक्षाले मधेसी दलितले खोलेका पसल बन्द भएकोलगायत समाचारहरुले पनि आजका पत्रपत्रिकाहरुको पहिलो पृष्ठमा ठाउँ पाएका छन् ।

नयाँ पत्रिकाले ‘बलात्कारः न्याय खोज्दा अन्याय’ शीर्षक दिएर बढ्दो बलात्कार र त्यसका पीडितमाथि भइरहेको अन्यायबारे मुख्य समाचार लेखेको छ । पीडितहरु न्याय खोज्दै अदालतमा गए पनि समयमा मुद्दा फैसला नहुँदा पीडितहरु थप आहत बनेको समाचारको सार छ ।

नयाँ पत्रिकामै संसदीय समितिका सभापतिका दावेदारहरुको चर्चासँगै सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालका बिरामीले तिरेको १९ लाखभन्दा बढी रकम त्यहाँका कर्मचारीले हिनामिना गरेको समाचार पनि छ ।

स्थानीय तहमा लगाइएका करबारे असन्तुष्टि सार्वजनिक भइरहेका बेला कान्तिपुरले मुख्य समाचार लेखेको छ । उसले कालिकोट र इलामका स्थानीय तहले लगाएको करलाई दृष्टान्तका रुपमा प्रस्तुत गर्दै आमजनताको थाप्लोमा तेब्बर बढी कर थोपरिएको जनाएको छ ।

मुठभेडका अनुसन्धान जहिल्यै अलपत्र पर्ने गरेको अर्को समाचारलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ । समाचारमा विगतका मुठभेड घटनाबारेको अनुसन्धान बीचमै अलपत्र परेको उल्लेख गर्दै यसमाथि प्रश्न उठाइएको छ । नेपाली नोट र सिक्कामा केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै पक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजारसम्म जरिवाना गर्न सक्ने भएको अर्को खबर पनि कान्तिपुरमा छ ।

अन्नपूर्णले मधेसमा विद्यमान छुवाछुत प्रथा खोतलेको छ । समाचार अनुसार मधेसमा दलितले खोलेका पसलसमेत चल्दैनन् । ग्राहकको उपेक्षाले मधेसी दलितले खोलेका अधिकांश पसल बन्द छन् ।

सिक्टा छानबिनमा सबै निकाय मौन रहेकोलाई मुख्य समाचार बनाएको नागरिकले इन्काउन्टर घटनामाथिको अनुसन्धान अलपत्र पर्दै आएकोलाई पनि महत्त्वका साथ पहिलो पृष्ठमा समेटेको छ ।

राजधानीमा सरकारले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिन लागेको खबर छ भने गोरखापत्रमा सरकारको काम प्रभावकारी बनाइने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेकाे समाचार छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?