बलिउडका ३ ठुला सुपरस्टार आमिर खान, शाहरुख खान र सलमान खानले कुनै पनि फिल्म खेल्दा पारिश्रमिक लिन छोडेका छन् । उनीहरु फिल्मको मुनाफामा हिस्सा लिने गर्छन् ।
हालै आमिर खानले खुलासा गरेका थिए कि उनी कुनै पनि फिल्म खेल्दा मुनाफाको ७० प्रतिशत मुनाफा लिन्छन् । यसमा जोखिम र लाभ दुवै हुने उनको भनाई छ ।
‘फिल्म फ्लप भयो भने मेरो हातमा केही पनि पर्दैन,’ उनले भनेका थिए ।
अब खान हिरोहरुको यही शैलीलाई पछ्याएकी छिन् नायिका कंगना रनावटले । आफ्नो आगामी फिल्म ‘मेन्टल है क्या’ बाट पारिश्रमिकको साटो उनले मुनाफाको हिस्सा मागेको समाचार बाहिरिएको छ ।
फिल्मकी निर्मात्री एकता कपुरले कंगनाको मागलाई सकारात्मक रुपमा लिएको बताइन्छ । यदि उनी यसमा तयार भइन् भने फिल्मको मुनाफामा हिस्सा लिने कंगना पहिलो बलिउड अभिनेत्री बन्नेछिन् । उनले पहिलेदेखि नै बलिउडमा नायक र नायिकाहरुबीच समानता हुनुपर्ने पक्षमा वकालत गर्दै आएकी छिन् ।
कंगनाले आफ्नै बलबुतामा केही हिट फिल्महरु दिएकोले उनले मुनाफाको सेयर खोज्नु स्वभाविक भएको कतिपयको तर्क छ । कतिपयले चाहिँ उनको अधोगति लाग्ने संकेतको रुपमा यसलाई लिएका छन् ।
‘मेन्टले है क्या’ एक डार्क कमेडी फिल्म हो । यसमा कंगनाको जोडीका रुपमा राजकुमार राव छन् । अब आफूलाई अफर आउने सबै फिल्ममा मुनाफाको हिस्सा माग्ने कंगनाको तयारी रहेको छ ।
प्रतिक्रिया 4