२५ साउन, काठमाडौं । देशभरबाट शुक्रबार ४३२ जना प्रहरी सहायक निरीक्षक (असई) उत्पादन भएका छन् । तालिममा सफल बनेका असईलाई गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेतको उपस्थितिमा दीक्षित गरिएको छ ।
तालिमका क्रममा केही असईहरु बिरामी परेका थिए भने केहीलाई बर्खास्त गरिएको थियो । एकजनाको भने तालिमकै क्रममा मृत्युसमेत भएको थियो ।
चितवनस्थित शिक्षालयबाट ४३२ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । शिक्षालयमा सञ्चालित प्रहरी सहायक निरीक्षकको १७४ औं समूहको आधारभूत तालिम पूरा गरेका ४३२ जना प्रहरी शुक्रबार एकैचोटी दीक्षित भएर कार्यक्षेत्र प्रवेश गरेका हुन् ।
प्रहरी सहायक निरीक्षक पदमा भर्ना भएका ४४१ जना प्रशिक्षार्थीहरुमध्ये जम्मा ४३२ जना मात्रै दीक्षित भए । भर्ना भएका मध्ये ४ जना बिरामी भएर तालिममा सहभागी हुन नसकेको शिक्षालयले जानकारी दिएको छ । त्यसैगरी ४ जना बर्खास्त भएका छन् भने १ जनाको तालिमकै क्रममा मृत्यु भएको छ ।
दीक्षित हुने असईहरुमा ४१८ जना पुरुष र १४ जना महिला प्रहरी छन् ।
प्रतिक्रिया 4