२५ भदौ, काठमाडौं । नक्कली एटीएम बनाएर लाखौं चोरी गर्ने गिरोह काठमाडौंबाट पक्राउ परेको छ । यससँगै म्याग्नेटिकबाट चिपमा जाँदा पनि एटीएम ह्याक गरेर रकम चोरी गर्ने क्रम नरोकिएको पुष्टि भएको छ ।
एटीएम कार्ड ह्याक गर्ने गिरोहहरु भेटिएपछि प्रहरी र राष्ट्र बैंकले बैंकहरुलाई एटीएम म्याग्नेटिकबाट चिपमा परिणत गर्न सुझाएको थियो । त्यसअनुसार अहिले अधिकांश बैंकहरुले एटीएममा चिप प्रयोग गर्न थालेका छन् ।
यो सुरक्षित मानिएको थियो । तर, काठमाडौं प्रहरी परिसरले सोमबार नक्कली एटीएम बनाएर पीओएस मेसिनबाट अरुको लाखौं रुपैयाँ निकाल्ने गिरोहलाई समातेको छ ।
गिरोहका नाइके भारतका ३४ वर्षीय जिन्टु जोयसहित दिल्लीका ३२ वर्षीय विकास गोसाईं, तिटी बलजितनगरका २८ वर्षीय बिटु गौतम पक्राउ परेका छन् । बिचौलियाको भूमिकामा रहेका काभ्रेको तिमाल–९ का २४ वर्षीय विजय दोङ लामा र काठमाडौं–१७ का ३२ वर्षीय अनुज नकर्मी पनि पक्राउ परे ।
नक्कली क्रेडिट कार्ड बनाएर लाखौं रकम निकालिरहेको सूचनाको आधारमा खटिएको विशेष टोलीले बिहान ८ बजे ठमेलको सञ्चयकोष अगाडि रहेको होटल ओएसिसबाट ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए ।
लामाका अनुसार उनीहरुको माध्यमबाट विचौलियाको भूमिकामा रहेका थप दुई नेपाली नागरिक पनि पक्राउ परेका हुन् ।
‘विजय र अनुज भागेर भारत जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्’, लामाले अनलाइखबरसँग भने, ‘पक्राउ परेका विजयको नाममा उनीहरुले प्रयोग गरेको पीओएस मेसिनको एउटा खाता थियो ।’
प्रहरीले आइतबार साँझै सूचना पाएको भए पनि फलो गर्ने क्रममा तीनै जना साँझ मल्ल होटलको क्यासिनो बेलीमा पुगेको भेटिएका थिए ।
‘रातभर क्यासिनोमा बसेपछि हामीले साँझ नियन्त्रणमा लिन सकेनौं’, अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘पछ्याउने क्रममा बिहान मात्रै उनीहरु पक्राउ परे ।’
नाइके आईटी एक्सपर्ट, १४ लाख निकालियो
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार घटनाका मुख्य नाइके जोए आईटी एक्सपर्ट हुन् । उनैले एटीएम चोरीको सबै बन्दोवस्त मिलाएको खुलेको छ ।
‘उनी एटीएम ठगीकै लागि भनेर ७ पटकसम्म नेपाल आएको खुलेको छ’, अनुसन्धानमा संलग्न अधिकारी भन्छन्, ‘पछिल्लो समय उनीसहित अन्य दुई जना सेप्टेम्बर १ मा नेपाल आएको अध्यागमनको रेकर्डले देखाउँछ ।’
यसपटक उनीहरुले दुई पटक गरेर ७/७ लाख रुपैयाँ अवैधानिक रुपमा निकालेको प्रारम्भिक सोधपुछका क्रममा बताएका छन् । यद्यपि, प्रहरीले उनीहरुले त्यति रकम मात्रै निकाले भन्नेमा विश्वास गर्न सकिरहेको छैन ।
‘हामीले १ सय १९ वटा नक्कली डेबिट/क्रेडिट कार्डसहित उनीहरुलाई पक्राउ परेका हौं’, परिसरका प्रमुख लामा भन्छन्, ‘उनीहरुले यति मात्रै होइन, अझै बढी रकम निकालेको हाम्रो आशंका हो ।’
उनीहरुले यो प्रक्रियामा एक–एक वटा डाटा कार्ड रिडर र एमएसआर मेसिन, ४ वटा पीओएस (स्वाप) मेसिन र दुई वटा ल्यापटप प्रयोग गरेका थिए ।

त्यसरी रकम निकाल्न प्रयोग गरिएको स्वाप मेसिनहरु इन्भेष्टमेन्ट, टुरिजन, कुमारी र मेघा बैंकका छन् ।
‘तिनमा प्रयोग भएका पीओस खाताहरु चाहिँ नेपाली नागरिककै नाममा दर्ता भएका छन्’, परिसरका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई भने, ‘उनीहरुको पनि खोजी गरिरहेका छौं ।’
प्रहरीका अनुसार उनीहरुले नेपालमा आएर विदेशी नागरिकको नक्कली एटीएम सिर्जना गरी रकम चोरी गरेका थिए ।
‘त्यो १४ लाख विदेशी नागरिकको भएको खुलेको छ’, एक अधिकारीले भने, ‘नेपाली नगारिकको हकमा भने रकम निकाल्ने वित्तिकै एसएमएस जाने भएकाले पनि तत्काल खातावालालाई थाहा हुने हुँदा उनीहरुले प्रयास गर्दैनन् ।’
कसरी हुन्छ एटीएम ह्याकिङ ?
अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार एटीएम ह्याकिङमा दुई किसिमको मोडस अपराण्डी (आपराधिक शैली) प्रयोग हुने गरेको देखिन्छ ।
पहिलो, स्किमर मेसिन एटीएम बुथमा प्रयोगकर्ताले चाल नपाउने गरी जडान गरिएको हुन्छ । जसले प्रयोगकर्ताले एटीएम मेसिनमा कार्ड घुसाउने वित्तिकै गोप्य डाटा र पिन कोडलाई सेभ गरिहाल्थ्यो । त्यसलाई कार्ड रिडर मेसिनमार्फत खाली एटीएम कार्डमा राखेर चारी गर्ने गरिएको प्रहरी अनुसन्धानले देखाउँछ ।
२७ कात्तिक ०७४ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेका बुल्गेरियन नागरिकले यसरी नै एटीएम कार्डमार्फत चोरी धन्दा चलाएका थिए ।
ठमेल लगायतका क्षेत्रमा रहेका बैंकका एटिएमबाट अनाधिकृत रूपमा रकम निकाल्ने प्रयास गरिरहेका भिटालिय भालेभिच्नेकिटलाई प्रहरीले पक्राउ गरेको थियो । उनले नेपाल इन्भेष्टमेन्ट बैंकको ठमेल, चाक्सीबारीको एटीएममा स्किमर मेसिन जडान गरेर सेवाग्राहीको एटीएमको डाटा चोरेका थिए ।
कतिपय घटनामा भने अभियुक्तले सानो क्यामेरा समेत जडान गर्ने गरेको समेत भेटिएको छ ।
दोस्रो, सोमबार पक्राउ परेको गिरोह अपनाएको शैली । आईटीमा राम्रो दख्खल भएका जोएले एक वेवसाइटमार्फत विदेशी एटीएम प्रयोगकर्ताको डाटा किन्ने गरेका थिए ।
‘अनलाइनमा बिटकोइन तिरेर डाटा खरिद हुने गरेको भेटिन्छ’ स्रोतले भन्यो, ‘त्यसरी खरिद गरिएको डाटालाई प्रयोग गरेर सुरक्षित ठाउँमा बसेर रकम चोरी गर्ने गरिन्छ ।’
विदेशी नगारिकको रकम चोरी गर्दा नेपालमा थाहा हुने सम्भावना पनि कम हुने र अनुसन्धानबाट पनि बच्न सकिने भएकाले यो विधि प्रयोग हुने गरेको अनुसन्धान अधिकारी बताउँछन् ।
नेपाली नगारिककै एटीएम ह्याक गर्दा पक्राउ पर्न सक्ने सम्भावना समेत बढी हुन्छ । परिसरका प्रमुख एसएसपी लामा भने भारतीय गिरोहले एटीएमका डाटाहरु कसरी पाए भन्ने विषयमा अनुसन्धान भइरहेको बताउँछन् ।
‘हामीले त्यसका विविध पाटोमा अनुसन्धान गरिरहेका छौं’ लामाले भने, ‘यद्यपि, उनीहरुले यही विधि प्रयोग गरेको चाहिँ पुष्टि भइसकेको छ ।’
नेपालमा हुने एटीएम फ्रडका घटनाहरुमा विदेशी नागरिकहरुको संलग्नता बढी हुने गरेको देखिन्छ ।
कमजोर बैंकिङ सुरक्षा प्रणाली, फितलो कानुन, खुला नाकाका कारण प्रवेशमा सहजता, प्रहरीको कमजोर सूचना संयन्त्र प्रणाली लगायतका कारण एटीएम ह्याकिङका लागि विदेशी गिरोहको निशानामा नेपाल पर्ने गरेको एक अधिकारी बताउँछन् ।
कानुनतः एटीएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने कार्यमा संलग्नमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तरगत कारबाही हुने गरेको छ ।
प्रतिक्रिया 4