२३ असोज, काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा सञ्चार माध्यमहरुले समाचार लेख्दा न्यायमा नै असर परेको बताएका छन् ।
मंगलबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित गरेको चियापान कार्यक्रममा उनले विचाराधीन मुद्दामा समाचार लेखिदिँदा अदालत, मानव अधिकार र न्यायलाईसमेत क्षति भएको बताएका हुन् ।
‘सबैभन्दा पहिले चेतनशील हुनुपर्ने कामचाहिँ हजुरहरुको काम छ’ उनले पत्रकारलाई संबोधन गर्दै भने ‘अलि हामीलाई अप्ठेरो पर्ने, मिडियाको जो हुन्छ, विचाराधीन मुद्दामा लेखिरहेका छन् । विचाराधीन मुद्दामा लेखरिहँदा अदालतलाई क्षति पुर्याइराखेको छ, मानव अधिकारलाई क्षति पुर्याइराखेको छ, न्यायलाई क्षति पुर्याइरहेको छ । त्यो कुराचाहिँ हुन दिनु हुँदैन ।’
अदालतमा केही कमजोरी देखिएमा बाहिर गएर भन्नुभन्दा आफूहरुलाई भन्न उनले आग्रह गरे । ‘हामीलाई गल्ती देख्नुहुन्छ भने बाहिर गएर भन्नुभन्दा हामीलाई आफै सम्पर्क गरेर भन्न सकियो’ प्रधानन्यायाधीश मिश्रले भने ।
जुनसुकै निकायमा पनि सुधार गर्नुपर्ने विषय रहने भन्दै उनले अदालतमा पनि सुधार गर्नुपर्ने ठाउँहरु रहेको बताए । ‘जुन निकायमा सुधारको ठाउँ रहँदैन त्यो निकाय अगाडि बढ्न सक्दैन । त्यसैले हामीमा पनि सुधारको धेरै सम्भावना छ । हामीले केही सुधार पनि गरिरहेका छौं ।’ अदालत सुधार आफूहरुको प्रयासले मात्र नहुने भन्दै उनले कानून व्यवसायी, वर्तमान तथा भूतपूर्व महान्यायाधीवक्तासँग पनि सहयोग मागिरहेको बताए ।
प्रतिक्रिया 4