९ मंसिर, काठमाडौं । अर्जेन्टिनी क्लब फुटबलको इतिहासकै महत्वपूर्ण मध्ये एक मानिएको खेलको पूर्वसन्ध्यामा बोका जुनियर्सका खेलाडीहरु चढेको बसमा आक्रमण भएको छ ।
राजधानी ब्युनस आइरिजमा हुने खेलमा लागि रंगशाला जाँदै गरेका बोका जुनियर्सका खेलाडीहरु चढेको बसमा चिरप्रतिद्वन्द्वी रिभर प्लेट क्लबका समर्थकले आक्रमण गरेका हुन् । आक्रमणमा खेलाडीहरु नै घाइते भएका छन् ।
इतिहासकै महत्वपूर्णमध्ये एक खेल
बोका जुनियर्स र रिभर प्लेट अर्जेन्टिनाको घेरलु फुटबलमा चिरप्रतिद्वन्द्वी हुन् । कोपा लिबरटेडरेसको फाइनलमा दुबै टिम भिड्ने भएपछि यो खेललाई दक्षिण अमेरिकाकै महत्वपूर्ण र लामो समयदेखि प्रतीक्षा गरिएकोमध्ये एक मानिएको थियो ।
खेल हेर्न तीन घन्टा पहिल्यै दर्शकहरु स्टेडियम पुगेका थिए । विश्वका धेरै फुटबल प्रेमीहरू पनि यो प्रतिस्पर्धा हेर्न आतुर थिए । तर, हिंसाका कारण खेल हुन सकेन । अब यो खेल आइतबार हुनेछ ।
खेलाडीहरु नै घाइते
रंगशाला जाँदै गरेका बोका जुनियर्सका खेलाडीहरु चढेको बसमा रिभर प्लेटका समर्थकले ढुङ्गा तथा ग्यास क्यानिस्टरले प्रहार गरेको भिडियो फुटेजहरुमा देखिन्छ ।
यसक्रममा बसको सिसा फुटेर बोका जुनियर्सका केही खेलाडीलाई चोट लागेको छ । कप्तान पाब्लो पेरेज पनि घाइते भएका छन् । रिभर प्लेटका समर्थकलाई भगाउन प्रहरीले हानेको अश्रुग्यासले खेलाडीहरु पनि प्रभावित भएका छन् ।
अर्जेन्टिनाका पूर्वस्ट्राइकर ग्याबि्रयल बाटिस्टुटाले ट्वीटरमा घटनालाई लज्जास्पद भनेका छन् ।
प्रतिक्रिया 4