९ मंसिर, काठमाडौं । काभ्रेकी पूजा ०७१ साल साउन ३० गते दिनको ३ बजे घरबाट निस्किइन् । बनेपाको पसलमा केही किनिन् । अनि धुलिखेलको जंगलतिर लागिन् ।
१६ वर्षीया पूजामाथि त्यो दिन उनका बाबुले आफ्नो आततायी रुप देखाएका थिए । चरम यातना र अनेकन धम्की दिएका थिए । पाँच वर्षदेखि भोग्दै आएको कहालीलाग्दो यौनहिंसाको पराकाष्टामा परेकी थिइन् उनी ।
त्यसदिन, जब उनी बाबुको क्रुर पञ्जाबाट फुत्किइन्, विगतका अत्याशलाग्दा घटनाहरुको स्मृतिले उनको दिमागलाई गिजोल्न थाल्यो । बुवा र हजुरबुवाका कुकर्महरुले उनी भित्रैदेखि धर्मराएकी थिइन् । आफ्नो व्यथा आफैंभित्र लुकाएर साथीसंगी र आफन्तलाई झूठ बोल्नुपरेको थियो उनले ।
बाबुको राक्षसी हमलाले अनुहारमा बनाएको घाउ बोकेर स्कुल पुग्दा साथीहरुले गिज्याउँथे उनलाई । घटना सुनाउँदा आमाले उल्टै पागल्नीको दर्जा दिएकी थिइन् । उनले कतैबाट पनि बाँच्नुको सार्थकता भेटिनन् ।
‘आफ्नै बाबुको कुकर्म सहेर कसरी बाँच्नु ?’ यो प्रश्नले उनको दिमाग गिजोल्यो । जंगलको बीचमा पुगेर उनले अघि पसलमा किनेको मेटासिड बोतलको ढक्कन खोलिन् । आधा घुट्क्याइन् । उनीसँग अर्को मेटासिडको जगेडा बोतल पनि हातमै थियो ।
जीवनको घुम्ती
केही दिनपछि पूजाका आँखा खुले । उज्यालो देखिन् ।
वरिपरि मानिस झुम्मिएका थिए । उनले ठानिन्, ‘ए स्वर्ग त यस्तो पो हुँदो रहेछ ।’
तर, यो स्वर्ग होइन भन्ने उनले त्यतिबेला थाहा पाइन्, जब उनका बा र आमा आँखामा राँको बोकेर उनीतर्फ लम्कँदै थिए ।
उनी बेस्सरी चिच्याउन खोजिन् तर, स्वर राम्ररी निस्किन सकेन । उनले डाक्टर, नर्सलाई भनिन्, ‘मलाई किन बचाएको ? अहिल्यै मार्दिनुस् । म बाँच्न सक्दिनँ ।’
तर, उनले मृत्यु चाहे पनि मृत्युले सायद उनलाई चाहेको थिएन ।
जीवनसँग हारेकी पूजा आज फरक अवस्थामा छिन् । आफूलाई माया गर्न थालेकी छन् । त्यो विषसेवन उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । जीवनको महत्वपूर्ण घुम्ती बन्यो ।
अहिले आँशुमिश्रति आवाज पूजा भन्छिन्, ‘त्यसपछि मात्रै मैले जीवनको सुन्दरतालाई स्पर्श गर्न पाएँ ।’
हजुरबुबाको छातीमा घुस्रँदा….
पूजा ६ कक्षा पढ्दै थिइन् । बाबु युरोपमा बस्थे । उनीहरुको एउटा घर बजारमा थियो, अर्को गाउँमा । गाउँको घरमा पूजाकी आमा र भाइबहिनी बस्थे । शहरको घरमा हजुरबुवा र पूजा । खाना पकाउने र कपडा धुने जिम्मा पूजाको थियो ।
हजुरबाको व्यवहारमा विस्तारै परिवर्तन आउन थाल्यो । उनले नातिनीको शरीर गलत तरिकाले सुम्सुम्याउन थाले । गोप्य अंगमा हात पुर्याउन थाले । पूजालाई असहज लाग्न थाल्यो ।
एक दिन मुसलधारे पानी परिरहेको थियो । पूजा भुईंमा कक्रक्क परेर बसेकी थिइन् । हजुरबाले भने, ‘जाडो भयो ? आइज, खाटमा मसँग सुत् ।’
पूजा आफ्नो हजुरबाको छातीमा घुस्रिन पुगिन् । तर, हजुरबाको खराब नियत रहेछ । उनले पूजाको कलिलो शरीरमाथि दुष्कर्म गरे । पूजा चिच्याइन्, रोइन्, कराइन् । उनलाई असह्य दुखाइ भइरहेको थियो ।
चिच्याउँदै आमा र बाबुलाई गुहारिन् । तर, आमाबाबु उनीभन्दा धेरै टाढा थिए । बाबु विदेशमा, आमा गाउँको घरमा ।
त्यो दुष्कर्मपछि पूजालाई हजुरबुबाले धम्की दिन थाले । ‘यो कुरा बाहिर भनिस् भने तेरो स्कुलको फिस तिर्दिनँ, खान दिन्न, बाँधेर राख्छु’ आदि ।
युरोपमा अर्की श्रीमती राखेर बसिरहेका बाबुले घरमा पैसा पठाउन छाडिसकेका थिए । पूजा पूर्णरुपमा हजुरबामाथि आश्रति थिइन् ।
अब उनको एक मात्र आशा थिइन् आमा ।
एक दिन आमा आफू बस्ने घर आएका बेला पूजाले साहस बटुलेर हजुरबाको कुकृत्य सुनाइन् । तर, आमा आफैं बेसहारा देखिइन् । छोरीलाई डाढस दिनुको साटो उनी आफैं रुन थालिन् ।
अनि, आँशु पुछेर भनिन्, ‘हामी छोरी मान्छेले जस्तो पीडा पनि सहनुपर्छ । तैंले तेरो भाइका लागि भए पनि सहनुपर्छ ।’
पूजालाई आमाको बोलीले सिधैँ घाँटीमा आएर थिचेजस्तो भयो ।
****
हजुरबाको शोषणको दायरा झन् झन् फराकिलो बन्दै थियो । आफुले भनेजस्तो नभए खानै दिँदैनथे । निरन्तर कुट्थे । ‘भनेको नमान्दा पानीको पाइपले पिट्थ्यो । बुटले पेटैपेटमा हान्थ्यो’ अवरुद्ध गलामा पूजाले अनलाइनखबरलाई सुनाइन् ।
हजुरबाको कुरा नमान्दा उनले हप्ता दिनसम्म पानी पिउन नपाएर तड्पिनु परेको थियो । बुबा विदेशबाट फर्किने प्रतिक्षा गर्नुबाहेक कुनै विकल्प थिएन । बुबालाई उनी ड्याडी भन्थिन् । उनी ड्याडी आउने दिन कुरेर बसिन् ।
उनलाई हरेक दिन वर्षजस्तो लाग्थ्यो । उनको मनमा थियो, ‘ड्याडी भगवान बनेर आउनुहुन्छ र मलाई यो नरपिचासबाट मुक्त गर्नुहुन्छ ।’
त्यसपछि ड्याडीको पालो….
एकदिन पूजाका ड्याडी विदेशबाट घर फर्किए । पूजा औधी खुशी भएकी थिइन् । सायद जीवनमै सबैभन्दा बढी खुशी । अब उनी बुबालाई आफ्ना हजुरबाको पोल लगाउने मौका खोज्न थालिन् ।
तर, पूजा जब केही भन्न खोज्थिन्, बुबाले ‘भोलि है छोरी, आज मलाई फुर्सद छैन’ भन्दै टार्थे । र, उनी दिनभरजसो घर बाहिरै व्यस्त हुन्थे ।
एक महिना यत्तिकै बित्यो ।
एक दिन बुबाले आफैं बोलाए, ‘छोरी यहाँ आउ त । अस्तिदेखि एउटा कुरा भन्छु भनेकी थियौँ नि, ल भन ।’
त्यो दिन घरमा पूजाकी आमा थिइनिन् । ठूल्दीदीसँग होस्टेल गएकी थिइन् । पूजाले ठानेकी थिइन् अझ सजिलोसँग सबै कुरा भन्न पाउने भएँ ।
पूजाले बालाई भनिन्, ‘ड्याडी, मलाई हजुरबाले दुई वर्षदेखि यस्तो गरिरहनुभएको छ । तपाई नहुँदा मैले कत्ति धेरै दुःख पाएँ ।’
छोरीको कुरा सुनेर बुबा अलिकति पनि चिन्तित देखिएनन् । उल्टै भने, ‘ए ! हजुरबाले पनि त्यस्तो गर्नुहुन्छ र ? खै कहाँ गरेको हो, खोलेर देखाउ त ?’
पूजा आँशु बगाउँदै सम्झिन्छिन्, ‘उहाँले त नसोचेको प्रश्न गर्नुभयो ।’
पूजाले के भन्नुभएको ड्याडी ? भनेर सोधिन् ।
‘मसँग ठीक पार्ने आइडिया छ, खोलेर देखाऊ त कहाँ हो ?’ बाबुले फेरि उही प्रश्न दोहोर्याए ।
स्तब्ध बनेकी पूजाले मानिनन् । त्यसपछि बाबुले पनि धम्की पो दिन थाले । ठ्याक्कै हजुरबाको जसरी ।
पूजा भक्कानिन्छिन्, ‘म सक्ड भएँ । मलाई त्यही बिल्डिङको छतबाट खसेजस्तो महसुस भयो ।’
अब बाबुको पनि पशुवत व्यवहार सुरु भयो । जबरजस्ती कपडा खोले, हातखुट्टा डोरीले बाँधे । आफ्नो भित्री कपडा खोलेर पूजाको मुखमा कोच्चाइदिए ।
पूजालाई त्यो दिन सम्झँदा अहिले कहाली लाग्छ ।
‘चिच्याउँन खोज्दा घाँटीसम्म पुगेको थियो उसको पेन्टी । आखिर मलाई उसले पनि मलाई हजुरबाकै हर्कत गर्यो’ पूजा सम्झन्छिन् ।
आफ्नो कलुषित तीर्खा मेटेपछि बाबुले हजुरबालेजस्तै गरी भने, ‘तैंले यो कुरा कसैलाई भनिस् भने तेरै बेइज्जत हुन्छ । खान पाउँदिनस् । फेरि तँ र तेरो मम्मीको सडकमा बास होला नि !’
रातमा निद्रा हरायो, दिनमा आशा….
त्यो रात सुत्नै सकिनिन्, पूजा । हनहन्ती ज्वरो अयो । डायरीमा केही लेखिन् । रोएरै रात काटिन् । त्यसपछि उनका कयौँ रात जाग्राम बसेरै बिते ।
बाबुबाट पनि बज्रपात सहनु परेपछि पूजा फेरि आमाको शरणमा पुगिन् । घरमा आएका बेला उनले बाबुको विषयमा सबै कुरा आमालाई सुनाइन् ।
तर, आमाले त उनलाई उल्टै हपार्न थालिन् ।
‘बौलाइस की क्या हो तँ ? पहिला हजुरबाले भनिस्, अहिले बाले, भोलि भाइको पनि नाम लिन्छेस् तैंले ।’
आमाले पूजाको कपाल भुत्ल्याउन थालिन् ।
‘उहाँले पनि मलाई निकै पिट्नुभयो’, पूजा सम्झन्छिन्, ‘त्यस दिनदेखि मेरा सबै आशाहरु मरे । म मरेतूल्य भएँ ।’
जिन्दगी घिसार्दै डिस्टिन्सन !
अब त पूजालाई केटा मान्छेसँगै डर र घृणा लाग्न थालेको थियो । कोही पुरुष देखिन् भने पर भाग्थिन् । तैपनि उनले जसोतसो जिन्दगीलाई घिसारिरहिन् स्कुलसम्म ।
बाबुको शोषण जारी रह्यो । कापी-कलम किन्ने पैसा माग्दासमेत ब्ल्याकमेलिङ गर्थे । ड्याडी उच्चारण गर्नै छाडेकी थिइन् उनले । स्कुलबाहेक घरबाट कतै निस्कियो भने पिटाई खानुपर्थ्यो ।
जसोतसो ९ पास भएर पूजा १० कक्षामा पुगिन् । पढाइको चाप बढी हुने भएकाले पूजालाई होस्टेलमा राख्न शिक्षकहरुले उनका बाबुलाई सल्लाह दिए । के सोचेर हो, बाबु तयार भए । पूजाले केही राहत महसुस गरिन् ।
होस्टेलमा बस्ने उनका साथीहरु शनिबारको प्रतिक्षामा हुन्थे । तर, पूजालाई शनिबार कहिल्यै नआइदिए हुन्थ्यो जस्तो लाग्थ्यो ।
पूजा भन्छिन्, ‘तर, त्यो पापी शनिबार हरेक हप्ता मलाई चिथोर्न आइपुग्थ्यो ।’
होस्टेलमा पनि छाडेनन्, बाबुले । उनी मुठीभरि चक्लेट बोकेर होस्टेल पुग्थे । पूजाका साथीहरुलाई छोरीसँग कुरा गर्नु छ भन्दै बाहिर पठाउँथे । अनि त्यहीँ पूजालाई जथाभावी गर्थे र र्फकन्थे ।
पूजालाई साथीहरुले भन्थे, ‘तिमीलाई त कस्तो माया गरेको है ड्याडीले ?’
शुक्रबार त आउनै हुन्थेन । तारन्तर बाबुको फोन आउथ्यो होस्टेलमा । होस्टेलका टिचरहरुलाई फोन गरेर घर पठाउन बाबुले आग्रह गर्थे । त्यसरी पनि पार नलागे मान्छे नै बोलाउन पठाउँथे । शनिबार कालो दिन हुन्थ्यो उनका लागि ।
सबै सहेर पनि पूजाले डिस्टिन्सन अंक ल्याएर एसएलसी पास गरिन् तर, उनी खुशी हुन सकिनन् । किनकि उनका सम्पूर्ण खुशी बा र हजुरबाले लुटिरहेका थिए ।
सपनाको हत्या ….
पूजाको सानैदेखिको सपना थियो-नर्स बन्ने । यसका लागि उनले एसएलसीपछि पढाइको प्यारामिटरलाई अझै बढाउनुपर्ने थियो । उनले बाबुसँग भनिन्, ‘म बि्रज कोर्ष गर्छु ।’
बाबुले भने, ‘तिमीले जे भने पनि पुर्याइदिहाल्छु नि ! मात्र मैले भनेको मान ।’ एकैछिनपछि पूजाको हातमा एउटा कागज थमाइदिए ।
पूजा कोठामा पुगिन् र पट्याएको कागज खोलिन् । कागजमा कुनै होटेलको नाम र कोठा नम्बर लेखिएको थियो । पूजाको हात थरथरी काँप्यो । भनभन्ती रिंगटा लाग्यो । आँखाबाट आँशु नखस्दै उनी भुँइमा ढलिन् ।
रात परेपछि फोन आइहाल्यो । बाबु बोल्दै थिए, ‘कहाँ आइपुगिस् ?’ पूजाले नबोलेरै फोन राखिदिइन् । तारन्तर फोन आइरह्यो । पूजाले उठाइनन् ।
केही समयपछि बाबु मुर्मुरिँदै घर फर्किए । पूजालाई सर्टमा आइरन गर्न लगाए । सर्टमा सानो दाग लागेको थियो । त्यसपछि पूजालाई सबको सामुन्ने भकुर्न थाले ।
‘यति धेरै कुटेको थियो कि अहिले सम्झँदा पनि शरीर दुखेर आउँछ’, पूजाको स्वर भासियो, ‘घरमा मैले कसैको पिटाई खान बाँकी थिएन ।’
अन्ततः असैह्य भएपछि उनले विष सेवन गर्ने निर्णय गरिन् ।
अँध्यारोपछि उज्यालो जीवनको सुरुवात !
विष सेवन गरेको सातौं दिन अस्पतालको बेडमा पूजाको आँखा खुलेको थियो । सात दिन पहिले घुमुवा प्रहरीले उनलाई जंगलमा लडिरहेको अवस्थामा नदेखेका भए पूजा यो संसारमा शायदै हुन्थिन् ।
अस्पतालमा उनले आँखा खोलेकै दिन आगो भएर आएका बा-आमाको अनुहारले पनि ‘त नमरेर किन बाँचेको’ भनेझंै लाग्थ्यो पूजालाई । उनीसँग पनि बाँच्ने चाहनाको भाँडो रित्तिसकेको थियो । जसलाई भेट्यो उसैलाई भन्थिन्, ‘मलाई अहिल्यै मारिदिनुस् । मलाई त्यो घरमा नपठाउनुस् ।’
आमाले सहानुभूति दिनुको साटो निकै गाली गरिन् पूजालाई । प्याच्चै भनिन्, ‘तँ जन्मनुभन्दा त मेरो कोख नै बाँझो भएको भए हुन्थ्यो ।’
पूजा जतिबेला पनि रोइरहन्थिन् । एकदिन उनलेे आँशु पुछ्दै आमालाई सोधिन्, ‘मेरो ठाउँमा हजुर हुनुहुन्थ्यो र ड्याडीको ठाउँमा हजुरको बाबा भएको भए तपाई के गर्नुहुन्थ्यो मम्मी ?’
मम्मीले यति मात्र भनिन्, ‘त पागल भैसकिस् ।’
दुई दिनपछि आश्चर्यजनकरुपमा उनका बा-आमा खाना बोकेर आए । तर, पूजाले खान मानिनन् । किनकि फलफूलले उनको पेट भरिएको थियो । पछि थाहा भयो, त्यो भातमा बा-आमाले मुसाको विष मिसाएर ल्याएका रहेछन् ।
त्यसपछि बल्ल प्रहरीले बाबुआमालाई शंकाको दायरामा राख्यो र अनुसन्धान अघि बढायो ।
अस्पतालबाट तंग्रिएपछि पूजालाई सिधै प्रहरीमा लगियो । उनको बयान लिइयो । वर्षौंदेखि गुम्सिएका पीडाको पोको खोलेर पूजा हलुका भइन् । बाबु पनि सँगै थिए ।
उनलाई प्रहरीले तत्काल गिरफ्तार गर्यो । घरमा हजुरबाले आत्महत्या गरेको उनले सुनिन् ।
तर, त्यो आत्महत्या थियो कि हत्या भन्ने रहस्यमै रह्यो ।
यस मामलाका जानकार अधिवक्ता स्वागत नेपाल भन्छन्, ‘उनको शवको पोस्र्टमार्टम नगरी फटाफट सद्गत गरियो । त्यसमा पूजाका बाको भूमिका हुनसक्छ ।’
पूजालाई रक्षा नेपालको पुनस्र्थापना केन्द्रमा पुर्याइयो ।
‘यस्तो पीडा भोग्ने म मात्र हुँला जस्तो लाग्थ्यो । तर, केन्द्रमा भएका ६०/७० जना सबैको उस्तै दर्दनाक कथा रहेछ । चार वर्षमै बलत्कृत भएका बालिकाहरु पनि त्यहाँ थिए’ पूजा भन्छिन्, ‘उनीहरु सबै मलाई आफ्नै बहिनीजस्ता लाग्न थाले । त्यसपछि लाग्यो, म एक्ली रहेनछु । मेरो मनमा विस्तारै उर्जा थपिन थाल्यो ।’
उनले रक्षा नेपालकी अध्यक्ष मेनुका थापाको भोगाइ थाहा पाइन् । ‘उहाँले त बस्ने बास पनि पाउनुभएको रहेनछ । कसरी यहाँसम्म आइपुग्नुभयो होला’ पूजा भन्दै जान्छिन्, ‘यिनै कथाहरुले मेरो गुमेको आत्मवल विस्तारै र्फकन थाल्यो ।’
यतिबेलासम्म पूजाको जीवन ठ्याक्कै यू-टर्न को अवस्थामा पुगेको थियो ।
‘त्यहाँ सबै मेरा परिवारजस्ता लागे, मेनुका आमा आफ्नै आमाजस्तो । मैले पहिलोपटक रक्षा नेपालमै पुगेर आमाको ममता महसुस गरेँँ’, पूजाको अनुहार उज्यालो भयो, ‘मैले नयाँ परिवार पाएँ, नयाँ जीवन पाएँ । अनि त जीवनप्रति असाध्यै माया लागेर आउन थाल्यो ।’
मनोविद करुणा कुँवरबाट मनोपरामर्श लिन थालिन्, पूजाले । अन्य थुप्रै तालिममा सहभागी भइन् । विस्तारै आफूलाई सामान्य मानिसको रुपमा पाउन थालिन् ।
उनको अनुहारबाट हराएको हाँसो फर्कियो ।
पूजा नियमित कलेज जान थालिन् । सुमन खरेलले कलेजका लागि स्पोन्सर खोजिदिए । उनी विभिन्न तालिमले खारिइन् । उनको व्यवहारले साथीहरु आकषिर्त हुन थाले ।
अधिवक्ता स्वागत नेपाल पूजालाई न्याय दिलाउन लागिपरे । पूजाले स्वागतलाई बा भन्न थालिन् । अनि उनलाई लाग्यो, ‘सबै पुरुषहरु कहाँ खराब हुँदा रहेछन् र ?’ त्यसपछि मात्र विस्तारै बाहिरिन थाले उनीभित्र गाडिएर रहेका भयरुपी किर्नाहरु ।’
नागरिकताले झस्काउँछ !
पूजालाई आफूसँग भएको एउटा वस्तुले अहिले पनि झस्काउने गर्छ । त्यो हो-उनको नागरिकता ।
यसले असाध्यै पीडा दिन्छ उनलाई । किनकि नागरिकतामा उही दुष्ट बाबुको नाम छ ।
जहाँ पनि बाबुको नाम लेख्नुपर्दा उनलाई कष्ट हुन्छ । हात मात्र होइन, शरीरले नै काम गर्न छाड्छ । कलेजमा उनले आफ्नो बाबुको नाम लेख्न नसकेर अरुले नै लेखिदिन्छन् ।
‘मलाई नागरिकतासँग डर लाग्छ,’ पूजा भन्छिन्, ‘म त्यो पशुलाई कसरी बाबु मान्न सक्छु ? के उसको नाम नराखी मैले नागरिकता पाउन सक्दिनँ ?’
पूजाले पहिलो श्रेणीमै आइएस्सी उत्तीर्ण गरिन् । अहिले एमबीबीएस पढ्न अमेरिका जाने तयारीमा छिन् ।
बच्चामा उनले नर्स बन्ने लक्ष्य पालेकी थिइन् । तर, पछि लक्ष्य अपग्रेड भयो । भन्छिन्, ‘मलाई गाइनोक्लोजोजिस्टले बचाउनुभयो । त्यसपछि गाइनोको डाक्टर नै सबैभन्दा ठूलो जस्तो लाग्न थाल्यो । अनि मेरो नर्स बन्ने चाहना गााइनोमा रुपान्तरण भयो ।’
पूजालाई छात्रवृत्तिमा नाम निकाल्ने आत्मविश्वास त छ । तर, कुनै कारणले नाम निस्किएन भने स्पोन्सरको आशा पनि राखेकी छिन् । डाक्टर भएपछि रक्षा नेपालमै रहेर पीडितको सेवा गर्ने उनको चाहना छ ।
पूजा एक दृष्टान्त मात्र हुन् । आफ्नै नातेदारबाट प्रताडीत कैयन् छोरीहरु खुलेर आउन सकेका छैनन् । कतिले जीवनसँगै हार खाएका छन् ।
उनीहरुका लागि पूजा भन्छिन्, ‘मरेर न्याय पाइँदैन । त्यसैले मर्नेबारे कहिल्यै नसोच्नुस् । म बोलेर नै यहाँसम्म आएँ । तपाईं पनि बोल्न नछोड्नुस्, एक न एक दिन अवश्य न्याय पाइन्छ ।’
पूजाका बाबु ०७१ देखि १८ वर्षका लागि जेलको छिँडीमा छन् भने हजुरबाले संसार छाडिसके ।
‘महिला हिंसाविरुद्धको १६ दिने अभियान’सँगै यो साता अनलाइनखबरमा बलात्कार र महिला हिंसासँग जोडिएका स्टोरी श्रृखला प्रकाशित गरिनेछ–सम्पादक
प्रतिक्रिया 4