+
+
Shares

बेनी–जोमसोम सडक कालोपत्र हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २७ गते ८:५८

२७ माघ, गलेश्वर । दक्षिणतर्फ भारत र उत्तरतर्फ चीन जोड्ने नेपालको सबैभन्दा छोटो सडक बहुचर्चित कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक आगामी चैतबाट कालोपत्र हुने भएको छ ।

प्रदेश ४ को भाग्यरेखासमेत मानिएको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डको कालोपत्रका लागि चार प्याकेजमा धमाधम काम भइरहेको आयोजनाले जनाएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख मुकुन्द अधिकारीले ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको ४० प्रतिशत भौतिक प्रगति भएको बताउँदै अहिले चार प्याकेजमा धमाधम काम भइरहेको र आगामी चैतदेखि कालोपत्रको काम शुरु गरिने जानकारी दिए । कालीगण्डकी करिडोर राष्ट्रिय गौरवको आयोजना हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा सञ्चारकर्मीसँगको भेटमा आयोजना प्रमुख अधिकारीले बेनी–जोमसोम–कोरला सडक आयोजनाको समग्रमा ५५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए ।

बेनीदेखि कोरलासम्मको १८६ किलोमिटर सडकमा ११ प्याकेजमा काम भइरहेको जानकारी दिँदै आयोजना प्रमुख अधिकारीले चालू आर्थिक वर्षभित्र विभिन्न ठाउँमा मोटरेबल पुल निर्माणबाहेक जोमसोम–कोरला सडक स्तरोन्नतिको काम सकिने दाबी गरे ।

बेनीबजार संरक्षणका लागि प्याकेजमा निर्माण शुरु

उच्च जोखिमयुक्त सदरमुकामको रुपमा रहेको म्याग्दीको सरदमुकाम बेनीबजारको संरक्षणका लागि तटबन्ध निर्माण कार्य शुरु भएको छ ।

पोखराको रुपाताल एकीकृत संरक्षण विकास परियोजनासँग सम्झौता गरी उपभोक्ता समितिमार्फत शुक्रबारदेखि काम शुरु गरिएको हो । चार उपभोक्ता समिति गठन गरी निर्माणकार्य थालिएको बेनी नगरपालिका–८ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताए ।

ठेक्का प्रक्रियाबाट योजना कार्यान्वयन गर्दा बढी समय लाग्ने भएकाले चार वटा प्याकेजमा विभाजन गरी उपभोक्ता समितिमार्फत योजना कार्यान्वयनलाई अगाडि बढाइएको उनको भनाइ थियो ।

रु दुई करोड ८५ लाख लागतमा निर्माण हुन लागेको आयोजनामा स्थानीयवासीको १० प्रतिशत श्रमदान रहने वडाध्यक्ष बराइलीले बताए । तीन महिना (वैशाख) सम्ममा सक्ने सम्झौता भए पनि उपभोक्ता समितिले डेढ महीनामा नै निर्माण सम्पन्न गर्ने गरी फास्टट्र्याकमार्फत निर्माणकार्य अगाडि बढाइने गणेश टोल कालीगण्डकी संरक्षण उपभोक्ता समितिका अध्यक्ष उत्तमकुमार कर्मचार्यले जानकारी दिए ।

बेनी नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने कालीगण्डकी नदीको किनारमा १७१ मिटर ग्याविनसहितको अस्थायी पर्खाल र पहिलेको कंक्रिट पर्खाल संरक्षणका लागि १८० मिटरमा जाली बिछ्याइने उपभोक्ता समितिका अध्यक्ष कर्माचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?