
१५ फागुन, काठमाडौं । नेकपाका सांसद विजय सुब्बालाई जति संयोगले बाँचे भन्ने परेको छ, त्यति नै नेता रविन्द्र अधिकारीको निधनको खबरले हल्लाएको छ । केही सोच्न नसक्ने बताएको छ, भित्रभित्रै डराएका पनि छन् ।
पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग तेह्रथुमको चुहानडाँडा विमानस्थल अवलोकन गर्न जाने टोलीमा उनी पनि थिए । तेह्रथुम, त्यसमाथि सत्तारुढ दल नेकपाका सांसद भएका कारण उनी टोलीमा पर्नु अस्वभाविक थिएन ।
तर, हेलिकोप्टरको क्षमताभन्दा बढी सदस्य भए । मन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे भइसकेका थिए ।
हेलिकोप्टरको क्षमता ६ जना मात्रै लान सक्ने थियो । पाइलट प्रभाकर केसी समेत सात जना भएपछि विजय सुब्बा चाहँदा चाहँदै पनि तेह्रथुम जान पाएनन् ।
तर, त्यही कारण उनी बाँचेका छन् । मन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ र, सवार सबैको घटनास्थलमै निधन भएको छ ।
विमान दुर्घटनाको खबर पाउँदा सांसद सुब्बा राज्य व्यवस्था समितिमा थिए । गृहसचिव प्रेमकुमार राईले पर्यटनमन्त्री चढेको हेलिकोप्टर दुर्घटना भएको खबर आएको सुनाउँदा सांसद सुब्बाले आफू जान खोजेको सुनाएका थिए ।
सिंहदरबारस्थित बैठकबाट हतारहतार बाहिरिएका उनले दुर्घटनाबारे सोधेखोजी गरे । दुर्घटनामा सबैको मृत्यु भएको खबर पाएपछि उनी निःशब्द जस्तै भएका छन् ।
सञ्चारकर्मीहरुको सम्पर्कमा समेत आउन चाहेनन् । साँझपछि समाजिक सञ्जालमा लेखेका छन्, ‘म त सञ्जोगले बाँचेँ । म बाँचे पनि मलाई प्रिय लाग्ने रविन्द्र अधिकारीको निधनले केही सोच्न नसक्ने बनाइदियो । विद्या बैनीलाई के भनेर सम्झाउनू ?’
उनले गत चुनावमा आफू सवार जिपको सिटमुनि बम पड्कँदा पनि यति डर नलागेको उल्लेख गरेका थिए । ‘बम शक्तिशाली भएको भए त्यही बेला मरिन्थ्यो नै । आज असाध्य डर लागेको छ’, उनले अगाडि भनेका छन्, ‘सिंहदरबारबाट जडीबुटी डेरामा आइपुग्न पनि कति लामो यात्रामा निस्केको भान भयो । जीवनको के भर भयो र ?’
प्रतिक्रिया 4