
२३ फागुन, बुटवल । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवको घर रहेको कपिलवस्तु शिवगढीमा प्रहरीले सर्च अपरेसन चलाएको छ ।
अवैध हातहतियार भएको सूचनाका आधारमा शिवराज नगरपालिका वडा नं. ९ शिवगढीमा बिहीबार विहानै प्रहरी टोली पुगेको थियो ।
प्रहरी टोलीले विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा छापा मारेको छ । प्रहरी टोली आएको देखेपछि भाग्न खोजेको उनलाई खुट्टामा गोली हानेर पक्राउ गरिएको छ । उनको लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचार भइरहेको छ ।
रोकाको घरबाट एसएमजी राइफल एक थान र त्यसमा लाग्ने म्यागेजिन ३ वटा, चाइनिज पेस्तोल एक थान र म्यागेजिन २ वटा, ४० मिटर तार र एक थान रिमोट बरामद भएको वडा प्रहरी कार्यालय चन्द्राैटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए ।
प्रहरीले विप्लवका भतिज यादव चन्दको घरमा छापा मार्न खोज्दा स्थानीयबासीले प्रतिकार गरेका छन् ।
स्थानीयबासीले ढुंगामुढा गर्दा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएका छन् ।
प्रतिकारमा उत्रिएका स्थानीयले स्कूले विद्यार्थी समेत ल्याएकाले आफूहरुले संयमता अपनाएको प्रहरीले जनाएको छ । प्रहरीले अहिले पनि शंकापद घरहरमा निगरानी गरिरहेको छ ।
प्रतिक्रिया 4