
२७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सिके राउतसँग गरिएको ११ बुँदे सहमतिलाई सरकारको सस्तो लोकप्रियताको अर्को एउटा उदाहरण भएको टिप्पणी गरेका छन् ।
सहमतिको भोलिपल्टै सिके राउतका कार्यकर्ताहरुले धनुषामा स्वतन्त्र मधेसको पक्षमा प्रदर्शन गर्दा पनि प्रहरी प्रशासन चुप लागेर बस्नुले सरकार सहमतिमा गम्भीर छैन भन्ने देखाएको उनको भनाइ छ ।
सोमबार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले भने, ‘स्वतन्त्र मधेस अभियानलाई रोक लगाउन सरकारले ११ बुँदे सहमति गरेको होइन रहेछ भन्ने कुरा घटनाक्रमले देखाएको छ ।’
सिके राउत र सरकारबीच ११ बुँदे सहमति भएको भोलिपल्ट गृहमन्त्री रामबहादुर थापा (बादल)ले संसदमा जवाफ दिइरहेको बेला धनुषामा उनका कार्यकर्ताहरुले स्वतन्त्र मधेस लेखिएका ब्यानरसहित प्रदर्शन गरेका थिए । उनीहरुले ‘स्वतन्त्र मधेस जिन्दावाद’का नारा लगाएका थिए ।
पूर्वउपप्रधानमन्त्री सिंहले सिके राउतसँग भएको सहमति धेरै नटिक्ने संकेतको रुपमा यसलाई लिन सकिने बताए । उनले भने, ‘सरकारको अरु कदमजस्तै यो पनि सस्तो लोकपि्रयता कमाउने, त्यसको टिकाउ धेरै नहुने अर्को कुराको उदाहरणको रुपमा हामीले यसलाई लिन सक्छौं ।’
संविधानविपरित गतिविधि गर्ने छुट कसैलाई पनि दिन नहुने उनले बताए । सरकारले पनि संविधानको मर्म र भावनाविपरित कुनै पनि सहमति र सम्झौता गर्न नहुनेमा उनले जोड दिए । कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले भने, ‘दुई तिहाइ छ भन्दैमा सरकारले संविधानको खिलाफमा जाने गरी कुनै पनि सम्झौता सहमति गरेको खण्डमा जनताले स्वीकार्दैनन् ।’
प्रतिक्रिया 4