
१७ जेठ, काठमाडौं । भारतीय विदेश मन्त्रीको जिम्मा एस जयशंकरले पाएका छन् ।
दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका नरेन्द्र मोदीले विदेश मन्त्रालयको जिम्मेवारी पूर्व विदेशसचिव जयशंकरलाई दिएका हुन् । जयशंकर नेपालमा भारतले लगाएको नाकाबन्दीको डिजाइनरमध्येका एक मानिन्छन् ।
२०७२ असोज ३ मा नयाँ संविधान जारी गर्नुपूर्व मोदीको विशेष दूतका रुपमा नेपाल आएका उनले संविधान जारी नगर्न दबाब दिएका थिए ।
मोदीको अघिल्लो मन्त्रिपरिषदमा विदेशमन्त्री रहेकी सुषमा स्वराज अहिले मन्त्रिपरिषदमा छैनन् ।
मोदीको मन्त्रिपरिषदमा गृहमन्त्री पनि फेरिएका छन् । गृहमन्त्रालयको जिम्मा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले पाएका छन् । यसअघि गृहमन्त्री रहेका राजनाथ सिंहलाई रक्षामन्त्रीको जिम्मेवारी दिइएको छ ।
त्यस्तै अर्थमन्त्री निर्मला सिथारमन बनेकी छन् । उनी भारतको पहिलो महिला अर्थमन्त्री हुन् । यसअघिका अर्थमन्त्री अरुण जेट्ली यो मन्त्रिपरिषदमा दोहोरिएका छैनन् । क्यान्सरपीडित जेट्लीले प्रधानमन्त्री मोदीलाई पत्र लेखेरै आफूले काम गर्न नसक्ने जानकारी गराएका थिए ।
प्रतिक्रिया 4