+
+
Shares

अग्रजको सम्मानका लागि ठूलो छाति देखाएँ : प्रकाश सपुत

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ११ गते १५:३१

११ असार, काठमाडौं । गायक प्रकाश सपुत र संगीतकार शम्भु राईबीचको विवाद मिलापत्रमा टुंगियो । यससँगै केही समयदेखि सांगीतिक क्षेत्रमा चलिरहेको विवादले तत्कालिनरुपमा किनारा पाएको छ ।

सँगै यो सहमतिले केही प्रश्न पनि सिर्जना गरेको छ । प्रकाशले आफ्नो गीतको भिडियोमा शम्भुको नाम उल्लेख गर्ने सहमति गरेका छन् । यसअघि गीत कपी गरेको अस्वीकार गर्दै आएका उनले अहिले किन शम्भु राईलाई क्रेडिट दिन तयार भए त ?

यस विषयमा हामीले सपुतलाई प्रश्न राख्दा उनले अग्रज संगीतकर्मीको आत्मसम्मानका खातिर आफूले ठूलो छाति देखाएको प्रतिक्रिया दिए ।

‘मैले यो विवादलाई धेरै तन्काउन चाहिनँ । संगीत क्षेत्रको अग्रज भएको हिसाबले मैले उहाँको सम्मानका खातिर आफ्नो छाति फराकिलो बनाएको हुँ,’ उनले भने ।

तर, गीतमा क्रेडिट दिँदा त तपाईंले गीत कपी गरेको स्वीकारोक्ति झल्किएन र ? भन्ने प्रश्नमा सपुतले भने, ‘गीतको केही अंश संयोगले मिल्न गएको थियो । त्यो नियतवश गरिएको थिएन । यसलाई मैले स्वीकारेको–नस्वीकारेको भन्नु भन्दा पनि समाधानका लागि बाटो निकालिएको हो ।’

सपुतले यस विवादको तत्कालिन समाधान भए तापनि नेपालमा पुराना लोकभाकाहरुबाट प्रभावित भएर नयाँ सिर्जना गर्न पाइने कि नपाइने भन्ने बहसको विषय बनेको पनि बताए ।

उनी भन्छन्, ‘हाम्रो हकमा त सहमति भयो, तर यस विषयको बहस भने टुंगिएको छैन ।’

यही विवादले गर्दा आफूलाई मानसिक तनाव भए पनि सहमतिपछि राहत महसुस भएको उनले बताए । ‘एउटा झण्झटबाट मुक्त भएको महसुस भएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?